Comments Add Comment

आँचल शर्माः मिडिया नै दोषी, प्रश्न नै सिल्ली !


नेपाली चलचित्रमा भर्खर-भर्खर खुट्टा टेकेकी नायिका हुन् आँचल शर्मा । तर, उम्रिदै तीन पात भनेजस्तो अहिलेदेखि नै घमन्डले उनको बोली लर्बराउन थालेको छ ।

पछिल्लो समय एकाध ठूला ब्यानरका फिल्म हात पारेपछि आँचलमा घमण्ड चढेको हो । त्यसैको झलक देखियो आइतबार ।

चलचित्र ‘शत्रु गते’को प्रमोसनका लागि भन्दै कार्यक्रम राखिएको थियो । कार्यक्रममा पत्रकारभन्दा कलाकार ढिलो पुगेका थिए । करिब १ घन्टाभन्दा बढी कुरेपछि आइपुगेका कलाकार विनम्ररुपमा प्रस्तुत भएनन् ।

कार्यक्रममा आँचललाई एक पत्रकारले प्रश्न सोधिन्- ‘तपाईंले मदिरा पिएको दृश्य भए चलचित्र नै गर्दिन भनेर एउटा अन्तरवार्तामा भन्नुभएको थियो, तर ‘सत्रु गते’मा त तनतनी मदिरा पिउनु भएको छ नी ?’

यो प्रश्नको जवाफ दिँदा आँचलले आफ्नो शिष्टता गुमाइन् । उनले प्रश्नलाई नै ‘सिल्ली’ संज्ञा दिएर उडाउन खोजिन् । तर प्रश्नकर्ताले फेरि सोधिन् । त्यसमा आँचलले घुर्की देखाइन् र भनिन्-‘मेरा कुरा सुन्नु हुन्न भने, म जवाफ नै दिन्नँ ।’

उनले चलचित्रमा बेडसिन र चुम्बनको दृश्य मात्र आफूले दिन्न भनेको बताउँदै चलचित्रमा मदिरा सेवनको प्राविधिक कुरा पत्रकारलाई नै सिकाउन खोजिन् । जबकि आँचलले मदिरा सेवन गरेको दृष्य दिनुपर्ने भए फिल्म नै खेल्दिन’ भनेर बोलेको इन्टरभ्यू अहिले पनि यूट्यूवमा भेटिन्छ । त्यसो त हिजोआज कलाकारले यति धेरै इन्टरभ्यू दिन्छन् कि, उनीहरुलाई आफूले कहाँ के बोलेको थिए भन्ने नै थाहा हुँदैन ।

केहि समय अगाडि पनि एक इन्टरभ्यूमा आँचलले आफ्नो समाचार नै नलेख्न भन्दै मिडियालाई आधा घन्टा पाठ पठाएकी थिइन् । आँचलले समाचार नै नआएको मिडियाको नाम उल्लेख गर्दै आफू र नायक पल शाहको सम्बन्धको बिषयमा ठूलै पाठ पठाइन् । तर, कुन मिडियामा समाचार आएको थियो र समाचारको वास्तविकता के थियो भन्ने उनले वुझ्न आवश्यक ठानिनन् ।

साम्राज्ञी पथमा आँचल



हुनत, आफू प्रतिकुलका प्रश्न र समाचारमा उल्टै मिडियाकर्मी र मिडियालाई गलत देखाउने कलाकारको पुरानै रोग हो । यसअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यस्तै व्यहोरा देखाएकी थिइन् ।

चलचित्र ‘तिमी सँग’को पत्रकार सम्मेलनमा मिडियाले आफ्नो ट्याटुको बारेमा बढाइचढाई लेखेको भन्दै गनगन गरेकी थिइन् । फिलिपिन्समा आफ्नो वक्षस्थलको तल ट्याटु साम्राज्ञीले खोपेकी थिइन् । उनको ट्याटु खोप्ने कलाकारले उनको तस्बिर खिचे, जसमा साम्राज्ञी मख्ख पर्दै हाँसेकी छिन् ।

सो तस्बिर सामाजिक संजालबाट भाइरल भयो र मिडियामा समाचार बन्यो । तर, साम्राज्ञीले मिडियालाई दोषी देखाउँदै वुझेर लेख्न सुझाइन् । उनले त पत्रकारलाई ‘तपाईंहरु मेरो कुरै सुन्नु हुन्न, म यसको जवाफ नै दिन्न’ भन्दै घुर्की समेत देखाइन् । साम्राज्ञीको यो आक्रोश अर्थहिन थियो । २ वटा चलचित्र रिलिज हुँदै गर्दा साम्राज्ञीलाई मिडियाले स्टारको ट्याग दिएको हो । तर, आफैले खोपेको र खिचेको तस्बिरमा मिडियालाई दोष दिदै उनी आफू उप्कन खोजिन् ।

साम्राज्ञी र आँचलको फिल्मी करिअर अझै पनि प्रारम्भिक अवस्थामै छ । अहिलेबाटै ‘एटिच्यूड’ देखाउन थाले भने बुझ्दा हुन्छ, उनीहरु लामो दौडिने घोडा होइनन् ।

विश्वमा थुप्रै सेलिब्रटी छन्, जो सफलताको शिखरमा पुग्दा पनि आफ्नो विनम्रता कायम राख्छन् । एकाध चलचित्र सफल हुँदैमा भुईं छोड्ने साम्राज्ञी र आँचल जस्ता कलाकारहरुले बेलैमा आफूलाई सच्याएको राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment