Comments Add Comment

मुख्यसचिव फेर्न प्रधानमन्त्रीमाथि दबाव, आईजीपी बन्न ३ डीआईजीको दौड

कार्यक्रमको प्रमुख वक्ता रोबोट, साक्षात्कार गर्न पाइने !

७ चैत, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले राजनीतिकदेखि आर्थिक, सामाजिकसम्मका विषयलाई  पहिलो पृष्ठमा महत्त्व दिएर छापेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले ७ अर्बको सामानमा भन्सार छलीलाई मुख्य समाचार बनाएको छ । निजी विद्यालयमा चर्को शुल्क प्रकरणमा सरकारी वकिलद्वारा फाइल फिर्ता भएको अर्को विषयले पनि अन्नपूर्णमा उत्तिकै ठाउँ पाएको छ । रोबोटले काठमाडौंमा आज आयोजना गर्न लागिएको एक कार्यक्रममा सम्बोधन गर्न लागेको खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमै समेटिएको छ ।

‘एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री’ शीर्षक दिएर मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले १५ वर्षीया किशोरीमामथि १३ दिनसम्म सामूहिक बलात्कार भएको, सुगम छाडेर चिकित्सकहरुले दुर्गम रोज्न थालेको लगायत समाचार लेखेको छ ।

नागरिक दैनिकले प्रधानमन्त्रीमाथि मुख्यसचिव फेर्न दबाब परेको समाचार छापेको छ भने राजधानीले तीन सातापछि रिक्त हुने नेपाल प्रहरीको आईजीपी बन्न डीआईजीहरुको दौड सुरु भएको जनाएको छ ।

को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?

नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा रहेको राजधानी दैनिकमा खबर छ ।

राजधानी दैनिक खबरको अगाडि लेख्छ– वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल, खनाल र कार्कीसँगै इन्स्पेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेको दाबी राजधानी दैनिकको छ ।

 

प्रधानमन्त्रीमाथि मुख्यसचिव फेर्न दबाव

पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा मुख्य सचिवमा नियुक्त भएका लोकदर्शन रेग्मीलाई पदमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाव परेको समाचार नागरिक दैनिकले छापेको छ ।

समाचार अनुसार, मुख्यसचिवको वरीयतामा पहिलो र दोस्रो प्रतिस्पर्धीलाई पाखा लगाएर तत्कालीन प्रधानमन्त्री पत्नी आरजू राणाको दबावमा गत कात्तिकमा मुख्यसचिव बनेका रेग्मीबाट वर्तमान सरकारलाई सहयोग नहुने भन्दै उनलाई परिवर्तन गर्न प्रधानमन्त्रीमाथि दबाव परेको हो ।

मन्त्रिपरिषद् स्रोतको हवाला दिँदै नागरिकले लेखेको छ– एमाले र माओवादी केन्द्रका नेताहरुले अब केही छाप छाड्न नसके दुईतिहाइको समर्थनमा सरकार बनाएको कुनै औचित्य नहुने भन्दै कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन गर्नुपर्ने विषयमा छलफल चलाइरहेका छन् । मुख्यसचिव रेग्मी प्रधानमन्त्रीभन्दा पनि विपक्षी दलका नेताप्रति बढी उत्तरदायी देखिएको आरोप लगाउँदै सत्तापक्षीय नेताहरु उनीमार्फत नीति निर्माण कार्यान्वयन गर्न नसकिने निष्कर्षमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की प्रभावशाली हुँदा उनीसँगै मिलेर कर्मचारी र नेताहरुलाई दुःख दिएको र गृह सचिव हुँदा शेरबहादुर देउवाको इगोका लागि नवराज सिलवाल प्रकरणमा मुख्य भूमिका खेलेको आरोप रेग्मीमाथि छ ।

७ अर्बको समानमा भन्सार छली

संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो ।

खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट बिनाभन्सार नेपाल आएको छ । भारतको वाणिज्य विभागमा अभिलेख भएको तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अन्तर निकाल्दा यस्तो पाइएको समाचारमा उल्लेख छ । नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो ।

सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगस्टदेखि डिसेम्बरसम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ ।

भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ । यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ ।

ईयूले भन्यो– निर्वाचन आयोग अपारदर्शी भयो


युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा निर्वाचन आयोग अपारदर्शी भएको निष्कर्ष सार्वजनिक गरेको छ ।

ईयूले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगले पारदर्शी काम नगरेको निष्कर्ष निकालेको खबर आजको राजधानी दैनिक र नेपाल समाचारपत्रमा छ ।

झण्डै पाँच महिना लामो समय लगाएर तयार गरिएको प्रतिवेदनमा युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसन (ईयू) ले निर्वाचन सम्पन्न भइसक्दासमेत आयोगले मतदान केन्द्रका मतदाता र बदर मत आँकडा सार्वजनिक नगरेको भन्दै पारदर्शिता कायम गर्न नसकेको आरोप लगाएको हो ।

एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री

अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक खर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट तयार पार्न लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचार अनुसार आर्थिक वर्ष सकिन चार महिनाभन्दा कम समय रहेको अवस्थामा प्रदेशहरुले संघीय बजेटबाट छुटु्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर बजेट बनाउँदै छन् । अर्थ मन्त्रालयका अनुसार प्रदेशहरुले चैत मसान्तसम्म संसदमा पेश गर्ने योजनासहित सबै प्रदेशमा चालू आवको बजेट बनाउने काम सुरु भइसकेको छ ।

कार्यक्रमको प्रमुख वक्ता रोबोट, साक्षात्कार गर्न पाइने


औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ । तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ । साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुने ‘टेक्नोलोजी फर पब्लिक सर्भिसेस–डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार राति नेपाल आएकी छन् ।

सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको यूएनडीपीकी सञ्चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन् ।

स्थानीय तहदेखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने यो सम्मेलनमा नगरपालिकाका मेयरसहित प्रदेश, केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहने समाचारमा उल्लेख छ ।

हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको रोबोट सोफियालाई साउदी अरेबियाले गत वर्षको अक्टोबरमा नागरिकता प्रदान गरेको थियो । त्यसैगरी, नोभेम्बरमा सोफियालाई यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो । राष्ट्रसंघको उपाधि दिएको सोफिया नै पहिलो गैरमानव हुन् ।

साढे दुई वर्षको यो रोबोटले मानिसको स्वर र अनुहारलाई पहिचान गर्ने प्रविधि प्रयोग गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मार्फत कार्यक्रममा सहभागी व्यक्तित्वसँग अन्तरसंवाद गर्नेछ ।

सोफियालाई पहिलो पटक सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो । सोफियाले अक्टोबरमा संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदसँग पहिलोपटक छोटो संवाद गरेकी थिइन् ।

चितामा हालिसकेको शव प्रहरी नियन्त्रणमा

जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् ।

रौतहटको कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको नयाँ पत्रिका दैनिकमा खबर छ । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो ।

स्थानीयले श्रीमानको कुटाइबाट मृत्यु भएकी महिलाको हतारहतार अन्त्येष्टि हुन लागेको सूचना दिएपछि प्रहरी घाट पुगेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

घटनामा संलग्न भएको आशंकामा मृतकका भाइ कटहरिया–५ का भन्टु साह, भान्जा रामबालक साह र रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकका आफन्तले घटना लुकाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ । श्रीमान् विजय साह भने फरार छन् ।

सुगम छाडेर दुर्गम रोज्दै डाक्टर

दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार, लोकसेवा पास गरेर आउने मेडिकल अधिकृत (आठौँ तह) ले दुर्गममा पोस्टिङ माग्न थालेपछि सुगमका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी अपूरो भएको छ । भर्खरै लोकसेवाबाट मेडिकल अधिकृतमा पास भएर आएका १०२ डाक्टरले दुर्गममा मात्रै पोस्टिङ माग्दा स्वास्थ्य मन्त्रालयलाई दरबन्दी मिलानमा हम्मेहम्मे परेको थियो । अन्तिममा मेरिट लिस्टका आधारमा पोस्टिङ गरिएको छ ।

चिकित्सकहरू सुगममा केन्द्रित हुँदा दुर्गमका नागरिकले स्वास्थ्य उपचार नपाएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन परिमार्जन गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुर्गमका जनताको सेवामा चिकित्सक खटाउने प्रबन्ध मिलाउन डा. पदमबहादुर चन्दको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरेका थिए । थापाले कमिटीको प्रतिवेदनका आधारमा नीति परिमार्जन गरेका थिए । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरू दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन् ।

र, यो पनि– जंक फुड रोक्न विद्यालयमा भान्सा !

जंक फुड स्वास्थ्यका लागि फाइदाकर छैन । तैपनि यसको प्रयोग बढ्दै गएको छ । दोलखाको भीमेश्वर नगरपालिका–मकैबारीमा रहेको हरिकीर्तन आधारभूत विद्यालयले भने जंक फुड रोक्न विद्यालयमै भान्सा सञ्चालन गरेको छ ।

नागरिक दैनिकका अनुसार, विद्यालयमै पुगेर अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् । अभिभावकले पालैपालो खाता तयार पार्छन् ।

बालबालिकालाई जंक फुडको लत लागेपछि विद्यालयको पहलमा अभिभावकले प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ उठाएर भान्सा चलाएका हुन् । १ देखि ७ कक्षासम्म पढाइ हुने यो विद्यालयमा एक सय विद्यार्थी छन् । तीमध्ये ५५ जना दलित समूदायका छन् । शिक्षक कृष्ण मग्रातीका अनुसार विद्यार्थी जंक फुडको लतमा फसेपछि अभिभाकको भेलाबाट निर्णय गराएर फागुन १४ देखि भान्सा चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment