Comments Add Comment

कप्तान पारस भन्छन्- जिम्मेवारी पूरा गर्ने पालो सरकारको

५ चैत, काठमाडौं । नेपाललाई एकदिवसीय मान्यता दिलाएर स्वदेश फर्किएको नेपाल टोलीले क्रिकेटको बल सरकार र क्रिकेट स्टेकहोल्डरको कोर्टमा फालेका छन् ।

कप्तान पारस खड्का भन्छन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब खेलाडीसँगै क्रिकेट पदाधिकारी र देशमाथि नै जिम्मेवारी छ कि क्रिकेटलाई कसरी हेर्ने ?’

हो, नेपाली क्रिकेट खेलाडीहरुले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । तर, सरकार र आफूलाई क्रिकेटका स्टेक होल्डर भन्नेहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिएको छैन ।

विश्वकप छनोटको यो यात्राले नेपाललाई फेरि एक पटक मौका दिएको छ । सुपर सिक्समा नपुगे पनि नेपालले अबको चार वर्षका लागि एकदिवसीय मान्यता पाएको छ ।
चार वर्षमा घरेलु क्रिकेटको राम्रो जग बसाल्नु सक्ने हो भने अगाडिको यात्रा सहज हुन्छ ।

तर, अघिल्लो पटक पाएको टी-२० स्टाटस जस्तै हुने त होइन भन्ने डर सबैमा छ ।

‘हामीले एक दिवसीय मान्यता पायौं, खुसी छौं । २०१४ मा टी-२० पाएपछि के गर्‍यौं त भन्ने प्रश्न छ’ प्रशिक्षक जगत टमाटा भन्छन्, ‘त्यसैले महत्वपूर्ण अब चार वर्ष क्रिकेटलाई कसरी चलाउने त ? यहि तरिकाले केही हुन्न ।’

यसका लागि सक्षम क्रिकेट बोर्ड चाहिने र घरेलु संरचनालाई बलियो बनाउनु पर्ने उनी बताउँछन् ।

तर, नेपाल क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । आगामी जुनमा निलम्बन फुकुवा हुने अपेक्षा राखिएको थियो । तर, निर्वाचित क्यानले साधारणसभा बोलाएर विधान अनुमोदन नगर्दा यो लक्ष्य प्रभावित हुने खतरा देखिएको छ ।

टमाटाको भनाइमा कप्तान पारस पनि सहमत छन् । उनले भने, ‘ओडीआई स्टाटस पाएका छौं तर काम गर्नु पर्ने धेरै छ । घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरुको हेरचाह लगायतमा प्रफेसनल सेटअप गर्नैपर्छ ।’

अघि भने, राम्रो संरचना बनाएर अघि बढ्ने हो भने ओडीआई स्टाटस कायम राख्न सक्छौं ।’

अबको लक्ष्य विश्वकप

नेपाली टोलीका कप्तान पारस एकदिवसीय मान्यता पाएको क्षणलाई टी-२० विश्पकपमा छनोट हुँदाको खुसीसँग तुलना गर्छन् । उनी भन्छन्, ‘धेरै वर्षदेखिको सपना थियो, जुन पुरा भएको छ । यो भन्दाखुसीको क्षण केही छैन ।’

तर, नेपाली टोलीका एउटा सपना पुरा भएसँगै अर्को सपना देख्न थालेको छ, त्यो हो ५० ओभरको विश्वकप छ । ‘८ देखि १२ वर्ष टेष्ट नेशन बन्ने सपना पनि छ’ केही आशावादी देखिएका कप्तान पारस भन्छन्, ‘शायद अब सुरुवात हुन सक्छ कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment