Comments Add Comment

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई टिप्स : पीआर लिने कि पढेर नेपाल फर्कने ?

नेपाली किशोर किशोरीहरु अष्ट्रेलियामा अध्ययनका लागि आउने सपना बुनिरहेका हुन्छन् । तर, ती स्वप्नद्रष्टाहरुले ख्याल गर्नुपर्ने विषय के हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था के छ, यहाँको सरकारको नीति कस्तो छ अनि कलेज पढ्न आउँदा ख्याल गर्नुपर्ने प्राविधिक पक्षहरु के–कस्ता छन् ?

यो छोटो लेखमा यिनै प्रश्नहरुमाथि सामान्य चर्चा गर्ने प्रयास गरिएको छ । र, यहाँ अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीले ख्याल गर्नुपर्ने पाँचवटा टिप्सहरु पनि दिइएको छ ।

नेपालीहरुको सकारात्मक छवि

मेलबर्नस्थित आरएमआईटी विश्वविद्यालयका पूर्वनायव उपकुलपतिले नेपाली विद्यार्थीहरुले अष्ट्रेलियामा राम्रो प्रतिष्ठा कमाएको बताएका छन् । उनको यो भनाइसँग धेरै अष्ट्रेलियनहरु सहमत छन् ।

नेपालीहरुमाथि अष्ट्रेलियनको विश्वास भारतीयहरु भन्दामाथि देखिएको छ । तथ्यांकहरुले के देखाउँछन् भने यहाँ नेपालीहरुको आय दर र रोजगारीको स्तर भारतीय र चिनियाँ समुदायकोभन्दा राम्रो छ । अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरुलाई केही समय अघिसम्म भारतीय नागरिकभन्दा माथिल्लो श्रेणीमा राखेर भिसाका निवेदनहरु केलाउँथ्यो ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आगमनको अवस्था

त्यसो त यतिबेला अष्ट्रेलियामा घर किन्ने आप्रवासी समुदायमा पनि नेपालीहरु नै अगाडि छन् ।

बढ्दैछ विकृति

अष्ट्रेलियामा नेपालीहरुको छवि राम्रो भएता पनि यी सबै सफलताको अर्थ भविष्यमा यहीरुपमा मापन नहुने संकेत पनि देखिँदैछन् । नेपालीहरुको संख्या बढेसँगै समुदायभित्र नकारात्मक गतिविधिहरु पनि बढ्दै गएका छन् । यो चाहिँ नेपालीमाथिको चुनौती हो ।

यहाँ रहेका युवायुवतीहरु कुलतमा लाग्ने क्रम बढ्दो छ । पहिलाभन्दा अहिले कम उमेरका विद्यार्थीहरु कलेज पढ्न आउने क्रम भएकाले त्यस्ता कम उमेरका विद्यार्थीहरुले आफूलाई नयाँ परिवेशमा सम्हालेर लान समस्या झेलिरहेका छन् ।

एकजना नेपाली मित्र, जो २० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । उनी भन्छन्– नेपाली विद्यार्थीहरुमा आपसी ग्याङ्फाइट बढ्न थालेको छ । केटाकेटीको सम्बन्धलाई लिएर हुने विवाहमा प्रहरीले हस्तक्षेप गर्नेसम्मका गतिविधि भइरहेका छन् ।

पछिल्लो समयमा पीआरको मापदण्ड निकै कडा बनाउँदै लगेको र नेपालीलगायत विश्वका अन्य देशबाट अष्ट्रेलिया आउने क्रम बढिरहेकाले अष्ट्रेलियामा पीआर पाउने उद्देश्य भए पनि अब आउने दिनमा पहिलाभन्दा झन् कठिन हुँदै जाने देखिन्छ ।

फेरि कतिपय विषयहरुमा पीआर पाएर पनि बेरोजगारी बढ्दै गएकाले सरकारले स्वाभाविक रुपमा त्यस्ता विषयहरुमा पीआरको मापदण्ड बढाउन थालेको देखिन्छ ।

लहैलहैमा अष्ट्रेलिया आउँदा संकट

अध्ययनका लागि अष्ट्रेलियाका बिभिन्न राज्य र शहरहरुमा रहेका नेपालीहरुको तथ्यांक

नेपालबाट आउने बेलामा अष्ट्रेलिया उड्न पाए पुग्छ, अरु सबै कुरा यहीँ आएर व्यवस्थापन हुन्छ भन्ने मनस्थितिले पनि धेरै विद्यार्थीहरु अपूर्ण जानकारी र कमजोर योजनाका साथ अष्ट्रेलिया आउने गर्छन् ।

र, अष्ट्रेलिया आउनेवित्तिकै उनीहरुले धेरै कठिनाइहरु एकैपटक झेल्ने अवस्था आउने गरेको छ । सिडनी सम्झेर आउनेहरू २०० कि.मी. टाढाको उल्लङगङगमा पुग्दा रोजगारीको सम्भावनाबाट बञ्चित भई आर्थिक संकटमा परेका उदाहरण धेरै देखिएका छन् ।

राम्रो विश्वविद्यालय भनेर कम गुणस्तरका विश्वविद्यालय र कलेज पुगेका उदाहरण पनि छन् कतिपय नेपालीहरु ।

अधिकांश नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा विश्वविद्यालयको वर्गीकरण र प्रोफाइलका बारेमा थाहा छैन । सिड्नीमा पढ्दैमा यहाँ भएका ८ वटा विश्वविद्यालयका एउटै हैसियत छैनन् । धेरै विद्यार्थीहरु अष्ट्रेलिया बस्ने हुँदा कस्तो विश्वविद्यालयमा पढें भन्ने कुराले यहाँ निकै महत्व राख्छ ।

कतिपय विद्यार्थीहरु पढाइ सकेर नेपाल फर्कने उद्देश्यले अष्ट्रेलिया आएको पाइन्छ । तर, यहाँ आएपछि प्रायः सबैको अष्ट्रेलियामै बस्ने धारणा बन्दोरहेछ ।

‘म आफ्नो प्यासनका कारण जिओग्राफी पढ्न अष्ट्रेलिया आएँ । नेपाल फर्केर काम गर्न मलाई त्यो डिग्रीले काम गर्छ भन्ने लागेको थियो । तर, यहाँ आएपछि पीआर लिने र यहीँ बस्ने इच्छा भयो,’ ती नेपाली भन्छन्, ‘यहाँ पढ्दै गरेको कोर्षले पीआर नपाउने भएकाले अहिले कोर्ष परिवर्तन गरें ।’

उनको यो भनाइले विद्यार्थीहरु स्पष्ट योजना नबनाइ र चुरो कुरो थाहा नपाई अष्ट्रेलिया आउँदा समय र मेहनत खेर गएको अवस्थालाई दर्शाउँछ ।

डा. हेमन्त ओझा

काम गर्दै पैसा कमाउँदै पढ्नुपर्ने बाध्यताले नेपाली विद्यार्थीहरुमा पढाइ अनुसारको रोजगारी नपाउने अवस्था सिर्जना हुँदैछ ।

एक नेपाली प्रोफेसर भन्छन्, ‘नेपाली विद्यार्थीहरु काममा बढी नै लाग्ने हुँदा पढाइ–लेखाइ अति नै ‘कम्प्रोमाइज्ड’ हुने र प्रोफेसनल जागिरमा जाने प्रतिस्पर्धी क्षमताको विकास हुन नसक्ने अवस्था सिर्जना हुँदैछ ।’

हुन पनि अधिकांश युवाहरु माझ पढाइ एउटा, काम अर्को गरेर बस्नुपर्ने बाध्यता छ ।

त्यसो त अष्ट्रेलियाको न्यूनतम तलबमान संसारकै उच्च भएकाले यहाँ कमस्तरको काम गरेर पनि आफ्नो जीवननिर्वाह गर्न गाह्रो छैन । तर लामो समय दु:ख गरेर पढ्ने अनि पढाई अनुसारको काम नपाउनु यही नमज्जाको कुरो हो ।

विद्यार्थी भिसापछि टेम्पोरेरी भिसा पाउने प्रावधानले भने विद्यार्थीहरुलाई निकै सजिलो बनाएको छ ।

तर, बस्न चाहने मध्येका जोसँग पीआर हुने विषयको डिग्री छैन, उनीहरुलाई भने निकै समस्या परेको देखिन्छ । लामो समय विद्यार्थीका रुपमा काम गर्नुपर्ने र फी तिरिरहनु पर्नेको विकल्प उनीहरुसँग हुन्न ।

नेपाली विद्यार्थीले ध्यान दिनुपर्ने ५ टिप्स

अहिलेको परिस्थितिमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुअघि निम्न कुराहरुमा गम्भीररुपमा ध्यान पुर्‍याउनु जरुरी देखिन्छः

१. अष्ट्रेलिया आउनुको उद्देश्यमा प्रष्ट हुन आवश्यक छ । यदि पढाइ सकेर यतै बस्ने उद्देश्य हो भने त्यही अनुसारको विषय, डिग्री र स्थान रोज्नुपर्छ । त्यो स्थितिमा पीआरलाई केन्द्रमा राखेर अध्ययनको योजना बनाउनुपर्छ ।

२. अष्ट्रेलिया बसाइँ सर्ने उद्देश्य नभई राम्रो शैक्षिक डिग्री लिएर नेपाल फर्कने उद्देश्य हो भने नेपालमा स्कोप भएको विषयलाई ध्यान दिनुपर्छ ।

३. विश्वविद्यालय छान्दा ‘वर्ल्ड र्‍याङ्किङ’ वा ‘टाइम हाइअर एजुकेशन र्‍याङ्किङ’ नहेरी माथिल्लो स्तर भएकालाई सकेसम्म प्राथमिकता दिनुपर्छ । हुन त समग्र विश्वविद्यालयको स्तर र आफूले चाहेको खास शैक्षिक कार्यक्रमको स्तर फरक पर्न सक्छ । तापनि समग्र विश्वविद्यालयको स्तर नबुझी कार्यक्रमका बारेमा निर्णय लिनु राम्रो हुन्न ।

४. कस्तो शहरमा जाने भन्ने बारेमा पनि प्रष्ट हुनुपर्छ । सिड्नी र मेलवर्नका वाटर फ्रन्ट र ठूला संरचना भएका फोटो हेरेर पछि अध्ययन गर्ने बेलामा सानो गाउँले बस्तीमा भएको क्याम्पसमा पुगियो भने बिल्कुल अनपेक्षित अवस्था आउँछ र समस्या हुन्छ ।

५. शैक्षिक परामर्श लिँदा आफ्नो उद्देश्य र परिवेशलाई प्रष्ट राख्नुपर्छ । हुन त अष्ट्रेलिया सरकारले विद्यार्थीहरुलाई स्वतन्त्ररुपले युनिभर्सिटी भर्ना हुन उत्प्रेरित गरेको छ । तथापि एजेन्टहरुले सल्लाह दिन सक्छन् । तर, सल्लाह लिने क्रममा आफू प्रष्ट भएन भने सल्लाह गलत हुन सक्छ । यसो भएर दुःख पाइरहेका विद्यार्थीहरु पनि प्रशस्त भेटिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment