Comments Add Comment

कृषिजन्य वस्तुको निकासी सहजीकरण गर्न आपूर्तिमन्त्री यादवद्वारा भारतलाई आग्रह

६ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपालबाट निकासी हुने कृषिजन्य वस्तुहरूको निर्यात सहजीकरण गर्न भारतीय पक्षसँग आग्रह गरेका छन् ।

विश्व व्यापार संगठनले नयाँ दिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बैठकमा मन्त्री यादवले भारतका वाणिज्य मन्त्री सुरेस प्रभु र परराष्ट्रमन्त्री सुष्मा स्वराजसमक्ष यस्तो आग्रह गरेका हुन् ।

उक्त भेटमा मन्त्री यादवले नेपाल -भारत सीमाका मूख्य भन्सार नाकाहरूमा क्वारान्टाइन लगायतका व्यापार सहजीकरणका लागि पूर्वाधार निर्माण गर्ने, भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न तथा नेपालमा भारतीयल लगानी वृद्धि गर्ने विषयमा जोड दिए ।

भारतीय विदेश मन्त्री स्वराजसँगको भेटको अवसरमा मन्त्री यादवले नेपालमा राजनीतिक परिवर्तनपश्चात अबको लक्ष्य देशलाई एकतावद्ध गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, सुशासन, आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने रहेको बताए ।

उनले नेपाल -भारत बीचको व्यापार र पारवहनको क्षेत्रमा रहेका समस्या समाधान गर्न एकीकृत जाँच चौकी लगायतका व्यापारजन्य पूर्वाधार निर्माण, क्रसबोर्डर रेल्वे निर्माण, कलकत्ताबाट नेपाल आउने कार्गो र कलकत्तादेखि कोशी नदीसम्म जलमार्ग निर्माण र नेपाल तथा बंगलादेश जोड्ने टनेलमार्ग निर्माणमा जोड दिए ।

उक्त भेटमा भारतीय वाणिज्य मन्त्री प्रभुले नेपाल-भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याका बारेमा आफू जानकार रहेको बताए । उनले व्यापार सहजीकरणमा देखिएका समस्या समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा नतिजा देखिने गरी काम गर्न भारत इच्छुक रहेको बताए ।

सो सन्दर्भमा विदेश मन्त्री स्वराजले नेपाल भारत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजा देखिने गरी समाधान गर्न गृहकार्य भइरहेको बताइन् । नेपालको विकास र समृद्धिमा सहयोग गर्न भारत तयार रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment