Comments Add Comment

उमेश पासवानः जसले तराईमा तीन दशक डकैतीको साम्राज्य चलाए

लुटेरै गुजारा चलाए, प्रतिकार गर्नेको ज्यानै लिए

७ चैत, काठमाडौं । झण्डै तीन दशक तराई-मधेसमा डकैतीको साम्राज्य चलाइरहेका उमेश पासवान अन्ततः पक्राउ परेका छन् ।

रुपन्देही, सर्लाही र सिरहा गरी तीन जिल्लाको प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका उनी लालबन्दी–२ बाट पक्राउ परेका हुन् ।

पछिल्लो समय भारतमा लुकिछिपी बस्दै आएका उनलाई लालबन्दी (साबिक नेत्रगञ्ज–२) स्थित घरमा आएका वेला जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलार्इ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी पेशेवर लुटेरा हुन् । उनले आफ्नै क्षेत्रका युवाहरुलाई भेला पारेर समूह बनाएका थिए । करिव १४/१५ वर्षको उमेरबाटै चोरी गर्न थालेका उनी वर्षौंदेखि लुटपाट गरेरै गुजारा चलाइरहेका थिए ।

सुरुआत्मा सामान्य लुटपाट गर्ने उनी पछिल्लो समय लुटपाटका क्रममा प्रतिकार गर्नेहरुको हत्या गर्न समेत पछि पर्दैनथे । प्रहरीले उनलाई खुनडाँका तथा संगठित अपराध अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ ।

सुन व्यापारीको कलहमा फाइदा उठाएर डकौती

सर्लाही प्रहरीले पासवानलाई २४ असोजमा कविलासी नगरपालिका–२ का सुन व्यापारी सुनिल शाहलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।

बथहवा–७ मा सुनिल शाह र उनका बुबा नगेन्द्र शाह मिलेर माँ भगवती ज्वलर्स नामक सुन पसल चलाउँदै आएका थिए । नजिकै कृष्ण शाहको सुन पसल थियो । तुलनात्मक रुपमा नगेन्द्रको पसल बढी चल्थ्यो । त्यसको झोँकमा कृष्णले नगेन्द्रबारे सूचना दिएको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

‘डकौती गर्नलाई टार्गेट छान्ने शैली नै हो यो’, एक प्रहरी अधिकारीले भने, ‘नजिकका कोही विरोधीलाई उकासेर उनी सूचना लिन्थे अनि आफू डकौती गर्थें । त्यसक्रममा आफूलाई देखे ज्यानै लिन पछि पर्थेनन् ।’

करिव १४/१५ वर्षको उमेरबाटै चोरी गर्न थालेका उनी वर्षौंदेखि लुटपाट गरेरै गुजारा चलाइरहेका थिए

त्यसदिन पनि भइदियो । राति करिब साढे ७ बजे बुबाछोरा पसल बन्द गरेर ८ तोला सुनका गरगहना, चाँदीका गहना ५ किलो र नगद ४० हजार रुपैयाँ बोकेर घर फर्किँदै थिए ।

बजार र पिपडिया गाउँबीचमा रहेको सिसौ घारीमा पुगेपछि उनीहरु सवार ना ४५ प १५०३ नम्बरको उनीहरुको मोटरसाइकलाई ३/४ जनाको समूहले रोक्यो । र, नगेन्द्रले झोलामा भएको सुनचाँदी र नगद लुट्यो ।

प्रतिकार गर्न खोज्दा पासवानलाई सुनिलले देखे । उमेशले सुनिललाई कटुवा पेस्तोलबाट गोली हानेको प्रहरीको दाबी छ । गोली लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सर्लाहीमा उपचारको क्रममा मृत्यु भयो ।

घटनाको एक साता वित्न नपाउँदै प्रहरीले ४ जना आरोपितलाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा लालबन्दी–२ का २७ बर्षीय जयप्रकाश पासवान, बरहथवा–१६ का २३ वर्षीय कृष्ण साह, २५ वर्षका प्रभु नारायण महतो र कविलासी नगरपालिका–१ का २१ बर्षीय भोला विरेन्द्र मण्डल थिए ।

उनीहरुको बयानका आधारमा प्रहरीको टोली उमेश पासवानसम्म पुगेको थियो तर, पक्राउ गर्न असफल भयो ।

एक्ली महिला देख्नै नहुने !

प्रहरी अधिकारीहरुका अनुसार विभिन्न घटनाको विश्लेषण गर्दा उमेश पासवानको उनको टार्गेटमा एक्ली महिलाहरु पर्थे ।

‘एक्लै हिँडिरहेको अथवा घरमा एक्लै रहेका महिलालाई लुट्ने गरेको देखिन्छ’, इलाका प्रहरी कार्यालय, बुटवलका मुद्दा शाखाका एक अधिकारीले भने, ‘ओजनदार वस्तुले हानेर घाइते बनाउने र लुटपाट गर्ने उनको शैली हो ।’

त्यही क्रममा १८ भदौ ०७३ मा बुटवलकी २५ वर्षीय रणमाया पुनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार पुन घरमा एक्लै भएको मौका छोपेर उमेश लुटपाट गर्न प्रवेश गरे ।

वजनदार वस्तु प्रहार गरेर पुनलाई घाइते बनाए र सुन लुटेर भागे । तर, उपचारका क्रममा रणमायाको ज्यान गयो ।

प्रहरीका अनुसाररुपन्देहीमा भएको अपराधिक क्रियाकलापमा उमेशलाई पुनर्वासकै गगन पासवान र चमारु चजारी पासवानले साथ दिएका थिए । चमारु घटना लगत्तै पक्राउ परे र उमेशकै योजनामा घटना भएको बयान दिए ।

रुपन्देहीमा यो समूहको लुटपाट यतिमा मात्र सीमित छैन । उनीहरुले दुई सुत्केरी महिलालाई समेत आफ्नो निशाना बनाएका थिए ।

१२ कात्तिक ०७३ मा देवदह–२ की २१ वर्षीय निमकला पाण्डेमाथि फलामको रड प्रहार भयो । अनुसन्धानपछि खुल्यो–उनको घरमा लुटपाट गर्न छिरेको उमेशको समूहले उनलाई रड प्रहार गरी घाइते बनाएका रहेछन् । उनी ४ महिनाको सुत्केरी पनि थिइन् । तर, उपचारको क्रममा उनको मृत्यु भयो ।

त्यस्तै, १४ गते उनीहरुले देवदह–३ की दीपा थापाको घरमा लुटपाट गरेका थिए । त्यहाँ पनि सुत्केरी महिला दीपा थापालाई रड प्रहार गरेर उनीहरुले चोरी गरेका थिए । तर, थापाको बच्न सफल भइन् ।

सिरहामा घेरा हालेर लुटपाट

पासवानले अन्य जिल्लामा भने हरेक घटनामा फरकफरक व्यक्तिलाई प्रयोग गरेको देखिएको एक प्रहरी अधिकारीले बताए ।

१ जेठ ०७३ मा उनले सत्रुघन पासवन र रुकुम पासवानलाई सहयोगी बनाएर सिरहाको मिर्चौयामा डकौती गरेका थिए । राति साढे १ बजे स्थानीय राजाराम यादवको घरमा घेरा हालेर लुटपाट गरेका हुन् ।

पासवानले लुटपाटका अधिकांश घटनामा आफ्नै गाउँका मानिसहरुलाई प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ

त्यहाँबाट पासवानको समूहले एक तोला सुन, १९ तोला चाँदी, ६० हजार रुपैयाँ नगद र ल्यापटप चोरेर भागेको खुलेको छ । लुटपाट भएको केही दिनपछि सत्रुघन र रुकुम पक्राउ परे पनि उमेश भागेका थिए ।

यसरी बन्थ्यो समूह

पासवानले लुटपाटका अधिकांश घटनामा आफ्नै गाउँका मानिसहरुलाई प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनी संलग्न घटनामा पक्राउ पर्ने अधिकांश व्यक्ति पुनर्वासकै हुनुले पनि यसको पुष्टि गर्छ ।

कतिसम्म भने उमेशको घर भएको टोलका अधिकांश डकौती र चोरीमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको रेकर्डले देखाउँछ ।

‘पासवानको सम्बन्धमा अहिलेसम्म प्रष्ट देखिएको ५ वटा मुद्दा छन्’, सर्लाहीका डिएसपी राजेशबाबु थापाले अनलाइनखबरसँग भने, ‘अन्य जिल्लामा पनि घटना घटाएको हुनसक्छ । हामीले सबैतिर परिपत्र गरेका छौं ।’

प्रहरी स्रोतका अनुसार सीमा क्षेत्रमा बसेको फाइदा उठाउँदै उनी नेपालमा अपराध गर्ने वित्तिकै भारततिर छिर्ने गरेका थिए । र, त्यहाँ पनि लुटपाट गरेर केही समयपछि घरतिर फर्किने गरेका थिए ।

उनलाई नजिकबाट निकालिरहेका प्रहरी अधिकारीका अनुसार उनी नेपालमा अपराध गरेपछि सीमावर्ती क्षेत्र जयनगर, लुदियाना, सीतामणि लगायतका क्षेत्रमा गएर लुटपाट गर्ने गरेका थिए । प्रहरीको नियन्त्रणमा रहेका उमेशका साथीहरुले पनि भारतमा डकौती गर्ने गरेको स्वीकारेको स्रोतको भनाइ छ ।

यद्यपि त्यसबारे भारतीय पक्षबाट कुनै औपचारिक जानकारी नआएको सर्लाहीका डीएसपी थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment