Comments Add Comment

मिडियासामु सेलिब्रेटीः कहिले झुक्ने कहिले लुक्ने ?

सेलिब्रेटीहरु संस्थागत हुन नसक्दाको 'साइड इफेक्ट'

फिल्म प्रदर्शनअघि र प्रदर्शनपछि नेपाली फिल्ममेकर्सको प्रवृत्ति एक सय ८० डिग्रीमा बद्लिन्छ । प्रदर्शनअघि उनीहरू तीस डिग्रीमा निहुरिएर प्रस्तुत हुन्छन् । प्रदर्शनपछि पिँठ्यु फर्काएर बस्छन् ।

काम परेको बेला हदैसम्म लचिलो हुने, निहुरिने । अन्य दिनमा बनिबनाउ दुरी तय गर्ने । ठ्याक्कै यस्तै छ, नेपाली सेलिब्रेटीको प्रवृत्ति पनि ।

जब आम व्यक्तिको पुच्छरमा ‘सेलिब्रेटी’को विशेषण झुन्ड्याइन्छ, उनीहरु ‘व्यक्ति’ मात्र रहँदैनन् । संस्था बन्छन् । तर, हाम्रा सेलिब्रेटीहरु ‘संस्थागत’ हुन सकिरहेका छैनन् ।

सेलिब्रेटी जब सेलिब्रेटी जस्तो हुन सक्दैनन्, त्यसले उनीहरुको करियर/छवीमा भाँजो हाल्छ । सेलिब्रेटीको प्रवृत्ति त्यो होइन, जसलाई हदैसम्म निहुरिएर कुनै विन्ती बिसाउन परोस् । सेलिब्रेटीको प्रवृत्ति त्यो होइन, जसलाई आफ्नो स्पष्टिकरणका लागि धुइपतालसँग मिडियाको ढोका चाहर्न परोस् ।

सेलिब्रेटीले आफ्नो स्थान र दुरीलाई सन्तुलित राख्न नसक्दाको ‘साइड इफेक्ट’ हुन् यी । अन्याथा उनीहरुले न खुम्चिनुपर्छ, न निहुरिनुपर्छ  । कसैलाई साष्टङ्ग दण्डवत् ठोकिरहनुपर्दैन । कसैलाई विन्दी बिसाइरहनुपर्दैन ।

प्रसंग कतिपय

केही समयअघि, आफ्नो बोली चिप्लिएर बिवादको चंगुलमा फसे, एक सेलिब्रेटी । सामाजिक सञ्जालमा उनको खेदो खनियो । सुन्न/हेर्ने नसकिने गाली बर्षाइयो । आखिरमा ति सेलिब्रेटी मिडियाको ढोका चाहर्दै हारगुहार माग्न थाले ।

उनै सेलिब्रेटी हुन्, जसलाई भेट्नका लागि आज ‘म्यानेजर’सँग अपोइन्टमेन्ट लिनुपर्छ । यहाँसम्म त ठिकै छ । तर, म्यानेजरले बारम्बार एउटै वाक्य दोहोर्‍याउँछ, ‘उहाँ मिटिङमा हुनुहुन्छ ।’

नेपालकै एक होनहार अभिनेतालाई भेट्नका लागि पनि त्यस्तै पर्खाल छिचोल्नुपर्छ । ती अभिनेताका ‘म्यानेजर’ले अभिनेतासँग सोझो संवाद गराउन एकदमै कन्जुस्याइँ गर्छन् । र, डिप्लोम्याटिक हुन खोज्दै हतारिएको आवाजमा भन्छन्, ‘ए, ल..ल भइहाल्छ । म दाइसँग हजुरको कुरा राखिदिन्छु ।’

कुनै जमानाकी चल्तापूर्जा अभिनेत्री, जो सहजै सम्पर्कमा आउन हिचकिचाउँथे । उनको भनाइ र लवजबाट बुझ्न सकिन्थ्यो, ‘म सहजै उपलब्ध हुने हल्काफुल्का, सस्तो सेलिब्रेटी होइन ।’ जति पटक सम्पर्क गर्दा पनि उनकी ‘म्यानेजर’बाट उस्तै लयमा आवाज आउथ्यो, ‘दिदी बिजी हुनुहुन्छ, पछि कुरा गर्न लगाउँछु है ।’

तर, तिनै अभिनेत्री हस्याङफस्याङ गर्दै मिडियाको ढोका ढकढकाउन पुगिन् । त्यो बेला उनी रुखो, अल्पभाषी लाग्थिन् । यो बेला उनी विनयी, विनम्र र मिजासिली देखिन्थिन् । किनभने उनलाई मिडिया प्रयोग गरेर आफ्नो अभिष्ट जो पूरा गर्नु थियो ।

एक चर्चित गायक मिडियासँग सम्बन्ध-विच्छेद गरेझै बसेका थिए । पछि उनी फिल्मका हिरो बने । फिल्म हलमा लगाउनुअघि उनी सम्मिलित टिमले ‘डिनर पार्टी’को आयोजना गरे । आमन्त्रणमा उनीहरुले यत्ति मात्र भने, ‘यसो भेटघाट हो, अन्याथा नलिनु होला ।’

जब आम व्यक्तिको पुच्छरमा ‘सेलिब्रेटी’को विशेषण झुन्ड्याइन्छ, उनीहरु ‘व्यक्ति’ मात्र रहँदैनन् । संस्था बन्छन् । तर, हाम्रा सेलिब्रेटीहरु ‘संस्थागत’ हुन सकिरहेका छैनन् ।

हिजोको दिनमा सन्तुलित सम्बन्ध राख्न सकेका भए, ‘अन्याथा नलिनुहोला’ भन्दै आफुलाई ओह्राल्न पर्ने थिएन ।

अर्को प्रसंग, एक अभिनेत्रीले फिल्म बनाइन् । फिल्म चलाउनका लागि अनेक फन्डा गरिन् । समाजसेवाको ढोंग पिटिन् । फिल्म सुपर फ्लप भयो । उनी नराम्रोसँग बिच्किइन् । र, सामाजिक सञ्जालमा अरुमाथि दोष थोपरेर आक्रोस पोखिन् । अब भोलिका दिनमा उनलाई अगाडि बढ्नका लागि हिजोको दिनमा ओकलेको त्यही तिखो बचनले बाटो छेक्दैन र ?

हालै मात्र एक अभिनेत्रीलाई आफैले बोलेको कुरा सच्याउन गाह्रो भयो । विगतमा बोलेका कुरा र वर्तमानमा गरेको व्यवहारवीच तालमेल नमिलेपछि उनलाई र्‍याखर्‍याखती पारियो । यस्तो अवस्थामा उनले संयमित जवाफ दिएर उम्नक सक्थिन् । तर, संयम गुमाइन् । र, प्रश्नकर्ताको प्रश्नलाई ‘सिल्ली प्रश्न’ भनेर आगोमा घिउ थपिन् । अहिले युट्युवमा त्यही निहुँ बनाएर उनको धज्जी उडाइएको छ ।

संस्थागत हुन नसकेका सेलिब्रेटी

सेलिब्रेटीको अर्थ हो, सबैले चिन्ने । सबैको नजरमा परेको । चर्चित । लोकप्रिय ।

यो भनेको आम व्यक्तिबाट एक तह माथि उठ्नु हो । जब कोही माथि उठ्छन्, सबैको दृष्टि उनीमाथि पर्छ । त्यो तहमा उक्लिसकेपछि उसले आफुलाई संस्थागत गर्नैपर्छ । के गर्ने, के नगर्ने, के बोल्ने, कति बोल्ने, कसरी पेश हुने, कहाँ जाने, कहाँ नजाने भन्ने कुराको हेक्का राख्नुपर्छ । त्यो गर्न सकेन भने उनले टेकेको तहमा क्षयिकरण हुन्छ । उनी चिप्लिन्छन् । लड्छन् । र, फेरी उठ्नका लागि उनले छुटै धरातल टेक्नुपर्ने हुन्छ ।

तर, हाम्रा सेलिब्रेटीले त्यो उचाइ तय गरिसकेपछि संयम गुमाउँछन् । उनीहरु नगर्ने व्यवहार गर्छन्, नबोल्ने भाषा बोल्छन् । अतः आफैले बिगारेको कुरा सच्याउनका लागि उनीहरु हदैसम्म निहुरिन्छन् ।

हुन त सेलिब्रेटी अर्को ग्रहका एलियन होइनन् । यही समाजको उत्पादन हुन् । आम मानिस नै हुन् । उनीहरुभित्र पनि त्यही मन हुन्छ, त्यही भावना हुन्छ, त्यही उथलपुथल हुन्छ, जो सामान्य मानिसलाई हुन्छ । आवेग आउन सक्छ, आक्रोस आउन सक्छ । तर, यस्तो अवस्थामा कसरी आफ्नो संयम नगुमाउने भन्ने कुरामा भने उनीहरुले ख्याल राख्नैपर्छ । यसका लागि उनीहरुले आफुलाई व्यवस्थित र संस्थागत गर्नैपर्छ ।

हाम्रा सेलिब्रेटीले त्यो उचाइ तय गरिसकेपछि संयम गुमाउँछन् । उनीहरु नगर्ने व्यवहार गर्छन्, नबोल्ने भाषा बोल्छन् । अतः आफैले बिगारेको कुरा सच्याउनका लागि उनीहरु हदैसम्म निहुरिन्छन् ।

हामीकहाँ सीमित सेलिब्रेटीले व्यक्तिगत सहयोगी राखेका छन् । कतिले त्यसलाई पिए भन्छन्, कतिले म्यानेजर । सबैसँग यस्ता सहयोगी राख्ने अवस्था पनि नहोला । त्यस हिसाबले अन्य मुलुकका सेलिब्रेटी जस्तै व्यवस्थित हुनुपर्छ भनेर हामीले तर्क गर्नु र अपेक्षा राख्नु त्यती जायज नहोला ।

यद्यपी सकेसम्म त उनीहरुले आफुलाई व्यवस्थित गर्नुपर्छ । जिम्मेवार-वोध गर्नुपर्छ । जवाफदेही हुनुपर्छ । आम व्यक्तिभन्दा तल झरेर गैर-जिम्मेवार बन्नु उनीहरुकै करियरको लागि अफाप हुन्छ ।

संस्थागत हुन नसक्दाको साइड इफेक्ट

सेलिब्रेटीले आफुलाई संस्थागत गर्न नसक्नुको साइड इफेक्ट के भने, उनीहरुलाई के गर्ने/के नगर्ने, कहाँ जाने/कहाँ नजाने, कसलाई भेट्ने/कसलाई नभेट्ने, के बोल्ने/के नबोल्ने, कसरी पेश हुने/कसरी नहुने भन्ने कुरा थाहा हुँदैन । त्यसले अन्ततः उनीहरुकै कद ‘बामपुड्को’ बनाइदिन्छ ।

संभवत हाम्रा सेलिब्रेटीहरुको संचार-सम्पर्क सूत्र कमजोर छ । उनीहरु मिडियासँग समानन्तर र सन्तलित सम्बन्ध पनि स्थापित गर्न सकदैनन् । त्यसको नतिजा के भने, उनीहरुले बोल्न नचाहेका, खोल्न नचाहेका कुरा पनि छ्यापछ्याप्ती ‘भाइरल’ भइदिन्छ । एउटा प्रसंगमा बोलेको कुरालाई अर्कै आशयले पेश गरिन्छ । अहिले युट्युवमा हेर्ने हो भने, त्यस्ता सैयौं सामाग्री भेटिन्छन्, जहाँ गलत तरिकाले सेलिब्रेटीलाई पेश गरिएको छ । यसले उनीहरुको संचार-संयोजन कति फितलो छ भन्ने कुरा देखाउँछ ।

सेलिब्रेटीलाई बेलाबखत मिडियासामु पेश हुनुपर्ने हुन्छ । तर, कुन मिडिया विश्वसनिय र जवाफदेही हो भन्ने कुराको उनीहरुले छेउटुप्पो भेउ पाउँदैनन् । संचार-संयोजकले क्यामेरा र बुमको मेला लगाइदिन्छन् । सेलिब्रेटीहरु मख्ख परेर तिनै सामु आफ्नो कुरा राख्छन् । भोलि युट्युव र अनेक माध्याममा आफुले बोल्न खोजेको आशयभन्दा भिन्नै कुरा बटारिएर, बांगिएर, टुक्रिएर आउँछ । त्यसले सेलिब्रेटीको पारो नतात्ने कुरै भएन । उनीहरु फेरि सार्वजनिक स्थानमै वेपत्तासँग रिसाइदिन्छन् । पुन उसैगरी त्यो उनको भाव-आवेगको कुरा पनि ‘भाइरल’ बन्छ । किन यस्तो हुन्छ ?

किनभने, सेलिब्रेटीलाई मिडियाको बारेमा पनि खास ज्ञान छैन । उनीहरुले आफ्नो कुरालाई सही, सन्तुलित, संयमित ढंगले पेश गर्ने मिडिया चिन्दैनन् । साउन्ड बुम र क्यामेरा बोक्नेहरु सबै जिम्मेवार र जवाफदेही संचारमाध्यामका पत्रकार होइनन् भन्ने सामान्य हेक्का उनीहरुलाई छैन ।

केही समयअघि चर्चित अभिनेता दयाहाङ राईको अघिल्तिर बुम र क्यामेरा तेर्साएर भनिएछ, ‘एक पटक एक्टिङ गरेर देखाइदिनु न ।’

भिन्न प्रयोजनका लागि भिन्नै मनस्थिती बनाएर बसेका अभिनेताले अब के एक्टिङ गरेर देखाउने ? कुनै जिम्मेवार मिडियाकर्मीले यति नाजायज प्रश्न सोध्छ ?

एक्टिङ गरौं, त्यो संभव छैन । नगरौं, नानाथरी दोष लगाएर युट्युवमा राखिदिने भय ।

एकपटक गायक उदय सोताङ पनि यस्तै फन्दामा परेछन् । उनलाई ‘अन द स्पट’ ‘गीत गाइदिनु’ भनेछन् । गायक सोताङले ‘अन द स्पट’ समाचार तयार गरेर पेश गर्नका लागि चुनौती दिएछन् ।

यस्तो किनपनि हुन्छ भने, जो-कसैलाई मिडिया ठानेर त्यस्ताका घेराबन्दीमा पर्दा । किनभने संस्थागत रुपमा उभिएको मिडिया, जो राज्य नियन्त्रित र जवाफदेही हुन्छ, त्यसलाई सेलिब्रेटीले पहिचान गर्न सकेका छैनन् । त्यसैले उनीहरुको विषयमा भ्रमक र गैर-जिम्मेवारपूर्ण सामाग्रीहरु पेश गरिएका छन् ।

यदि सेलिब्रेटीहरु संस्थागत हुँदो हो त, उनीहरुले त्यही मिडियासँग आफ्नो पहुँच स्थापित गर्थे, जो जवाफदेही छन् । जो जिम्मेवार छन् । जो राज्य नियन्त्रित छन् ।

सेलिब्रेटीले आफ्नो स्थान र दुरी कायम राख्नका लागि संस्थागत संयन्त्र बनाउन आवश्यक हुन्छ । त्यसो भएमा उनीहरुले अतिरिक्त तनाव झेल्नुपर्दैन । उनीहरुले कहिले निहुरिने र कहिले पिठ्युँ फर्काउनुपर्ने अवस्था पनि आउँदैन । आफ्नो गरिमामय स्थानलाई कायम राख्न सक्छन् । र, सेलिब्रेटी जस्तै हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment