Comments Add Comment

अफिसमा बस्दैनन् स्वास्थ्यकर्मी, कार्यालय सहयोगीले दिन्छन् औषधि

जनप्रतिनिधिहरु अनभिज्ञ, टेर्दैनन् कर्मचारी

८ चैत, सप्तरी । रुघाखोकी र ज्वरोबाट सिकिस्त राजविराज-१ निवासी ३८ वर्षीय विना यादव वडामै रहेको स्वास्थ्य चौकी पुगिन् । स्वास्थ्य चौकीमा खरिदार रामप्रसाद दास र कार्यालय सहयोगी ठकाइकुमार यादव उपस्थित थिए ।

बिनाले रुघाखोकी र ज्वरोले सिकिस्त भएको जनाउँदै जाँचिदिन र औषधि दिन आग्रह गरिन् । तर, खरीदार दासले स्वास्थ्य चौकीमा अरु कोही नभएको र आफूहरुले जाँच्न नसक्ने बताए । दासले यस्तो भनेपछि केही बेर बसेर विना आफ्नो घरतर्फ लागिन् ।

सोही समयमा अर्का स्थानीय संजय यादव आए । पाखुराको दुखाई सहिरहेका उनी जाँच गरेर औषधि पाउने आशसहित आए । तर, विना जस्तै उनलाई पनि फर्किनुपर्‍यो बिना जाँचको ।

राजविराज वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीमा बुधबार पत्रकारहरुको टोली जाँदा एक खरिदार, एक कार्यालय सहयोगी र एक अनमी उपस्थित थिए । अनमी मन्जु कुमारी यादव तत्कालै हाजिरी गरेर राजविराजतर्फ गइन् जरुरी काम छ भन्दै ।

यस स्वास्थ्य संस्थामा सिनियर अहेबसहित सात जनाको दरबन्दी रहको छ । सिनियर अहेब एक, अहेब एक, अनमी ३, एक खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी छ ।

दरबन्दी अनुसार सातै जना कार्यरत छन् । तर, कार्यालय सहयोगी र खरिदारबाहेक सबै उपस्थित हुँदैनन् ।

उपस्थित भएपनि हाजिरी बनाएर आ-आफ्नो घर जाने गरेको स्थानीयहरुले बताएका छन् । पाखुराको जाँच गराउन आएका संजयका अनुसार स्वास्थ्य चौकी भएपनि स्थानीयहरुले यसको अनुभूति गर्न पाएका छैनन् । ‘म आफैं पाखुराको जाँच गराउन दुई दिनदेखि आइरहेको छु’ उनले भने, ‘यहाँ डाक्टरहरु फेला परिरहेका छैनन् ।’

खरिदार दासका अनुसार स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब रुद्रनारायण झा तालिममा सहभागी हुन रुपनी गएको बताए ।

झाले हाजिरी गर्ने रजिष्टरमा पछिल्लो ३ दिन यता काज भनेर उल्लेख गरिएको पाइयो । तालिममा गएको र काज उल्खेख गरेको पाइएपनि कुन तालिममा गएको हो ? त्यो कुरा आफूलाई थाहा नभएको दासले बताए ।

झासँगै अर्का अनमी कोपिला बजिमय पनि तालिममा गएको उनीहरुको भनाइ छ । अनमी पदमा कार्यरत अर्की विद्या दास स्वास्थ्य चौकीमा थिइनन् । उनको हाजिरी पनि भएको देखिएन् । ‘अरु को कहाँ छ मलाई थाहा भएन्’ दासले भने ।

राजविराजकै वडा नम्बर १४ को स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु पनि अनुपस्थित । वडा कार्यालय सँगै रहेको स्वास्थ्य चौकीमा अहेब रामनरेश मण्डल र कार्यालय सहयोगी शिबराम यादव उपस्थित थिए ।

सात जनाको कुल दरबन्दीमा सिनियर अहेबमा इन्चार्ज बिपिन यादव, अर्का सिनियर अहेब सिताम्बर यादव, अहेब रामनरेश मण्डल र अप्सरा सरु, अनमीमा बालकुमारी शाही र तारादेवी मण्डल र कार्यालय सहयोगी शिबराम यादव कार्यरत छन् ।
‘अरु कर्मचारी कहाँ गए त ?’ प्रश्नमा अहेब मण्डलले भने, ‘इन्चार्ज विपिन तालिममा, अनमी बालकुमारी शाही सुत्केरी विदामा र अन्य पनि विदामै छन् ।’

स्वास्थ्यकर्मी नभएपछि यहाँ कार्यालय सहयोगीले नै जाँच गराउन आउनेलाई आफूखुशी औषधि दिने गर्छन् । यहाँ पुगेको पत्रकारकै सामुन्नेमा जाँच गराउन आएका दुई जनालाई कार्यालय सहयोगी यादवले औषधि दिदैं साँझ र बिहान प्रयोग गर्न सुझाएका थिए ।

स्थानीयहरुका अनुसार दरबन्दी अनुसारको स्वास्थ्यकर्मी कहिल्यै बस्दैनन् । जसलाई जसरी इच्छा लाग्छ त्यसरी आउने र जाने काम गर्दै आएका छन् ।

फोहोर र माकुराको जालो सर्वत्र

स्वास्थ्यकर्मी र कर्मचारी नियमित स्वास्थ्य संस्थामा नपुग्दा स्वास्थ्य संस्थाभित्रै जताततै फोहोर देखिन्छ । वडा नम्बर १ को स्वास्थ्य संस्थाको बेडमा बेड सिटको नाममा झ्यालको पर्दा ओछ्याइएको देखियो । कोठाहरु पनि अत्यधिक नै फोहोर देखियो भने जताततै माकुराको जालो प्रष्टै देखिन्थ्यो ।

‘यति फोहोर किन देखियो ?’ प्रश्नको उत्तर अनौठो दिए कार्यालय सहयोगी ठकाई यादवले । उनले भने, ‘गर्न त गर्छु, तर मूसा धेरै आउने भएका कारण फोहोर भइरहेको हुन्छ ।’ उनले फोहोरको मुख्य कारक मूसालाई नै बनाए ।

जनप्रतिनिधिः कतिलाई थाहै छैन, कतिलाई टेर्दै टैर्देनन्

स्वास्थ्यकर्मीहरु अनुपस्थित रहेको सन्दर्भमा कतिपय जनप्रतिनिधीहरुले अनभिज्ञता प्रकट गरेका छन् भने कतिपयले कर्मचारीहरुले नटेरेको प्रतिकृया दिएका छन् ।

स्वास्थ्य संस्थासँग टाँसिएकै राजविराज-१४ को वडा कार्यालयमा फेला परे वडा अध्यक्ष शोभलाल मण्डल कार्यालयमै बसेका थिए स्वास्थ्य कर्मचारीहरु अनुपस्थित रहेको समयमा । तर, उनलाई त्यो कुराको जानकारी थिएन् । ‘खोई मलाई यो कुरा थाहा भएन्’ उनले भने, ‘अनुपस्थित भएको छ भने म कुरा बुझ्छु ।’

वडा नम्बर १ का अध्यक्ष चन्द्रशेखर चौधरीको भनाइलाई मान्ने हो भने कर्मचारीहरुले उनलाई टेरेका छैनन् । ‘स्वासथ्य संस्थामा गएर कार्यलय समयमा कसैलाई बाहिर नजान निर्देशन दिएको छु’ उनले भने, ‘तथापि पनि कर्मचारीहरु मानिरहेका छैनन् ।’

उनले स्वास्थ्यकर्मीहरु आफ्नो मनोमानी तरिकाले अनुपस्थित भएको बिषयमा पुनः छलफल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment