Comments Add Comment

सम्पत्ति विवरण सार्वजनिक गरेर थाले कानुनमन्त्री शेरबहादुरले काम

'न्यायाधीशहरुको पनि सम्पत्ति विवरण सार्वजनिक हुनुपर्छ, कानुन चाहिए अब बनाइन्छ'


५ चैत, काठमाडौं । सामान्यतः मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सार्वजनिक गर्छ ।

तर कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री बनेको चौथो दिन मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे ।

अरुलाई पारदर्शी बनाउनका लागि शुरुवात आफैंबाट गर्नुपर्ने भन्दै तामाङले पत्रकार र कर्मचारीमाझ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री तामाङले राज्यका संवैधानिक निकाय तथा जनप्रतिनिधि र कर्मचारीहरुको सम्पत्ति विवरण अद्यावधिक गर्दै जनताबीच सार्वजनिक गर्नका लागि आवश्यक परे कानुननै बनाउने बताए ।

न्यायाधीशहरुको बारेमा जनस्तरबाट प्रश्न उठेको भन्दै तामाङले अब सर्वोच्च अदालतलेखि जिल्ला अदालतसम्मका सबै न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताए ।

‘न्यायाधीशहरुको सम्पत्ति विवरण पेश त हुन्छ तर सार्वजनिक हुँदैन, अब जनताबीच सार्वजनिक गर्ने कानुन चाहिए हामी त्यो पनि बनाउछौं’ उनले भने ।

मन्त्री तामाङले प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म र मुख्य सचिवदेखि तल्लो तहका कर्मचारी समेतको सम्पत्ति विवरण कम्तीमा एक वर्षमा अपडेट गरिरहनुपर्ने धारणा व्यक्त गरे ।

‘म मेरो सम्पत्ति एक वर्षमा कहाँ कति बढ्यो र कुन आम्दानी हो भनेर देखाउँछु, सबैले सम्पत्ति विवरण सार्वजनिक गर्ने हो भने टेबुलमुनीबाट खाने प्रवृत्ति स्वतः कम हुन्छ’ मन्त्री तामाङले भने ।

मन्त्री तामाङको सम्पत्ति कति ?

मन्त्री तामाङले सोमबार मन्त्रालयमै भरेको र प्रधानमन्त्री कार्यालयमा बुझाउन बाँकी रहेको सम्पत्ति विवरणमा पत्नी उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दाम जग्गामा घर रहेको छ । उनको नाममा मोरङमा पनि प्रशस्त जग्गा जमिन छ ।

त्यस्तै मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ भने पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा छ । त्यस्तै उषाकलाकै नाममा खोटाङमा जग्गा छ । प्रदेशसभा सदस्य उषाकलाको माइती खोटाङ हो । उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकसमेत हुन् ।

तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना आना जग्गा छ । त्यस्तै मन्त्री तामाङको सम्पत्ति विवरणमा ३० तोला सुन देखाइएको छ । मन्त्री तामाङको बिभिन्न संस्थाको १५ लाख बराबरको शेयर रहेको छ ।

कृषि विकास बैंकबाट ४० लाख र अन्य बै‌ंकहरुमा ३० लाख गरी ७० लाख रुपैयाँ ऋ्ण देखिएको छ । मन्त्री तामाङको एउटा गाडी, एउटा मोटरसाइकल र २ थान ल्यापटप पनि सम्पत्ति विवरणमा देखाइएको छ ।

हेर्नुस् उनको सम्पत्ति विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment