Comments Add Comment

प्रचण्डले भने – एउटा वुद्धिजीविलाई नेतृत्वमा पुर्‍याएको थिएँ, झण्डै बौलाउनुभयो

फाइल फोटो

७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायकै व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन भए पनि सफल नभएको बताएका छन् ।

५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको कार्यक्रममा उनले जनयुद्धका बेला दलितलाई जनसरकार प्रमुख बनाएजस्तै सिंहदरबारको पनि प्रमुख बनाउने मन भए पनि वाध्यतावश सम्झौता गर्नुपरेको बताएका हुन् ।

‘मेरो इच्छा भन्नुहुन्छ भने मलाई सम्झौता गर्न मनै थिएन । पुरै दलितलाई शासक बनाएर काठमाडौंमा ल्याएर राख्न मन थियो’ प्रचण्डले भने ‘जसरी जनयुद्धमा गाउँगाउँमा आधार इलाका र जनसत्तामा दलितलाई प्रमुख बनाउँदा गर्व गथ्र्याैं । सिंहदरबारमा ल्याएर दलितलाई नै राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा थियो ।’

तर यसो गर्दा प्राप्त उपलब्धी पनि गुम्ने खतरा देखेपछि सम्झौता गरेको प्रचण्डले जिकिर गरे । ‘तर यसरी लागेको लाग्यैं गर्दा सबै सिद्धिने खतरा देखेँ । विद्रोह र क्रान्ति नराम्रोसँग पतन हुने खतरा देखेँ’ उनले भने ।

प्रचण्डले श्रीलंका, पेरु, बर्मा र ल्याटिन अमेरिकी देशको प्रसंग झिक्दै क्रान्तिको उपलब्धी सबै गुम्ने र क्रान्ति नै पतन हुने स्थिति आउन नदिन सम्झौता गरेको बताए ।

‘ल्याटिन अमेरिका हेरे पनि हुन्छ, अफ्रिकामा हेरे पनि हुन्छ, समाजवादी सत्ताहरु कसरी पतन भए ? बलिदानै नगरी पुँजीपतिले खोसिदिए’ प्रचण्डले भने ‘मुक्तिको लडाई लड्दै गर्दा हामीले देखेका कयौं देशमा न कम्युनिष्ट पार्टी, न क्रान्ति न बलिदान, सबै जिरोमा गयो ।’

प्रचण्डले आफूले उपलब्धी जोगाउन क्रान्तिलाई सम्झौतामा टुंग्याएको दावी गर्दै पार्टीभित्रकै वुद्धिजीविहरुले बुझ्न नसकेको आरोप लगाए । ‘तर मैले के देख्छु भने ठूला ठूला वुद्धिजीवि भन्ने साथीहरु यो सानो कुरा बुझ्न सक्दैनन् ।’

‘धेरै पढ्यो भने धेरै नबुझ्ने हुन्छन्’

प्रचण्डले धेरै पढ्यो भने धेरै नबुझ्ने हुने बताए । ‘लेनिनले असाध्यै धेरै भन्नुहुन्थ्यो, बुद्धजीविमा पाइने अहंकार, वुद्धिजीविमा पाइने अराजकता र आत्मकेन्द्रित व्यक्तिवादले आन्दोलनलाई बर्बाद पारिदिएको छ’ उनले भने ‘हाम्रो पार्टीमा पनि बल्ल बल्ल धेरै दुख गरेर एउटा वुद्धिजीविलाई नेतृत्वमा पुर्‍याएको थिएँ, उहाँले धेरै पढ्नुभयो र झण्डै झण्डै बौलाउनुभयो । अरु पनि को को बुद्धिजीविहरु बौलाउँदै जाने हो ?’

प्रचण्डले सुन्दाखेरि क्रान्तिकारी सुनिने तर साम्राज्यवादीलाई सहयोग हुने खालका गतिविधि दलित वुद्धिजीविहरुबाटै भएको आरोप लगाए । ‘हाम्रो भनाइ क्रान्तिकारी सुनिने, फाइदा साम्राज्यवादीले उठाउने नहोस्. । हाम्रै दलित समुदायले फाइदा उठाउने खालको हुनुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment