Comments Add Comment

किन्ने थप घट्ने आशमा, बेच्ने तनावमा !


६ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले विगत एक महिनामा एक सय ३२ अंक गुमाएपछि लगानीकर्ताहरु अन्योलमा परेका छन् ।
करिब ६ महिनादेखि सानो तिनो उतारचढाव बाहेक घट्दो प्रवृत्तिले निरन्तरता पाएको बजारको प्रक्षेपण गर्न गाह्रो हुन थालेपछि लगानीकर्ताहरु थप हतोत्साही भएका हुन् । बजार एक बर्ष यताकै न्युन विन्दुमा आइपुगिसकेको भएपनि किन्ने लगानीकर्ताहरु बढ्न सकेको छैन ।

‘कतिपय कम्पनीको सेयर मूल्य न्युन बिन्दुमा आइपुगेको छ, तर पनि बजार अझै घटे किन्ने आशमा लगानीकर्ताहरु बसेका छन्,’ सेयर लगानीकर्ता प्रकाश रजौरेले भने ।

बजार बढ्दा थोरै अंकले बढ्ने र घट्दा उच्च दरमा गिरावट आइरहेकोले पनि कतिपय लगानीकर्ता लगानी गर्न चाहिरहेका छैनन् । ‘अहिलेको बजार प्रक्षेपण गर्न सक्ने अवस्थामा देखिएको छैन,’ पुराना सेयर विश्लेषक अमृतनाथ रेग्मी भन्छन् । बैंकहरुमा पुँजी अभाव हुनु, आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको लाभांश के पाइने भन्ने संशय बाँकी रहँनु, सेयर आपुर्तिको दबाब बढ्नुले बजार घटेको उनको तर्क छ ।

तर, सरकारले आगामी केही दिनमा जारी गर्ने भनेको स्वेत पत्र, सी आस्वा प्रणाली मार्फत गाँउ गाँउमा सेयर सहजै आवेदन दिन सक्ने व्यवस्था र अनलाइन सेयर कारोबार प्रणाली आएमा भने यिनको कारण बजारमा केही करेक्सन आउने अपेक्षा उनको छ ।

बजारमा समूहगत आधारमा केही आश गरिएका क्षेत्रको रुपमा बीमा र लघुवित्त कम्पनीहरु मात्रै देखिएका छन् । तर, यस्ता कम्पनीहरुको सेयर कम लगानीकर्तामा हुँदा खेल्न सक्ने सम्भावना, दोहोरो पनाका समस्या, नियमनमा भावि दिनमा हुन सक्ने कडाई लगायतको कारण पनि केही लगानीकर्ताहरु ती क्षेत्रमा आकर्षित हुन सकिरहेका छैनन् ।

केही वर्षअघि देखि बीमा र लघुवित्तलाई अन्यभन्दा तुलनात्मक रुपमा बढि जोखिमका क्षेत्र मानिएपनि लाभांश दर र कम आपुर्तिको कारण मूल्य उच्च नै छ । पछिल्लो समय जलविद्युत कम्पनी प्रति पनि लगानीकर्ताहरु सकारात्मक हुन सकिरहेका छैनन् । बजारमा लगानीको लागि सिमित क्षेत्र हुनु र भएकामा पनि लगानीकर्ताको विश्वास बढ्न नसकेकोले बजार घट्ने क्रममा देखिदै आएको छ ।

१५ अंकले घटेर मंगलबार सेयर बजार परिसूचक नेप्से १२५५ विन्दुमा आएको छ । ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । होटेल बाहेक कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment