Comments Add Comment

रंगशालासम्वन्धी स्टाटसमा आएका प्रतिक्रियाले जिग्रीको आँखामा आँशु

हास्यकलाकार कुमार कट्टेल जिग्रीले आइतबार फेसबुकमा छुस्स एउटा स्टाटस लेखेका थिए । त्यसमा उनले नेपालमा जनस्तरबाट एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि अपिल गरेका थिए ।

स्ट्याटसले राम्रै मार्केट लियो । त्यसमा आएका चार सयभन्दा बढि प्रतिक्रियाले जिग्रीलाई निकै हौसला दिएको छ । धेरैले उनको आह्वानमा समर्थन जनाउँदै आफू पनि आर्थिक सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।

‘कतिपय प्रतिक्रियाहरु यति मन छुने थिए कि पढेर मेरा आँखामा आँशु आयो, उहाँहरुले आफनो गाँस काटेर पनि सहयोग गर्छु भन्नुभएको छ,’ जिग्रीले भने, ‘यसबाट मेरो अठोट अझ बलियो भयो ।’

त्यसो त जिग्रीले हचुवामा उक्त स्टाटस लेखेका थिएनन् । टेलिश्रृंखला भद्रगोलको टिमसँग पनि सल्लाह गरेका थिए । त्यसैले अहिले उनको स्ट्याटसको स्वामित्व भद्रगोल टिमले लिएको छ ।

अब आर्थिक संकलनका लागि चाँडै नै पहलकदमी लिने जिग्रीले जानकारी गराए । त्योभन्दा पहिला उनले क्रिकेट सम्वद्ध सरकारी निकाय तथा राष्ट्रिय खेलाडीहरुसँग पनि भेटेर छलफल गर्ने योजना बनाएका छन् ।

‘हामी सरकारसँगकै समन्वयमा यो काम गर्न चाहन्छौं,’ उनले भने । रंगशालाका लागि ठूलो परिमाणमा जमिन आवश्यक भएकाले त्यो सरकारले उपलब्ध गराइदिनुपर्ने उनको भनाई छ ।

उनले रंगशालाका लागि ४-५ अर्ब खर्च लाग्ने अनुमान गरेका छन् । यो रकम जुटाउने मोडालिटी पनि उनले प्रस्तुत गदैर्ं भनेका छन्, ‘५० लाख क्रिकेटप्रेमी नेपालीले १-१ हजारको दरले मात्रै सहयोग गर्ने हो भने पनि ५ अर्ब रुपैयाँ जम्मा हुन्छ ।’

आफ्नो स्टाटसमा मात्रै करिब १० लाख रुपैयाँको प्रतिवद्धता आइसकेको जिग्रीले बताए । आफूलाई फोन र एसएमएसमा पनि धेरैले यो अभियान अघि बढाउन आग्रह गर्दै सहयोगको प्रतिवद्धता जनाएको उनको भनाई छ ।

आफूहरुले सामाजिक कार्यका लागि जिग्री-पाँडे प्रतिष्ठान पहिले नै दर्ता गरेको उल्लेख गर्दै उनले यसैमार्फत रंगशाला निर्माणको अभियान अघि बढाउन सकिने बताए ।

‘खेल मनोरञ्जनको साधन मात्र होइन, देशलाई चिनाउने माध्यम पनि हो,’ जिग्री भन्छन्, ‘पछिल्लो समय नेपाललाई क्रिकेटले विश्वमा चिनाउन थालेको छ । तर देशमा भने एउटा गतिलो क्रिकेट खेल्ने रंगशाला पनि छैन । यो दरिद्रताको अवस्था अन्त्य हुनुपर्छ ।’

नेपालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाएको खण्डमा अरु देशहरुलाई बोलाएर पनि तटस्थ भूमिका रुपमा क्रिकेट खेलाउन सकिने उनी बताउँछन् ।

‘भोली नेपालमा भारत र पाकिस्तानको म्याच गराउन सकिन्छ,’ उनी भन्छन् ।

क्रिकेटप्रेमी जिग्री

जिग्री सानैदेखि क्रिकेटका क्रेजी हुन् । स्कुल पढ्दा खेल्थे पनि । आफ्नो टिमका उनी प्रारम्भिक ब्याट्सम्यान तथा बलर थिए । तर, एसएलसीपछि उनको क्रिकेट छुट्यो ।

अहिले पनि उनलाई बाटोमा कतै क्रिकेट खेलेको देखेभने सकसक लागिहाल्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट म्याचहरु उनी सबै पछ्याउने गर्छन् । सुटिङमा एकछिन फुर्सद हुँदा होस वा स्टेजमा आफ्नो पालो नआउँदासम्म होस, मोबाइल खोलेर अपडेट लिइहाल्छन् ।

पछिल्लो समयमा नेपालले पनि बाक्लै अन्तर्राष्ट्रिय म्याच खेल्न थालेको छ र उनी हरेक म्याचको अपडेट लिने गर्छन् । अहिले उनका सबैभन्दा प्रिय खेलाडी हुन् सन्दिप लामिछाने  ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनी पहिले अष्ट्रेलियाको समर्थक थिए । तर, अहिले अस्ट्रेलिया खस्किएकाले उनले समर्थन गर्न छोडिदिएका छन् । बरु खेलाडी हेरेर समर्थन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment