Comments Add Comment

किन तोकिएनन् एमाले र कांग्रेसका प्रमुख सचेतक ?

नेम्वाङ एमालेको उपनेता बन्ने, भानुभक्तद्वारा प्रमुख सचेतक अस्वीकार

 

६ चैत, काठमाडौं । प्रमुख सत्तारुढ घटक एमाले र प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलको प्रमुख सचेतक नतोकिँदा संसदीय काम कारवाहीमा जटिलता उत्पन्न भएको छ । सभामुख कृष्णबहादुर महराले जरुरी छलफल गर्नु पर्दा प्रमुख सचेतक नभएपछि अन्य नेताहरुसँग परामर्श लिने गरेका छन् ।

माओवादीले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेलगत्तै प्रमुख सचेतक देव गुरुङ बनाइएका थिए । तर एमाले र कांग्रेसका संसदीय दलका नेताले अहिलेसम्म प्रमुख सचेतक चयन गरेका छैनन् । संसदीय कामकारवाहीमा प्रमुख सचेतकहरु सभामुखका सल्लाहकार जस्तै मानिन्छन् ।

एमाले संसदीय दलको प्रमुख सचेतक को हुने भन्ने टुंगो लागेको छैन । ओली दलको नेता चयन भएसँगै एमालेको तर्फबाट सुवास नेम्वाङ र भानुभक्त ढकालले संसदीय दलको तर्फबाट बैठकहरुमा भाग लिने गरेका थिए । तर पछिल्लो पटक मन्त्रिपरिषद बिस्तारमा आफू नपरेपछि ढकाल सो जिम्मेवारीबाट अलग भएको स्रोतले जनाएको छ ।

अहिले एमालेको तर्फबाट जरुरी विषयमा सुवास नेम्वाङसँगै संसदका पदाधिकारीहरुले छलफल गर्ने गरेका छन् । कांग्रेसको तर्फबाट मिनेन्द्र रिजालसँग परामर्श हुने गरेको छ । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएदेखि नै रिजाललाई संसदभित्रका गतिबिधिमा सक्रिय बनाइएको छ ।

एमाले नेता भानुभक्त ढकालले प्रमुख सचेतक बन्न अस्वीकार गरेपछि त्यो जिम्मेवारी खगराज अधिकारीले पाउने सम्भावना छ

अघिल्लो कार्यकालमा संसदीय दलको प्रमुख सचेतक रहेका एमाले नेता ढकाललाई प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता ओलीले यसपटक पनि सोही जिम्मेवारी दिन खोजेका छन् । तर ढकालले प्रमुख सचेतक नहुने जानकारी ओलीलाई गराइसकेका छन् ।

दोहोर्‍याएर एउटै जिम्मेवारी नलिने भन्दै ढकालले नयाँ  व्यक्तिलाई मौका दिन ओलीलाई भेटेरै आग्रह गरेको स्रोतले जनाएको छ । भानुभक्त ढकालले प्रमुख सचेतक बन्न अस्वीकार गरेपछि एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी खगराज अधिकारीले पाउने सम्भावना रहेको छ । यद्यपी एमाले-माओवादी पार्टी एकतापछि संसदीय दलको प्रमुख सचेतक अहिलेकै नरहन सक्छन् ।

एमालेले राष्ट्रियसभामा भने संसदीय दलको नेतासँगै प्रमुख सचेतक पनि चयन गरिसकेको छ । दलको नेतामा परशुराम मेघी गुरुङ चयन भएका छन् भने प्रमुख सचेतक खिमलाल भट्टराई तोकिएका छन् । अन्य दलले भने दलका पदाधिकारी चयन गरेका छैनन् ।

यसैबीच एमाले संसदीय दलको उपनेता भने सुवास नेम्वाङ नै हुने भएका छन् । प्रधानमन्त्री तथा संसदीय दलका नेता ओली सरकारका काममा व्यस्त हुनुपर्ने भएकाले संसदीय फाँटको काम सहज रुपमा चलाउन सुवास नेम्वाङ उपयुक्त भएकाले उनलाई नै उपनेता बनाउन लागिएको स्रोतले जनाएको छ ।

कांग्रेसमा नेताको दौडधूप

कांग्रेसबाट प्रमुख सचेतक बन्न नेताको दौडधूप छ । संसदीय दलको नेता बन्न चुनावदेखि देउवातिर ढल्किएका मिनेन्द्र रिजाललार्इ भावी प्रमुख सचेतक भनिएको थियो तर, उनले भने अाफू प्रमुख सचेतक नबन्ने बताएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुमध्ये राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पनि प्रमुख सचेतक तोकेका छैनन् । राजपाले संसदीय दलको नेता नै चयन गर्न सकेको छैन । दलको नेतामा राजेन्द्र महतोले दावी गरेका छन् । तर अध्यक्ष मण्डलका अरु सदस्यहरुले भने महन्थ ठाकुर नै दलको नेता हुनुपर्ने भन्दै नत्र आफ्नो पनि दावी रहने बताइरहेका छन् ।

संसदीय दलका नेता र प्रमुख सचेतकहरुका साथै संसदीय समितिका सभापतिहरुलाई पनि संसदका पदाधिकारीकै रुपमा मान्यता दिइन्छ । संसदमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका प्रमुख सचेतकहरुले गाडी सुबिधासहित संसदका पदाधिकारीसरह सुबिधा पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment