Comments Add Comment

प्रहरीको मेसमा पुगेर गृहमन्त्रीले सोधे– खाना पाइन्छ ?

७ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को बुधबार ‘छापामार शैली’मा प्रहरीको मेसमा पुगेर खाना खाएका छन् ।

गृहमन्त्री बादलले बिहान नख्खु कारागार भ्रमण गर्ने कार्य तालिका थियो । कारागारसँगै उनले जावालखेल प्रहरी वृत्त र पुल्चोक प्रहरी प्रभागको निरीक्षणमा पुगे । फर्किंदा साढे १० भइसकेको थियो ।

मन्त्रालयमा ११ बजेलाई एउटा छलफल कार्यक्रम बोलाइएको थियो । जब गाडी सिंहदरबार नजिक आइपुग्यो, गृहमन्त्रीले घडी हेरे र भने, ‘अझै आधा घण्टा समय बाँकी रहेछ । के गर्ने होला ?’

गाडीमा रहेका सचिवालयका सदस्य मुखामुख गर्न थाले । बादलले भने महानगरीय प्रहरी वृत्त, अनामनगरतर्फ गाडी लान अर्‍हाए । पूर्वसूचना विना गृहमन्त्री आएपछि प्रहरी पनि झस्किए ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिल बोहोराले बृत्तबारे गृहमन्त्रीलाई बिफ्रिङ गरे । उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए ।

उनले बादललाई प्रहरीको मेसमा पनि लगे । जहाँ प्रहरी हवल्दार कृष्णप्रसाद ओली, खड्क बहादुर थापा, प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्री आएपछि उनीहरु हतारहतार उठे ।

तर, थापाले बसेर खाना खान आग्रह गरे । लगतै गृहमन्त्रीले सँगै रहेका डिएसपी बाहोरालाई ‘हामीलाई पनि खाना पुग्छ’ भनेर सोधे ।

सुरुमा त उनी अलमलिए । तर, गृहमन्त्रीले सोधेपछि उनले ‘पुगिहाल्छ नि’ भन्ने जवाफ दिए ।

गृहमन्त्री बादलले प्रहरी जवानसँगै बसेर खाना खाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment