Comments Add Comment

सिंहदरबारभित्र मन्त्रीलाई माला लगाइदिनेको भीड

घेरा तोड्ने प्रधानमन्त्रीको निर्देशन २४ घण्टा टिकेन

५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई ‘आसेपासे’ र ‘नातेदार’हरुको घेरामा नपर्न आइतबार कडा निर्देशन दिएका थिए ।

तर, सोमबार सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षभित्रै यस्तो भीडभाड देखियो कि प्रधानमन्त्रीको सुझाव २४ घण्टा पनि टिकेन ।

जनताको काम गर्नुपर्ने मन्त्रीहरु खादा, माला र उपहार ग्रहणमै व्यस्त थिए । यो क्रम केही दिन यता लगातार चलिरहेको छ ।

मन्त्रीहरुको कार्यकक्षमा पसेर थर्पु हाल्ने र ढोकादेखि नै लाइन लागेर ‘चाकडी’ बजाउने कार्यमा कर्मचारीहरुमात्रै नभएर पार्टीका कार्यकर्ता एवं प्रधानमन्त्रीकै भाषामा भन्दा ‘आसेपासे’हरुको बाहुल्य देखिन्थ्यो ।

नयाँ मन्त्रीलाई बधाइको बाहनामा आफ्ना मान्छेबारे भनसुन गर्नसमेत कतिपयले भ्याइसकेका छन् । प्रधानमन्त्रीले यो सरकार विगतको जस्तो सामान्य सरकार हैन भने पनि काग कराउँदैछ गर्छ, पिना सुक्दै गर्छ भन्ने उखान चरितार्थ भएको छ, विभिन्न मन्त्रालयमा ।

आफूलाई जनपक्षीय एवं कामकाजी नेता बताउने र जनताबाट पनि फरक भूमिकाको अपेक्षा गरिएका मन्त्रीहरु गोकर्ण विष्ट र रविन्द्र अधिकारीसमेत कार्यकक्षभित्रै उभिएर प्रशस्ति थापिरहेका थिए ।

सिंहदरबारको दक्षिण गेटबाट छिर्नासाथ पुगिने सामान्य प्रशासनमन्त्री लालबाबुको कार्यकक्षमा ‘माल अड्डा’मा जस्तै भीड थियो । ‘आज दिनभरि मन्त्रीज्यूले भातसमेत खान भ्याउनुभएको छैन,’ मन्त्री पण्डितका सहयोगीले अनलाइनखबरसँग भने,’तपाईहरुले यहाँको भीड देखिहाल्नुभयो । उता कर्मचारीको ब्रिफिङ जारी छ, त्यसपछि रिपोर्टस क्लबमा कार्यक्रम छ अनि फेसबुक लाइभ पनि छ ।’

सामान्य प्रशासन मन्त्री पण्डितसँग भेट गराउन सप्तरीका एमाले नेता एवं राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेल केही मानिसलाई मन्त्रीसँग भेट गराउन भन्दै मन्त्रालयै पुगेका थिए ।

तर, मन्त्रीको फुर्सद छैन भन्ने थाहा पाएपछि उनले ‘सचिवज्यू’ लाई खोजे । सचिव पनि मन्त्रीसँगै मिटिङमा भन्ने थापा पाएपछि प्याकुरेलको टोली मन्त्रालयको ढोकामै अल्मलियो ।

सामान्य प्रशासनमन्त्री पण्डितले बिहान चिनियाँ टोलीसँग भेट गरेपछि दिउँसो डोलिडारका कर्मचारीबाट ब्रिफिङ लिँदै गर्दा करिब अढाइ बजिसकेको थियो ।

त्यतिबेलासम्म उनको कार्यकक्ष वरीपरी निकै ठूलो भीड जम्मा भैसकेको थियो । निजी सहयोगीहरुलाई भीड सम्हाल्न गाह्रो परिरहेको थियो ।

मन्त्रीपण्डितको कार्यकक्ष बाहिर निजी सचिवालय बस्ने कोठामा गरिएको अल्मुनियमको पार्टेसन मिस्त्रीले भत्काउँदै थिए । अघिल्ला सामान्य प्रशासनमन्त्रीका पालामा त्यो कोठालाई पार्टेसन गरिएको रहेछ, यसपालि साँघुरो भयो भन्दै भत्काइँदैथ्यो ।

उता श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको कार्यकक्षमा मेला बजारजस्तै भीड लागेको थियो । त्यहाँ बुके र सीसाको फ्रेमसहितको उपहार बोकेर मन्त्रीलाई शुभकामना दिन जानेमा कर्मचारीका साथै एमाले कार्यकर्तासमेत देखिन्थे ।

भीडको वीचमै मन्त्री विष्ट उभिएर सम्मान थाप्नुका साथै सेल्फी खिचाइरहेका थिए, ताकि आगन्तुकहरुलाई बेलुका मन्त्रीसँग खिचेको तस्वीर फेसबुकमा हालेर मार्केटिङ गर्न सजिलो होस् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि ठूलै घेराबन्दीमा भेटिए । उनको कार्यकक्ष वरिपरिका कोठाचोटा आगन्तुकले भरिएका थिए ।

मन्त्रीहरुको कार्यकक्ष सीधा सम्पर्क भएका मालपोत, सिडियो कार्यालय अलि नापी कार्यालयजस्तै देखिन्थे । भीड देखेर कर्मचारीहरुमा तनाव देखिन्थ्यो । चिया र खाजा ओसारपसार गर्नेहरुलाई भ्याई नभ्याई थियो । मन्त्रालयका क्यान्टिनहरु व्यस्त बजारका रेष्टुरेन्टभन्दा कम थिएनन् । विपक्षी कांग्रेसको संसदीय दल परिसरको रेष्टुरेन्टसमेत भीड थियो ।

सिंहदरबार परिसरमा दिउँसो २ बजेपछि गाडी र मोटरसाइकलका कारण जामजस्तै देखिन्थ्यो । अधिकांश मन्त्रीहरुले कर्मचारीबाट ब्रिफिङ लिएका कारणले गर्दा पनि सवारीको चाप सिंहदरबारभित्र अत्यधिक थियो ।

खानेपानी मन्त्री विना मगर कर्मचारीसँग ब्रिफिङ लिइरहेकी थिइन्, जसले गर्दा भेट्न आउनेहरु ढोकाबाटै फर्किरहेका थिए ।

सिंहदरबारभित्र देखिएका केही दृश्य यस्ता छन् :

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment