Comments Add Comment

लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली, मेयरविरुद्ध उपमेयर अनशनमा !

६ चैत, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई समाचारको रुप दिएर पस्केका छन् । केहीले राजनीतिक विषयलाई पहिलो पृष्ठमा  छापेका छन् भने केहीको प्राथमिकतामा आर्थिक, सामाजिक विकृतिका विषय परेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले आज उत्तरी कोरियाली चिकित्सकले नेपालमा अवैध रुपमा स्वास्थ्य सेवा दिइरहेको खुलासा गरेकाे ५ ।  समाचार अनुसार, तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले त्यस्तो सेवा दिँदै आइरहेका छन् ।

अन्नपूर्णमै सतर्कता केन्द्र प्रभावहीन भएको र हाडनाताले कृष्णसार जोखिममा परेको समाचार पनि छ ।

न्यायाधीशका सम्पत्ति सार्वजनिक गर्न कानुन ल्याउन लागिएको, प्रदेश सरकार अलमलमा परेकोलगायत समाचार कान्तिपुरको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

स्थानीय तहलाई कोषमा नगद दिने व्यवस्था खारेज हुन लागेकोलाई नागरिकले मुख्य समाचार बनाएको छ भने नयाँ पत्रिका दैनिकले ‘लालबाबुको प्रथम परीक्षा’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली

तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ ।

ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् । उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा. को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् ।

श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताएको अन्नपूर्णको समाचारमा उल्लेख छ । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाको भनाइ कोड गर्दै अन्नपूणले लेखेको छ– ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’

विदेशी चिकित्सकले नेपालमा काम गर्न चाहेमा अनुमति लिनुपर्ने बाध्यकारी प्रावधान छ तर उत्तर कोरियाली चिकित्सक सबैले अनुमति नलिएको मेडिकल काउन्सिलले जनाएको छ ।

मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा

आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेको नागरिक दैनिक र नयाँ पत्रिका दैनिकमा खबर छ ।

नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन बसेकी हुन् ।

‘कार्यालय सार्ने–नसार्ने विवाद मुख्य होइन । त्यो त नियम र प्रक्रियाले मिल्नेगरी गरिने हो । मेयरले दुईतिहाइ पुगेपछि उपमेयरको सहमति आवश्यक नै नपर्ने भनिदिएपछि साँच्चिकै चित्त दुखेको छ’, नागरिक दैनिकले उपमेयर झाको भनाइ कोड गर्दै समाचार लेखेको छ ।

आइतबारै साँझदेखि अनशन बसेकी झाको स्वास्थ्य अवस्था कमजोर भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

नयाँ पत्रिका दैनिकले आफ्नै मेयरविरुद्ध अनशन बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थय अवस्था बिग्रेपछि अस्पताल भर्ना गरेको लेखेको छ ।

यी हुन् सुको खर्च नगर्ने गौरवका तीन आयोजना


आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेका बेला तीनवटा गौरवका आयोजनाले ६ महिना समय एक सुको खर्च नगरी बिताएका छन् ।
नागरिक दैनिक ‘गौरवका तीन आयोजनाले सुको पनि खर्च गरेनन्’ शीर्षक समाचारमा लेख्छ– सरकारले प्राथमिकता दिएको दाबी गरिरहेका ती आयोजनामा एक सुको रकम खर्च हुन नसकेपछि अन्य आयोजनाको निर्माण कार्य कुन हालतमा भइरहेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा एक सुको रकम खर्च गर्न नसक्ने आयोजनामा पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल हुन् । अर्थ मन्त्रालयको रेकर्डमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एक सुको रकम खर्च हुन नसकेको देखिए पनि पछिल्लो समयमा उक्त विमानस्थलको निर्माण कार्यले भने गति लिइरहेको नागरिकको समाचारमा उल्लेख छ ।

‘हेड इन्जुरी’ कम गर्न दुवैलाई हेल्मेट

मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने हेड इन्जुरी (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरुको भनाइ उद्धृत गर्दै आज कान्तिपुर दैनिकले एंकर समाचार लेखेको छ ।

मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झाले बताएको समाचारमा उल्लेख छ ।

मोटराइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन् । महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ ।

मानव जीवनशैलीले भँगेरा ‘थ्रेट’मा

मानव र मानव जीवनसँग निकट रहने पन्छी भँगेरा हिजोआज तपाईं हाम्रो घरआँगनमा खासै देखिँदैन । बढ्दो सहरीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण यो पंक्षी थ्रेटमा पर्न थालेको नेपाल समाचारपत्रले छापेको छ ।

घरआँगन र आसपास छरिने अन्नसहित करेसाबारी र खेतबारीमा लगाइने अन्नबाली तथा बोटबिरुवामा लाग्ने कीरा फट्यांग्रा भँगेराको मुख्य आहारा हो । पर्याप्त आहारा र उपयुक्त बासस्थान अभावमा पछिल्ला वर्षमा भँगेराको चहलपहल घट्न थालेको विज्ञहरु बताउँछन् ।

स्थानीय तहलाई कोषमा बजेट दिने व्यवस्था खारेज हुँदै

प्रतीकात्मक तस्वीर

स्थानीय तहलाई वर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक वर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ ।

नागरिक दैनिकका अनुसार मुलुक संघीयतामा गएसँगै सरकारले चालू आर्थिक वर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोषमा सीधै दुई खर्ब २५ अर्ब रुपैयाँ पठाइदिएको छ ।

चालू आर्थिक वर्षको सुरुकै दिन (साउन १ मा) स्थानीय तहका लागि नगद दिँदा सरकारलाई समस्या परेपछि यो प्रणाली परिवर्तन गर्न लागिएको नागरिकको समाचारमा उल्लेख छ ।

अहिलेको व्यवस्थालाई निरन्तरता दिने हो भने सरकारी कोषमा नभए पनि समाउनको पहिलो दिन स्थानीय तहलाई पैसा दिनुपर्नेछ । चालू आर्थिक वर्ष सरकारले आन्तरिक ऋण उठाएरै साउनमा पहिलो किस्ताबापत ७५ अर्ब रुपैयाँ दिएको थियो । यही कारण अर्थ मन्त्रालय चालू आ.व.को सुरुदेखि नै वित्तीय घाटामा रहेको समाचारमा उल्लेख छ ।

र, यो पनि–विद्यार्थीलाई टपरी गाँस्न सिकाउँदै विद्यालय !


किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रुपमै प्रदर्शन गरेर विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीले अभिभावकलाई चकित पारिदिएका छन् ।

ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालित फुड फेस्टिभलको प्रदर्शनी हेर्न सोमबार विद्यालय पुगेक ाबनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटिरहेको देख्दा अचम्ममा परे । दैनिक रुपमा घरपसलमा आवश्यक पर्ने कपासको बत्ती किन्न बजार जानुपर्ने बाध्यता रहेका शंकरले छौरीले उक्त आवश्यकता पूरा गरिदिने भएपछि औधी खुसी लागेको सुनाए ।

राजधानी दैनिक लेख्छ– छोरीले घरमा हजुरआमाले जस्तै टपरी बुनिरहेको पाएपछि अभिभावक महेश पौडेल टक्क रोकिए । उनले नजिकै गएर छोरीको काम अवलोकन गरे । छोरीले अब बजारमा गएर टपरी किन्न आवश्यक नरहेको बताएपछि उनी विद्यालयले दिएको व्यावहारिक शिक्षा देखेर खुसीले दंग परे ।

विद्यालयलेहरुले व्यावहारिक शिक्षा नदिएको आरोप लागिरहेका बेला काभ्रेको विद्यासागर इंग्लिस स्कुलले सीप सिकाउने उद्देश्यले विद्यार्थीहरुलाई दुनाटपरी गाँस्न, अगरबत्ती बनाउन तथा दीयोमा प्रयोग हुने बत्ती काट्न सिकाएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment