Comments Add Comment

जनप्रतिनिधिको राजीनामा माग्दै नेकपाको धम्की

५ चैत, वीरगञ्ज । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा) ले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा माग्दै धम्क्याएको छ ।

नेकपाले पर्साको वीरगञ्ज महानगरपालिका र बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेको छ ।

वीरगञ्ज महानगरका मेयर बिजय सरावगी, उपमेयर शान्ति कार्की, जितपुर-सिमराका मेयर डा. कृष्णा पौडेल, उपमेयर सरस्वती चौधरीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो ।

जिल्ला जनपरिषद (जनसत्ता)का संयोजकले राजीनामा पत्र काटेर उनीहरुको राजीनामा माग गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाले देशभर जनपरिषद् निर्माण गरेर अघि बढिरहेको बताउँदै राजीनामा पत्रमा दलाल संसदीय सत्ताको कथित जनप्रतिनिधि बनेर नबस्न भनिएको छ ।

‘तपार्इं दलाल संसदीय सत्ताको कथित जनप्रपतिनिधि बनेर बस्नु जनघात र राष्ट्रघातमा सहीछाप लगाउनु सरह हो । नेपाली जनताप्रति विश्वासघात गर्नु हो । मुलुक र जनतालाई फेरि युद्धतर्फ धकेल्ने कुरामा सहमति जनाउनु हो ।’ पत्रमा थप लेखिएको छ , ‘अतः हाम्रो जनसत्ताले दलाल संसदीय सत्ताको सम्पूर्ण पक्रिया र गतिविधिलाई खारेज गरेर अघि बढी रहेको सन्दर्भमा तपाईले यो पुरानो कथित प्रतिनिधिबाट तत्काल राजीनामा दिइ वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा साथ, सहयोग, सामेल र समर्थनका लागि हार्दिक अपील गर्न चाहन्छु ।’

पर्सा जिल्ला संयोजक बुच्ची यादवले हस्ताक्षर गरेको राजीनामा पत्रमा राजीनामा जनताको तर्फबाट गरिने प्रतिवादको सामना र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैं बन्न चेतावनी दिएको छ ।

यता वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले भने जनमतले जितेर आएका मानिसहरु जुनसुकै परिस्थितिसँग लड्न तयार रहेको बताए । ‘हामीले जनमतको सम्मान गर्नुपर्छ । अरु कसैले चुनेको हैन । जस्तोसुकै परिस्थितिको सामना गर्न पनि पछि हटिन्न ।’ उनले भने ।

जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर पौडेलले आफूले पनि पत्र आएको हल्ला सुनेको बताए । ‘म कामका सिलसिलामा काठमाडौंमा छु । मैले पत्र पाएको छैन,’ उनले भने, ‘तर पत्र आएको भन्ने हल्ला सुनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment