Comments Add Comment

२३ अर्ब दान गरेका व्यापारी, जो सेकेन्ड ह्यान्ड कपडा लगाउँथे

ख्यातिप्राप्त बहुराष्ट्रिय कम्पनी आइकियाका संस्थापक इन्ग्भार कम्पार्डको ९१ वर्षको उमेरमा निधन भयो । कम्पनीका अनुसार स्वीडेनस्थित निवासमा उनको गत शनिबार निधन भएको हो ।

फर्निचर तथा घरायशी सामान उत्पादन गर्ने आइकियाका दर्जनौं देशमा सयौं स्टोरहरु छन् । यो संसारकै सबैभन्दा ठूलो फर्निचर विक्रेता हो । एउटा वक्तव्यमा कम्पनीले कम्पार्डलाई २० औं शताब्दीका विश्वकै एक महान उद्यमीका रुपमा व्याख्या गरेको छ र उनको मृत्यू शान्त र सहज तवरबाट भएको उल्लेख गरेको छ ।

आइकियाको स्थापना गर्दा कम्पार्ड १७ वर्षका मात्र थिए । उनले आफ्नो पहिलो स्टोर सन् १९६५ मा खोलेका थिए ।

आफ्नो व्यवसायका प्रारम्भिक दिनहरुमा कम्पार्डले सलाईका बट्टाहरु साइकलमा राखेर बेच्ने गर्थे । त्यसपछि उनले माछा, क्रिसमस ट्रि, बिउ र बल प्वाइन्ट पेन तथा पेन्सीलहरुपनि बेचे ।

सन् १९५० मा उनले आफ्नो घर नजिक जंगलमा स्थानीय व्यवसायीहरुले उत्पादन गरेका फर्निचर किनेर बेच्न थाले । त्यसमा राम्रो प्रतिक्रिया पाएपछि उनले अरु सबै उत्पादन छोडेर कम मूल्यका फर्निचरहरुमा आफूलाई केन्द्रित गरे ।

त्यतिबेलै आइकियाको अवधारणा जन्मियो : कम मूल्यका फर्निचर जसलाई ग्राहक स्वमय्ले एसेम्बल गर्न सक्छन् ।

यसरी जन्मिएको आइकिया आज ४६ अर्ब डलरको भएको छ । तर कुन उनको व्यक्तिगत हो, कुन उनको छोराछोरीको हो र कुन फेमिली फाउन्डेसनको हो भनेर छुट्याउन भने कठिन छ ।एक पटक संसारकै चौंथो धनी व्यक्तिमा सूचीकृत भएका कम्पार्ड सरल जीवनशैलीका लागि चर्चित छन् । उनले सेकेन्ड ह्याण्ड बजारबाट आफूले लगाउने लुगा खरिद गर्थे भने १५ वर्ष पुरानो मोटर चढ्थे । आफ्नो मध्यमस्तरको घरमा आफैंले एसेम्बल गरेका आइकियाका उत्पादनहरुले भरेका थिए ।

एकपटक उनी विजनेसम्यान अफ द इयर अवार्ड थाप्नका लागि बस चढेर गएका थिए । एक अन्तरवार्तामा उनले आफू विकासोन्मुख देशमा भएको बेलामा कपाल काट्ने गरेको खुलाएका थिए ।

पछिल्लो समय उनी आधा अवकाशको अवस्थामा थिए र श्रीमती मार्गारेथासँग सस्ता रेस्टुरेन्टहरुमा भेटिन्थे । स्वीडेनका गृह नगरमा जब उनको शालिक ठड्याइयो, उनलाई रिबन काट्नका लागि बोलाइयो ।

तर उनले काट्नुको साटो यसलाई फुकाले, पट्याएर मेयरलाई फिर्ता दिँदै भने, ‘तपाईं यसलाई फेरि प्रयोग गर्न सक्नुहुन्छ ।’

उनी आफू लोभी भएको सहर्ष स्वीकार्थे । भन्थे, ‘म पैसाको मामलामा अलि कडा छु । यदि मैले विलासी चिजहरु संकलन गर्न थालेँ भने अरुले पनि मलाई पछ्याउन खोज्नेछन् । नेताले जहिले पनि उदाहरण पेश गर्नुपर्छ ।’

‘म कुनै पनि कुरामा पैसा खर्च गर्नुभन्दा अगाडि सोच्छु कि आइकियाका ग्राहकले यो खरिद गर्न सक्छन् कि सक्दैनन् ।’

अहिले आइकियालाई कम्पार्डका तीन छोराहरु पिटर, जोनास र माथियासले संयुक्तरुपमा सञ्चालन गरिरहेका छन् । यद्यपि कम्पार्डले आफ्नो कुल सम्पत्तिको आधा हिस्सा अर्थात् करिब २३ अर्ब डलर च्यारिटीलाई दान दिएका थिए ।

बाँकी सम्पत्ति छोराहरुले बाँडेका हुन् । बाबुले आफ्नो आधा सम्पत्ति दान गरेको विषयमा छोराहरु रुष्ट बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment