Comments Add Comment

बैंकहरुको धेरै लगानी थोक र खुद्रा कारोबारका व्यवसायमा

खानीसम्बन्धी उद्योगमा पनि लगानी बढ्यो

५ चैत्र, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा धेरै कर्जा पाउने व्यवसायमा थोक तथा खुद्रा करोबार रहेका छन् ।

गत माघसम्ममा कुल कर्जामध्ये २२ प्रतिशत रकम थोक तथा खुद्रा कारोबार व्यवसायमा प्रदान गरिएको छ । यस्ता व्यवसायमा बैंकहरुले चार खर्ब ९८ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

राष्ट्रबैंकले हालै सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तिीय स्थितिसम्बन्धी प्रतिवेदनका अनुसार अटोमोटिभ डिलर र अन्य खुद्रा व्यवसायमा उच्च कर्जा गएको छ । अटोमोटिभ डिलरमा गएको कर्जामा २४ प्रतिशतले वृद्धि भएको छ ।

माघसम्म व्यवसाय केन्दि्रत संस्थाहरुले बैंक तथा वित्तीय संस्थाबाट पाँच खर्ब ५१ अर्ब रुपैयाँको कर्जा प्राप्त गरेका छन् ।

त्यस्तै, औद्योगिक संस्थाहरुले चार खर्ब एक अर्ब, सेवा दिने संस्थाहरुले एक खर्ब ६२ अर्ब र अन्य संस्थाहरुले दुई खर्ब १८ अर्ब रुपैयाँको कर्जा प्राप्त गरेका छन् ।

उत्पादनमुलक उद्योगमा खानीसँग सम्बन्धित क्षेत्रमा कर्जा लगानी गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएर पाँच अर्ब ४७ करोड पुगेको छ । कोइला र तेल उत्पादनको क्षेत्रमा पनि कर्जा लगानी बढेको छ ।

७४ प्रतिशतले यो क्षेत्रमा कर्जा लगानी बढेर दुई अर्ब ४८ करोड पुगेको छ । खाद्यान्न उत्पादन र प्रशोधन, कृषि तथा वन पैदावार उत्पादन, टेक्सटाइल, रबर टायर उत्पादनमा कर्जा लगानी घटेको छ ।

त्यस्तै, धातु सम्बन्धी उत्पादन क्षेत्र, मेसिन र विद्युतीय उपकरणमा लगानी १६ प्रतिशतले बढेर २९ अर्ब पुगेको छ । यस क्षेत्रमा जलविद्युत आयोजनाको लागि प्रयोग हुने टरवाइन उत्पादनमा जानेबाहेक अन्य सबै खाले उत्पादनको लागि कर्जाको माग बढेको छ ।

तेल, खानी र निर्माणमा प्रयोग हुने मेसिनको लागि जारी भएको कर्जामा एक सय ३४ प्रतिशतले वृद्धि भएको छ । यसमा एक अर्ब ५६ करोड कर्जा लगानी भएको छ । लगानी विद्युतीय उपकरण, जेनेरेटरको लागि भएको कर्जा लगानी पनि बढेको हो ।

निर्माण क्षेत्रमा १२ प्रतिशतले कर्जा लगानी बढेको छ । यसअन्तरगत राजमार्ग, पुल निर्माण लगायतमा २३ प्रतिशतले कर्जा लगानी बढेको छ । यसमा २५ अर्ब लगानी पुगेको छ ।

सेवा क्षेत्रका होटेल, मनोरञ्जन क्षेत्र, पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ । सवारी र सवारीका पार्ट पुर्जामा १९ प्रतिशतले लगानी बढेर २४ अर्ब पुगेको छ ।

अद्यावधिक, अधिविकर्ष, प्रतितपत्र तथा आयात र चालु पुँजी कर्जाको शीर्षकमा यो दरमा कर्जा लिएका हुन् । माघसम्ममा बैंकहरुको कुल कर्जा लगानी २२ खर्ब ४३ अर्ब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment