Comments Add Comment

नेपाल आइडलले हटायो गाडी पुरस्कार, विजेतालाई ५० लाख


नेपाल आइडलको दोस्रो संस्करणका विजेताले नगद ५० लाख पुरस्कार पाउने भएका छन् । पहिलो संस्करणमा पुरस्कार २० लाख थियो ।

तर, यसपटकदेखि गाडी पुरस्कार हटाइएको छ । पहिलो नेपाल आइडल बुद्ध लामाले महेन्द्रा केयूभी १०० गाडी पाएका थिए । तर कर तिर्ने सम्वन्धमा उनले विवाद निकालेका छन् । आकस्मिक लाभ कर नतिर्दा उनले अहिलेसम्म गाडीको ब्लु बुक पाएका छैनन् ।

यही कचिङ्गलले गर्दा सिजन २ मा गाडी पुरस्कार हटाएर ३० लाख रुपैयाँ नगद पुरस्कार थप गरिएको हो ।

जजहरु पुरानै

नेपाल आइडलको दोस्रो संस्करणमा तीनै जना जजहरु दोहोरिने भएका छन् । पहिलो संस्करणमा जस्तै न्हृयु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा फेरि जजको कुर्सीमा बस्नेछन् । उनीहरुको निर्णय र विश्लेषण क्षमताको प्रशंसा भएको थियो ।

जजहरु पुरानै भए पनि प्रस्तोता भने एकजना फेरिएका छन् । यसअघि सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा सुशीलको ठाउँमा नायक तथा टेलिभिजन प्रस्तोता आसिफ शाहलाई लिइएको छ । सुशील भने अर्को सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपालका लागि अनुबन्ध भएका छन् ।

पब्लिक भोट ५० प्रतिशत

यस पटकको नेपाल आइडलमा ठूलो नीतिगत परिवर्तन गरिएको छ । नेपाल आइडलको आधिकारिक फेसबुक पेजमा जनाइएअनुसार अब निणर्ायक र दर्शकको भोटलाई ५०-५० प्रतिशत भार दिइनेछ ।

सक्षम, प्रतिभावान र यसको गरिमा कायम राख्न सक्ने व्यक्तिमात्र विजेता बन्नुपर्छ भन्ने उद्देश्यले फ्रेन्चाइजको नियमभित्रै रहेर यो निर्णय लिइएको एपी १ टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए ।

यद्यपि पहिलो नेपाल आइडल बुद्ध लामाले आफ्नो उपाधिको गरीमा कायम राख्न नसकेको मूल्यांकन गरेर एपी १ ले यो निर्णय लिएको बुझिएको छ ।

अडिसन भोलिबाट

नेपाल आइडल सिजन २ को अडिसन मंगलबार भैरहवाबाट सुरु हुँदैछ । भैरहवाको जेसिज किन्डर गार्डेन हाइस्कुलमा अडिसन लिइने छ । त्यसपछि क्रमशः धनगढी, हेटौंडा, धरान, पोखरा र काठमाडौंमा अडिसन हुनेछन् ।

अडिसनमा छानिएका प्रतियोगीहरुलाई निर्णायकहरुले काठमाडौं बोलाउनेछन् । यसपाली विशेष क्षमता भएका प्रतियोगीहरुलाई गोल्डेन माइक पनि दिइने छ । उनीहरु अडिसनपछि सोझै टप २४ मा जान सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment