Comments Add Comment

राप्रपा पुनर्गठनमा लागे पूर्वराजा ज्ञानेन्द्र , झापाको चियाबगानमा गोप्य छलफल

५ चैत, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनगर्ठन गर्ने अभियानमा सक्रिय बनेका छन् । यसैक्रममा उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीनवटा गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र यतिबेला झापाको दमकस्थित उनकै स्वामित्वमा रहेको हिमालय चिया बगानमा बसिरहेका छन् । उनी अझै केही दिन यहीँ रहनेछन् । र, ११ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् ।

झापा आएका पूर्वराजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ चियाबगानमा आइपुगेका थिए । बेलुका ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलमा सहभागी नेताहरुलाई पूर्वराजाले चिया र बिस्कुट खुवाएर पठाएको स्रोतले अनलाइनखबरलाई बतायो ।

आइतबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चिया बगानमा भेला हुने नेताहरुमा कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह थिए ।

त्यसैगरी पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती पूर्वराजासँगको छलफलमा सहभागी थिए ।

डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य पनि पूर्वराजालाई भेट्ने टोलीमा सहभागी थिए ।

राप्रपाका तीनवटै गुटका तीन/तीनजना गरी ९ जना नेताहरुसँग पूर्वराजाले सामुहिकरुपमा तीन घण्टासम्म छलफल गरेको जिल्लास्थित सरकारी गुप्तचर स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

पूर्वराजाको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’

पार्टी पुनर्गठनको पक्षमा ‘होमवर्क’

पूर्वराजासँग भएको भेटबारे हामीले सहभागीमध्येका एक नेतालाई सोध्यौं । उनले भेटवार्ता भएको पुष्टि गरे । भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका सबै समूहहरु एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने निर्देशन दिएको उनले बताए ।

पूर्वराजाको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो- ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’

पूर्वराजासँगको भेटमा राप्रपाका तीनवटै गुटका नेताहरुले आ-आफ्नो पार्टीको शीर्ष नेतृत्वको आलोचना गरेका थिए । ठूला नेतावीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको नेताहरुले पूर्वराजालाई गुनासो सुनाएका थिए ।

अब पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनीलाई मुख्य नेतृत्वबाट हटाएर युवा पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने र तीनवटै समूहलाई एकीकरण गरी राजतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको नेताहरुले ज्ञानेन्द्रलाई रिपोर्टिङ गरेका थिए ।

यही रणनीतिअनुसार पूर्वराजाको आशिर्वाद थापेर राप्रपाका नेताहरु आज काठमाडौं फर्किएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो । अब ज्ञानेन्द्रसँगको छलफलअनुसार तीनवटै पार्टीमा मुख्य नेतृत्वविरुद्ध विद्रोहको तयारी थालिने स्रोतको दाबी छ ।

यसैवीच पूर्वराजा ज्ञानेन्द्रले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरुसँग पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम जारी रहेको स्रोतले बतायो ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जमा रहँदा त्यहाँ पनि राप्रपाका पुराना नेताहरुसँग छलफल गरेका थिए । त्यहाँ उनले काठमाडौंबाट बोलाएर कमल थापासँग पनि पार्टी पुनर्गठनबारे कुराकानी गरेका थिए ।

टिप्पणीः असफल ज्ञानेन्द्रको राजनीतिक चासो !

राप्रपा नेताहरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र अब आफूले केही गर्नुपर्ने भन्दै पूर्वराजावादीहरुको दल निर्माणमा सक्रिय बन्न थालेका छन् । तर, उनी आफैं पार्टीको नेतृत्व गर्छन् या ‘ब्याकअप’ मात्रै भूमिका खेल्छन् भन्ने चाहिँ खुलिसकेको छैन ।

तथापि यो शक्तिले अझै पनि आफ्नो पुनरागमनका लागि गतिविधि जारी राख्ने संकेत भने देखिएको छ । यसै साता मात्र पूर्वशाही पाश्र्वती भरतकेशरसिंह सहितको हिन्दुवादीहरुको एक टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तस्वीर खिचाएको घटना अर्थपूर्ण हुन सक्छ ।

पूर्वराजा आफैंले राप्रपाका विभिन्न समूहका नेताहरुसँग सामुहिक छलफल गर्नुले उनमा र उनका अनुयायीहरुमा रहेको राजनीतिक ‘भोक’ सहजै देख्न सकिन्छ ।

यसवीचमा पूर्वराजाले भारतको भ्रमण गरेर युपीका मुख्यमन्त्री आदित्यनाथसँग पनि भेट गरिसकेका छन् ।

राजगद्दी छाडेर नागरिक बनिसकेका ज्ञानेन्द्रले राजनीतिमा आउन चाहे भने त्यो उनको संवैधानिक एवं नागरिक अधिकारको विषय हो ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेको निम्तो मान्दै शीतलनिवास पुगेर पूर्वराजाले गणतन्त्रलाई भावनात्मक रुपमा स्वीकार गरिसकेका छन् । यद्यपि त्यसपछिका आफ्ना अभिव्यक्तिहरुमा भने उनले ‘अब समय आयो’ भन्ने गरेका छन् । उनका यी दुई व्यवहार एकापसमा ‘कन्ट्रोभर्सियल’ देखिन्छन् ।

संविधानसभाबाट गणतान्त्रिक संविधान बनिसकेर चुनावहरु पनि भईवरि मुुलुकले राजनीतिक स्थायित्व पाइसकेको छ । यस्तो बेलामा पूर्वराजा ज्ञानेन्द्रको संरक्षकत्वमा पुनर्गठन हुने राप्रपाले राजतन्त्र फर्काउने नीति लिन्छ या लोकतान्त्रिक अभ्यासमै रहेर राजनीतिक गतिविधि गर्छ ? यो प्रश्न चासोको विषय बन्ने गरेको छ नेपाली राजनीतिमा ।

पूर्वराजा ज्ञानेन्द्रसँग राजनीतिक सुझबुझ र कला नभएकाले उनले चाहँदैमा नेपालमा तत्कालै ‘कन्जरभेटिभ’ फोर्सको पुनरुत्थान सहज देखिँदैन । त्यसैले उनी आफैं राजनीतिको मैदानमा उत्रिए पनि परिस्थिति पछाडि फर्किएला भनेर अनुमान लगाउन राप्रपाकै नेताले समेत सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment