Comments Add Comment

एउटा यस्तो समुदाय, जसले छोरी जन्मँदा उत्सव मनाउँछ

भारतका ग्रामीण समुदायहरुमा अहिले पनि छोरी जन्मनुलाई अभिशापका रुपमा लिइन्छ । छोरीको भ्रुणहत्या गर्ने प्रचलनसमेत ब्यापक छ ।

तर, त्यही भारतको मध्यप्रदेशमा एउटा समुदाय छ जसले छोरी जन्मँदा उत्सव मनाउँछ । यसको कारण भने सुखद छैन ।

बन्छाडा समुदायका सदस्यहरुले आफ्नो जिविकोपार्जनका लागि पारिवारिक वेश्यावृत्तिको सहारा लिँदै आएका छन् । छोरी अलि ठूली हुनसाथ बाबुआमाले नै बेश्यावृत्तिमा लगाउँछन् र पैसा आफूले असुल्छन् । छोरी जन्मँदा उनीहरु खुशी हुनुको कारण पनि यही हो ।

मध्येप्रदेशको रत्लाम, मन्दसौर र नीमुच जिल्लाहरुमा रहेको यो समुदायले पुस्तौनीदेखि आफ्नो जिविकोपार्जनको प्रमुख माध्यमका रुपमा वेश्यावृत्तिलाई अपनाउँदै आएको छ । महिलाहरुलाई वेश्यावृत्तिमा लगाएर त्यसैको कमाईले पुरुषहरु पनि पालिन्छन् ।

‘यस समुदायमा वेश्यावृत्तिलाई सामाजिक मान्यता प्राप्त छ,’ नई आभा सामाजिक चेतना समिति नामक एनजिओका संयोजक आकाश चौहान भन्छन् ।

‘समुदायका सदस्यहरु जिविकोपार्जनका लागि महिलाहरुमा निर्भर हुने कारणले उनीहरुले छोरी जन्मिँदा सँधै खुशीयाली मनाउँछन्,’ उनले भने ।

जनगणनाको प्रतिवेदनलाई उधृत गर्दै चौहान भन्छन्, ‘तीन जिल्लाका ७५ गाउँमा फैलिएको बन्छाडा समुदायको कुल जनसंख्या २३ हजार छ, जसमध्येउ ६५ प्रतिशत महिलाहरु छन् ।’

मध्यप्रदेश महिला सशक्तिकरण विभागले मन्दसौरका ३८ गाउँमा सन् २०१५ मा सञ्चालन गरेको एउटा सर्भेक्षणले जिल्लामा उनीहरुको जनसंख्या ३ हजार ४ सय ३५ देखाएको थियो, जसमध्ये २ हजार २ सय ४३ महिलाहरु थिए । यहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या झण्डै दोब्बर देखिन्छ ।

‘यो सबैले देखाउँछ कि यहाँ पुरुषभन्दा महिलालाई बढी महत्व दिइन्छ, तर गलत कारणले,’ चौहानले भने ।

वेश्यावृत्तिले गर्दा यस समुदायमा मानव तस्करी पनि मौलाएको छ । परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि बन्छाडाका सदस्यहरु देशका विभिन्न भागबाट केटीहरु खरिद गरेर ल्याउने गर्छन् । नवजात छोरीहरु किनेर ल्याउने र उनीहरुलाई हुर्काएर ठूली बनाएपछि वेश्यावृत्तिमा होम्ने प्रचलन छ ।

सामाजिक कार्यकर्तासमेत रहेका वकिल अमित शर्मा भन्छन्, ‘यस क्षेत्रमा महिलाको जनसंख्या अत्यधिक हुनुको कारण पनि तस्करी गरेर ल्याइएका केटीहरु नै हुन् ।’

गत २०१४ को जुलाईमा नुमुच जिल्लामा छापा मारिँदा एउटा बनछाडा परिवारको घरमा ६ वर्षकी बालिका भेटिएकी थिइन् । पछि ती बालिकालाई सन् २००९ मा ५ सय रुपैयाँमा अर्को जिल्लाबाट किनेर ल्याइएको खुलासा भएको थियो ।

‘बन्छाडा समुदायमा केटीहरु किन्ने र बेच्ने प्रक्रिया एकदमै संगठित र व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको छ । समुदायले यस कार्यलाई लगानीका रुपमा लिने गरेको छ,’ शर्माले भने ।

किनेर ल्याउने परिवारले बालिकाको राम्रो हेरविचार नगर्ने उनी बताउँछन् ।  प्रहरीले यस समुदायमा मानव तस्करी र वेश्यावृत्ति रोक्न पहलकदमी लिइरहेको बताउँदै यसका लागि सामाजिक जागरणको पनि आवश्यकता रहेको औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment