Comments Add Comment

घुँडा नटेक्ने प्रधानमन्त्रीको बचनलाई यातायात व्यवसायीको चुनौती

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीहरुलाई निर्देशन दिँदै भने, ‘अरु बस कम्पनी आउन नदिने, आफ्ना थोत्रा बसमा कुइना ठोकेर मान्छे राख्छ । अरु खोल्न दिँदैन, हडताल हुन्छ । हडताल भएपछि सरकार घ्वाक्राक्क घुँडा टेक्छ ।’

‘यो सरकार घुँडा टेक्ने सरकार होइन’ भन्दै उनले कुनै सिण्डिकेट मान्य नहुने बताए ।

तर, भोलिपल्टै प्रधानमन्त्रीको प्रतिबद्धतालाई चुनौती दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्था विभागमा एउटा ज्ञापन पत्र बुझाएको छ ।

उसले आफ्नो सहमति विना काठमाडौं-बनेपा रुटमा मयुर यातायातलाई दिएको रुट इजाजात खारेज गर्न चेतावनी दिएको छ ।

आफूले व्यवस्थित यातायात सञ्चालन गर्दै आएको तर, आफूहरुसँग परामर्श नै नगरी मयुरलाई रुट इजाजात दिँदा यातायात सेवामा नै प्रत्यक्ष असर परेको उसको दाबी छ ।

जबकी महासंघ अन्तरगत चलेका अधिकांश बसको हालत प्रधानमन्त्रीकै भाषामा भन्दा ‘कुइना ठोकेर मान्छे राख्ने’ खालका छन् । मयुर यातायातले भने निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ र धुलिखेलका मेयर अशोक ब्याञ्जु र स्थानीयबासीको अनुरोधमा बनेपा-धुलिखेलसम्म सेवा विस्तार गर्न लागिएको हो ।

तर, महासंघसहित अरनिको राजमार्गमा चल्ने बससम्वद्ध समितिहरुले रोक्न लागेका छन् ।

सोमबार भक्तपुरमा मयुर यातायातका तीनवटा बसमा आक्रमण भएको छ । यसमा सिण्डिकेट राख्न चाहानेहरुकै हात रहेको बताइएको छ । ‘अत्याधुनिक बस देखेर कोही आत्तिएका होलान् तर, यसबाट हामी डराउँदैनौं,’ मयुर यातायात प्रालिका व्यवस्थापक मोहनबहादुर श्रेष्ठ भन्छन्, ‘हामी बस संख्या थप्न लागिरहेका छौं ।’

मयुरले ४२ सिट क्षमताका ठूला बसहरु बनेपासम्म सञ्चालन गर्न सानाठूला सवारी कार्यालय बाग्मतीबाट अनुमति लिएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले सिन्डिकेट स्वीकार्य नहुने र मयुरलाई चल्न दिइने बताएका छन् ।

विभिन्न क्षेत्रका ७० भन्दा बढी व्यवसायी मिलेर मयुर यातायात कम्पनीका दर्ता गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment