Comments Add Comment

एन्ड्रिया बनिन् विश्वकै उत्कृष्ट शिक्षक, नेपालका विनोद उत्कृष्ट ४० मा

५ चैत, काठमाडौं ।  लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट घोषित भएकी छन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार पाइन् ।

दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भइन् ।

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि अटाएका छन् । शाही माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् ।

बेलायती प्रधानमन्त्रीको बधाइ

पूर्वअमेरिकी राष्ट्रपति एल गोर तथा पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनको उपस्थिति रहेको समारोहमा उनले पुरस्कार ग्रहण गरेकी थिइन् । समारोहमा बजाइएको बधाई सन्देशमा ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले जाफिराकोउलाई बधाई दिने सबैप्रति आभार प्रकट गरिन् ।

मेले जाफिराकोउ पुरस्कारको वास्तविक हकदार भएको बताइन् । यो पुरस्कार जित्ने पहिलो बेलायती शिक्षक रहेकी जाफिराकोउले संवाददाताहरुसँग भनिन्, ‘म अचम्मित र भावविभोर भएँ । मलाई आफूले जित्छु भन्ने लागेकै थिएन ।’

आफूले पाएको अवार्ड बेलायतमा कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई उनले समर्पण गरिन् ।

को हुन् एन्ड्रिया ?

एन्ड्रिया लन्डनको भित्री शहर ब्रेन्टमा रहेको अल्पर्टन सामुदायिक स्कुलमा पढाउँछिन् ।

यो सजिलो काम होइन । ब्रेन्ट मिश्रित जातजातिको जनसंख्या रहेको ठाउँ हो । यहाँका स्कुलहरुमा मात्रै १ सय ३० भाषा बोलिन्छन् । यसमा विद्यार्थीहरु ब्रिटेनका गरिब परिवारबाट आएका छन् ।

स्कुलमा आउँदा विद्यार्थीहरुको ज्ञान र सीप न्यून हुन्छन् । उनीहरु एकअर्कासँग घुलमिल हुन पनि समय लाग्छ । त्यसैले शिक्षकको काम झन् कठिन हुन्छ । तर एन्ड्रियाले सबै प्रतिकुलताहरुलाई चिरिन् । आर्ट र टेक्स्टाइल शिक्षिकाको रुपमा उनले विद्यार्थीहरुसँग अत्यन्त नजिक भएर शिक्षण गरिन् । उनले अन्य शिक्षकहरुसँग मिलेर पाठ्यक्रम सुधारसमेत गरिन् ।

उनले अल्पर्टनमा बोलिने ३५ भाषाको आधारभूत ज्ञान लिएकी छन् । उनले विद्यार्थीसँग मात्र नभएर विद्यार्थीका बाबुआमासँग पनि उत्तिकै राम्रो सम्वन्ध कायम राखेकी छिन् ।

उनकै प्रयत्नका कारण अल्पर्टन देशभरका स्कुलहरुमध्ये माथिल्लो श्रेणीमा पर्न सफल भएको छ ।

अल्पर्टनको गणित विभागले सन् २०१७ मा म्याथ टिम अफ द इयरको पुरस्कार जितेको थियो । भिजुअल आटर््समा पनि अल्पर्टनले विशेषज्ञ स्कुलको स्ट्याटस पाएको छ ।

आफ्ना विद्यार्थीहरु युनिभर्सिटी जाँदा, जागिर पाउँदा वा आफ्नो व्यवसाय सुरु गर्दा एन्ड्रिया बहुत खुशी हुन्छिन् ।

नेपालका विनोद टप ४० मा

विश्वका उत्कृष्ट शिक्षकहरुको सुचीमा एक नेपाली टप ४० मा परेका छन् । उनी हुन् माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयमा पढाउने विनोद शाही ।

उनी पहिलोपटक सन् २००५ मा माथिल्लो डोल्पामा पढाउन जाँदा नेपालमा जनयुद्ध उत्कर्षमा थियो । सो क्षेत्रमा राज्यको उपस्थिति नै थिएन । नजिकैको रोडमा पुग्न ८ देखि १० दिन पैदल हिँड्नुपथ्र्यो । त्यहाँ न विजुली पुगेको थियो न टेलिफोन ।

उनले दुईवटा फ्लाइट लिए र आठ घन्टा हिँडेर आफ्नो गन्तव्यमा पुगेका थिए । सो स्कुलमा आधारभूत संरचना केही थिएनन् । यो सबै पृष्ठभूमिका बीच विनोदले आफ्नो लडाई सुरु गरे र माथिल्लो डोल्पाका गाउँहरुमा शिक्षाको उज्यालो फैलाउन सफल भए । उनलाई त्यहाँको समुदायले न्यानो स्वागत र माया दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment