Comments Add Comment

यूएईमा कविता कन्सर्ट: कवि पराजुलीको व्यग्र प्रतीक्षा

१९ मार्च, दुबई । नेपाली साहित्यको कविता विधामा थोरै तर स्तरीय सिर्जना गरेर नयाँ आयाम कोरेका ‘सगरमाथाको गहिराई’ का सर्जक कवि नवराज पराजुली यूएई आउने भएका छन् ।

आगामी मार्च २३ शुक्रबार युएईमा कार्यरत कविताप्रेमीहरुका लागि सिर्जना वाचन डबली यूएईको प्रमुख आयोजना तथा ट्राभहिल डट कमको मुख्य प्रायोजनमा ‘नवराज पराजुली कविता कन्सर्ट’ का लागि दुबई आउन लागेका हुन् ।

दुबईको पानोरोमा होटेलमा दिउँसो १ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कवि पराजुलीले आफ्ना चर्चित कविता सुनाउने कार्यक्रम छ । पराजुली आउने भएपछि यूएईमा श्रमरत नेपाली साहित्यानुरागीहरु, विशेष गरी कविताप्रेमीहरु र नवराजका फ्यानहरु उत्साहित छन् । कवि पराजुलीका कविता सुन्न यूएईका नेपालीहरु ब्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

पृथक वाचन शैली र सरलतामा गहन भावको सिर्जना पस्किन खप्पिस पराजुली पछिल्लो समय देश तथा विदेशका साहित्यिक मञ्च लगायत सामाजिक सञ्जाल र मिडियाहरुमा लोकप्रिय छन् ।

बेलायतबाट फर्किने क्रममा यूएईमा रहेका आफ्ना प्रशंसक माझ साक्षात्कार हुन लागेका पराजुलीको खाडी मुलुकमा यो नै पहिलो कार्यक्रम हो ।

उक्त कार्यक्रमलाई सफल पार्न यूएईका प्रतिष्ठित नेपाली संघसंस्था गैर आवासीय नेपाली संघ, युएई ,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, यूएई, इनास भाषा तथा साहित्य प्रवर्द्धन ग्लोबल समिति ,विवेकशील साझा सद्भाव समुह,पत्रकार महासंघ यूएई लगायतका संस्थाहरुले सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा कवि पराजुलीसँगै यूएईस्थित सिर्जना वाचन डबलीमा आवद्ध सर्जकहरुले आफ्नो सिर्जना वाचन गर्नेछन् भने सोही कार्यक्रमका बीच अग्रज साहित्यकार मञ्जु काँचुलीलाई विशेष सम्मान गरिने आयोजकले बताएका छन् ।

विगत दुई वर्ष अगाडिदेखि हरेक दुई महिनामा यूएईमा रहेका सर्जकहरु बीच प्रत्यक्ष वाचनको अभ्यास शुरु गरेको सिर्जना वाचन डबलीको यो एघारौं शृङ्खला हो ।

बेलाबखत अतिथि साहित्यकारहरुलाई समेत आमन्त्रण र सम्मान गर्ने यस डबलीले यसअघि नै अग्रज साहित्यकारहरु डा.कृष्णहरि बराल, डा. कृष्णजंग रायमाझी ,कृष्ण प्रसाई लगायतका सर्जकहरुलाई यूएईको साहित्यिक स्टेजमा उभ्याइसकेको छ ।

यसैबीच झापाली समाज यूएईले आफ्ना जिल्लावासी कवि पराजुलीलाई कदरपत्रका साथमा यूएईमा सम्मान गर्ने कार्यक्रम रहेको मुख्य प्रायोजक ट्राभहिल डटकमका संचालक द्रोणजंग श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment