Comments Add Comment

गोरखाका भूकम्पपीडितले ३५ महिनापछि पाए सहुलियतको काठ

८ चैत्र, गोरखा । तीन वर्ष पुग्नै लाग्दा यहाँका भूकम्पपीडितहरुले सहुलियत दरको काठ पाएका छन् ।

भूकम्प गएकै वर्ष निजी आवास पुनर्निर्माणका लागि पीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।तर, भूकम्पको ३५ महिनामा मात्र गोरखाका पीडितहरुलाई काठ वितरण कार्य शुरु गरिएको हो ।

बिहीबारबाट सुरु भएको वितरण कार्य चैत्र १० गतेसम्म चल्ने जिल्ला वन पैदावार आपूर्ति समितिका सदस्य सचिव एवं सहायक वन अधिकृत कृष्ण प्रसाद भट्टले जानकारी दिए । ‘जिल्ला वन कार्यालय चितवनबाट १० हजार क्यूफिट काठ ल्याउने तयारी भएपनि पहिलो चरणमा तीन हजार दुई २८४ क्यूफिट काठ ल्याएका छौ,’ भट्टले भने, ‘बाँकी काठ पनि ल्याउने तयारी भइरहेको छ ।’

ढुवानी भएको काठ वितरण गर्न थालिएको उनले बताए । काठ वितरणका लागि बिहीबार गोला प्रथा गरिएको थियो । काठलाई ए, बी र सी ग्रेडमा वर्गिकरण गरी नम्बरिङ गरिएको छ ।

सोही नम्वरको आधारमा गोलाप्रथाद्धारा पीडितलाई काठ वितरण गरिएको भट्टले जानकारी दिए । प्रति व्यक्ति ३० क्यूफिट काठ वितरण गरिएको उनको भनाइ छ ।

काठको माग गर्दै निवेदन दिएका ३१६ मध्ये एक सय जनालाई पहिलो चरणमा काठ उपलब्ध गराइने भट्टले बताए ।

पालुङटार नगरपालिका, गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका भूकम्पपीडितलाई पहिलो चरणमा काठ उपलब्ध गराउने जिल्ला वन अधिकृत जिवनाथ पौडेलले बताए । ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा काठको वर्गिकरण गरेर ९० प्रतिशत राजस्व छुटमा काठ वितरण गरेका छौ,’ भट्टले भने ।

राजस्व छुटमा ‘ए’ ग्रेडको ६०३, ‘बी’ ग्रेडको पाँच सय ६९ र ‘सी’ ग्रेडको ५४७ रुपैयाँँप्रति क्यूफिटमा काठ उपलब्ध गराइएको समितिले जनाएको छ । राजस्वमा छुट भए पनि कटान मुछान, ढुवानी, लोड अनलोड लगायतको खर्च पीडित आफैले तिर्नुपर्नेछ ।

अधिकांश पीडितले घर बनाइसके

काठ वितरणमा ढिलाइ भएपछि अधिकांश पीडितले जसोतसो काठको जोहो गरेर घर बनाइसकेका छन् । ‘काठ आउला आउला भन्दा भन्दै आएन, यता उता सापट खोजेर बनाए, अब यो काठ लगेर तिर्नुपर्ला,’ गोरखा नगरपालिका-८ का इश्वार बहादुर थापाले भने ।

जसोतसो काठको जोहो गरेर झ्याल ढोका बनाएका शहीद लखन गाउँपालिका बक्राङका रामबहाुदर सार्कीलाई भने काठमा धुलिया लागेर समस्या भएको छ । ‘काठको पर्खाइमा धेरै कुरे तर नआएपछि चिलाउने र बर्राको काठ हालेको धुलिया लागेर कामै नलाग्ने भाको छ, अब यही काठ हाल्नुपर्‍यो,’ उनले भने ।

काठ वितरणमा ढिलाइ हुँदा अधिकांश पीडितहरुले जसोतसो काठको जोहो गरेर घर बनाएका छन् ।

सहुलियत दरमा काठ पाउने भएपनि वितरणमा ढिलाइ हुदाँ महँगो मूल्यमा काठ उपभोग गर्न पीडितहरु बाध्य भएका छन् ।

ढुवानीको ठेक्का नलाग्दा समस्या

चितवनमा रहेको काठ ढुवानीको ठेक्का लाग्न नसक्दा वितरणमा ढिलाइ भएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भएपनि काठ ढुवानी हुन सकेको थिएन ।

यस वर्ष पनि मुस्किलले ठेक्का परेको जिल्ला वन अधिकृत जिवनाथ पौडेलले बताए । काठ ढुवानीका लागि गोरखा नगरपालिका-६ को घिमिरे फर्निचरले ठेक्का पारेको छ ।

ढुवानी भएको काठ गोरखा नगरपालिका-१३ देउरालीस्थित गोरखकाली रबर उद्योग परिसरमा भण्डारण गरेर वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment