Comments Add Comment

के फेसबुकको बलमा चुनाब जितेका थिए ट्रम्पले ?


यस विषयमा धेरै सनसनीपूर्ण विषयहरु छन्, अनैतिक व्यवहारका आरोप प्रत्यारोप छन्, भावनाहरुका साथ खेलवाड छन् भने तथ्यांकहरुको दुरुपयोगका घटना पनि छन् ।

फेसबुक र तथ्यांकहरुको धन्दा गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिका यो विषयवस्तुको केन्द्रमा छ ।

त्यसमाथि मानिसका निजी जानकारी तथा त्यससँग जोडिका डाटाको गलत प्रयोग गरेको आरोप छ ।

क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्राप्त डाटाको सहाराले २०१६ को अमेरिकी राष्ट्रपति चुनाव तथा बेलायतमा ब्रेक्जिटका विषयमा भएको जनमत संग्रहको नतिजालाई प्रभावित गर्ने कोसिस गरेको थियो भनिन्छ ।

यस विषयमा क्याम्ब्रिज एनालिटिका र फेसबुक दुबैले आरोप अस्विकार गरेका छन् र कुनै गलत काम नगरेको जिकिर गरेका छन् ।

के हो क्याम्ब्रिज एनालिटिका ?

क्याम्ब्रिज एनालिटिका एक बेलायती कम्पनी हो । यसको मालिकमा अमेरिकी रिपब्लिकन पार्टीलाई चन्दा दिनेवाला अर्बपति व्यापारी रोबर्ट मर्कर पनि छन् । यो कम्पनीमाथि सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई प्रभावित गरेको आरोप लागेको छ ।

यस कम्पनीले लाखौँ फेसबुक प्रयोगकर्ताको अकाउन्टको जानकारी प्रयोगकर्ताको अनुमति विना प्रयोग गरेको बताइन्छ ।

यसका लागि कम्पनीले यस्तो सफ्टवेयर तयार गरेको थियो जसबाट मानिसहरुको राजनीतिक रुझानको अनुमान लगाउन सकिन्छ ।

बेलायती समाचार च्यानल न्यूज फोरले डाटा एनालिटिक्स फर्म क्याम्ब्रिज एनालिटिकाका अधिकारीहरुसँग भेट गर्नका लागि आफ्ना एकजना जासूस पत्रकार पठाएका थिए ।

डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको चुनाव जिताउनमा क्याम्ब्रिज एनालिटिकाको भूमिका रहेको बताइन्छ ।

क्याम्ब्रिज एनालिटिकाका प्रमुख एलेक्जेन्डर निक्ससँग भेट गर्ने क्रममा जासूस पत्रकारले आफुलाई एक श्रीलंकाली व्यापारीको रुपमा प्रस्तुत गर्दै आफुले देशको स्थानीय चुनाव प्रभावित गर्न चाहेको बताए । व्यापारीको भेषमा प्रस्तुत भएका पत्रकारका सामुन्ने कम्पनी प्रमुख निक्सले आफ्नो कम्पनीले कसरी राजनीतिक विरोधीहरुलाई नोक्सान पुर्याउने काम गर्न सक्दछ भन्ने प्रष्ट रुपमा बताएका थिए । राजनेताको छवि ध्वस्त पारिदिनका लागि अभियान चलाउने देखि कल गर्लको साथमा पक्राउन वा घुस रकम सहित क्यामराको अगाडि रंगेहात पक्राउने खेल समेत खेल्नसक्ने उनले बताएका थिए ।

कम्पनी प्रमुखको यस्तो भनाई सम्बन्धी न्यूज फोरको समाचार दाबीलाई क्याम्ब्रिज एनालिटिकाले भने अस्विकार गर्दै आएको छ । नियतवस फसाउनका लागि न्यूज फोरले पटकथा तयार पारी सम्पादित डकुमेन्ट्री तयार पारेको र कुराकानीको सुरुवात न्यूज फोरका रिपोर्टरले नै गरेको कम्पनीको दाबी छ ।

फेसबुकको भूमिका के थियो ?

सन् २०१४ मा फेसबुकमा एक क्विजमा प्रयोगकर्तालाई उनीहरुको व्यक्तित्वको बारेमा जान्ने मौका दिइयो ।

क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक एलेक्जेन्डर कोगानले यो क्विजको डिजाइन गरेका थिए । यद्यपि युनिभर्सिटीको उक्त क्याम्ब्रिज एनालिटिका कम्पनीसँग कुनै सम्बन्ध छैन ।

त्यस समय फेसबुकमा चलिरहेका एप्स तथा गेम्समा यो कुरा सामान्य थियो की क्विजमा भाग लिइरहेका व्यक्तिको जानकारीका अलावा उसका साथीहरुसँग सम्बन्धित डाटा पनि लिइन्थ्यो ।

यद्यपि फेसबुकले अहिले धेरै परिवर्तन ल्याइसकेको छ र डाटा डेभलपर्स अब यस प्रकारले प्रयोगकर्ताका डाटा एकत्रित गर्न पाउँदैनन् ।

क्याम्ब्रिज एनालिटिकाका लागि काम गरिसकेका क्रिस्टोफर वाइलीको आरोप छ की उक्त क्विजमा २ लाख ७० हजार जनाले भाग लिए र झण्डै ५ करोड मानिससँग सम्बन्धित डाटा उनीहरुको इच्छा विपरित एकत्रित गरियो ।

यी मध्ये धेरै मानिस अमेरिकी नागरिक थिए वा क्विजमा भाग लिने मानिसका फ्रेण्ड लिस्टमा थिए ।

क्रिस्टोफर वाइलीको दाबी छ की उक्त डाटा क्याम्ब्रिज एनालिटिकालाई बेचिएको थियो र ती मानिसहरुको राजनीतिक रुझानको आधारमा ट्रम्प समर्थक प्रचार सामाग्री फेसबुक विज्ञापनको माध्यमबाट ती मानिससम्म पूराइयो ।

क्याम्ब्रिज एनालिटिका यी आरोप अस्विकार गर्दछ । ट्रम्पको चुनावी अभियानका क्रममा उपलब्ध गराइएका सेवामध्ये यी कुनैपनि सामेल नरहेको उसको भनाई छ ।

के त्यो फेसबुकको नियमविपरित थियो ?

उक्त डाटा त्यस समय फेसबुकको नेटवर्कको प्रयोग गरी एकत्रित गरिएको थियो । केही डाटा डेभलपर्सले यसको फाइदा उठाए । तर फेसबुकसँग आफ्ना प्रयोगकर्तासँग जोडिएका यी डाटा दोश्रो पक्षसँग शेयर गर्ने अधिकार थिएन ।

त्यतिबेला क्विजमा भाग लिएका मानिसहरुलाई सायद यो कुराको सुइँको सम्म पनि थिएन की उनीहरुको जानकारीको प्रयोग डोनाल्ड ट्रम्पको चुनावी अभियानमा गरिनेछ ।

फेसबुकका अनुसार नियम तोडेको पाइएपछि उसले उक्त क्विज एपलाई हटाएको थियो र क्विज तयार गर्नेसँग प्रयोगकर्ताका डाटाहरु डिलिट गर्ने आश्वासन पनि प्राप्त गरेको थियो ।

क्याम्ब्रिज एनालिटिकाले पनि उक्त क्विजका डाटा आफुले प्रयोग नगरेको दाबी गर्दै आएको छ ।

फेसबुक तथा बेलायतका सूचना अधिकारी दुबैले यो जान्न चाहन्छन् की के क्विजमार्फत एकत्रित गरिएका युजर्स डाटा वास्तवमै डिलिट गरिएका थिए त ?

क्रिस्टोफर वाइली चाहीँ ती डाटा डिलिट नगरिएको दाबी गर्दछन् ।

अमेरिकी सिनेटरहरुले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई कंग्रेसमा बयानका लागि बोलाएर फेसबुकले प्रयोगकर्ताका डाटालाई कसरी सुरक्षित राख्दछ भनेर सोध्न माग गरेका छन् ।

युरोपेली संसदका प्रमुखले फेसबुक प्रयोगकर्ताका डाटाहरुको दुरुपयोगका विषयमा छानविन गर्ने बताएका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment