Comments Add Comment

तीन वर्षभित्र कृषिमा आत्मनिर्भर, ५ वर्षमा अर्गानिक उत्पादन निर्यातः मन्त्री खनाल

'कित्ता काट रोक्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्छु'

६ चैत, काठमाडौं । कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्र नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दावी गरेका छन् । उनले नेपाललाई पाँच वर्षभित्र अर्गानिक कृषि उत्पादन निर्यात गर्ने मुलुक बनाउने घोषणासमेत गरे ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए ।

‘राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ । गहिरो अध्ययन हुँदैछ,’ खनालले भने । कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाइ छ । सातदेखि दश वर्षमा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने उनले बताए ।

आयात र खरिद मात्रै हुनु चिन्ताजनक

अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको बताउँदै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताउँदै समग्रमा विकास र स्थिरता नै सरकारको लक्ष्य भएको बताए ।

अहिले नेपालको कृषि क्षेत्र घिसि्ररहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए । ‘आयात र खरिद मात्रै हुनु दुःखद हो । त्यसैले अब कृषि आधुनिकीकरण जरुरी छ,’ खनालले भने ।

यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँदै उनले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्ने बताए ।

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ ।

कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताए ।

भूमि व्यवस्थापनमा नयाँ काम

मन्त्री खनालले भूमि व्यवस्थापनका लागि पनि आफूले तत्काल नयाँ काम थाल्ने बताए । भूमि व्यवस्थापनका लागि मालपोत र नापी कार्यालयलाई नै व्यवस्थित गर्नुपर्ने उनको तर्क छ ।

जमिन खण्डिकरण र कित्ता काट रोक्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेर निर्णय गर्ने खनालले बताए ।

सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने विषयमा पनि आफू गम्भीर भएको खनालको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment