Comments Add Comment

सरंगी र बाजाका अर्केस्टासँगै पोखरामा गुञ्जिए कविता

पोखरा । भित्तामा टाँगिएको छ, कविता साँझ । नेपथ्यमा बजिरहेको छ, सारंगीको धुन । कविले वाचन गरिरहेका छन्, कविता । २/३ वटा कविताका बीचमा घन्किन्छ, सारंगीसँगै विभिन्न बाजाका अर्केस्टा ।

बुधबार पोखरामा कविताको यस्तै नौलो खालको कार्यक्रमको दृश्य हो यो ।

सन्दर्भमा थियो, विश्व कविता दिवस । बुधबारको साँझ दिवसकै अवसरमा पोखरेली पारखी कवितामा झुमे । न कुनै आसन ग्रहण, न पट्यारलाग्दो मन्तव्य ।

कविता सुन्न गएकाहरुले बाजाका अर्केस्टासँगै विभिन्न कविताको स्वाद लिए । पार्दीस्थित नेपाल पर्यटन बार्डको सभाहल बुधबार कवितामय बनेको हो । सारंगीको धुन र विभिन्न बाजाको अर्केस्टासँगै १५ कविले फरकफरक स्वादका कविता पस्किए ।

पोखरेली युवा सांस्कृतिक परिवारले पर्यटन बोर्डको सहकार्य र पब्लिक मिडियाको संयोजनमा कविता सुन्ने चाँजो मिलाएको हो । बाटुलेचौरको झलकमान सारंगी पाठशालाले सारंगी र विभिन्न बाजाको अर्केस्टासहितको प्रस्तुतिले कविता साँझलाई अझ रौनक थप्यो ।

राजधानीको बजारशास्त्रमा
किन बर्जित छ – धाइरिङ ?
कुन शास्त्रले निर्माण गर्छ
यस्ता बेतुकका नीति नियमहरु ?
धाइरिङ र यस्तै सयौं गाउँहरु
धाइराको फूल भएका छन्

मञ्चमा कवि मन क्षेत्री आफ्नो कविता सुनाइरहेका थिए भने नेपथ्यमा बजेको मधुर सारंगीको धुनले कवि मनलाई लोभ्याइरहेको थियो ।

कविता साँझमा विश्व कविता दिवस, पोखरा र कवितामाथि बोल्न मञ्च उक्लेका कवि तीर्थ श्रेष्ठले कविता वा अन्य जुनसुकै प्रतिभा प्रगतिवादी भएको भनाइ राखे । ‘कविता यो धार त्यो धार होइन, कविताले सबै क्षेत्रलाई समेट्ने सामथ्र्य राख्छ,’ उनले भने । कवितामा यौनदेखि उदासी, भावुकता सबै लेख्न सकिने उनले बताए ।

कवितामा मात्र आफैसँग संवाद गर्न सकिने कुरा भएको उनको भनाइ थियो । कविता लेख्ने नाममा कवितालाई बन्धनमा राख्न नहुने उनले विचार राखे । ‘कवितालाई निश्चित आकार, प्रकारमा बाँध्नु हुँदैन भन्ने मलाई लाग्छ,’ उनले भने ।

कार्यक्रमको सुरुमै कविता वाचन गर्न मञ्चमा उक्लेका कवि तीर्थकै कवितामार्फत वाचनको बिट मारिएको थियो । ‘हिउँमा लेखिएका नामहरु’ वाचन गरिरहँदा हल तालीले गुञ्जयमान भएको थियो । उनले तीन छोटा कविता वाचन गरे । कवि तीर्थलेजस्तै थरिथरिका कविता कार्यक्रममा गुञ्जिए ।

कान्छा कवि सुदर्शन पौडेलदेखि भीष्म उप्रेती, प्रकट पेगेनीसम्म साँझमा कविता सुनिए । कवि राजु क्षेत्रीले जनयुद्धलाई केन्द्र बनाएर रचेको कविता सुनाइरहँदा स्रोता भावुक बने । कविता लेखेर के पाइस् भन्ने प्रश्नको जवाफ कवि सरस्वती प्रतीक्षाले ‘सुन्तलाको रस’ कवितामार्फत दिइन् ।

पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले देश संघीयतामा गइसकेको अवस्थामा विकासका विषयमामात्रै नभएर कला, साहित्य, संगीतका क्षेत्रमा पनि प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘अब हरेक प्रदेशमा वाङमयिक गतिविधिमा पनि प्रतिस्पर्धा होस् र त्यसमा हाम्रो प्रदेश एक नम्बरमा आओस् भन्ने हाम्रा गतिविधिले देखाउनुपर्छ,’ थपलियाले भने, ‘साहित्य पर्यटलाई पनि जोडेर यहाँका सम्भावना र दूरदराजका कथाको उठान गर्न साहित्यले सक्नुपर्छ ।’

कवितालाई अब व्यक्तिले मात्र नभएर सरकारी तबरबाट पनि सहयोग आउन थालेकोमा परिवारका अध्यक्ष दीपक समीपले खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रेम, राजनीति, देश प्रेम, नारी वेदना, विछोड जस्ता विषयमा कविता सुनाउँदै कविहरुले आफ्नो कुरा राखे । कवि भीष्म उप्रेती, सञ्जीव पौडेल, अल्पज्ञानी, सरस्वती श्रेष्ठ सरु, विकास मगर, डा.बसन्त गौतम, डा. चैतन्य अधिकारी, लक्ष्मण थापा, प्रकट पंगेनी शिव, रिता अधिकारी लगायतले समसामयिक कविता सुनाए ।

झलकमान गन्धर्वको गाउँ बाटुलेचौरमा उनैको नाममा धनबहादुर गायकको संयोजकत्वमा खुलेको झलकमान सांरगी पाठशालाको प्रस्तुतिले कार्यक्रमको अन्तिममा सांगीतिक माहोल बनायो । कविताहरुले साँझमा कवितामात्रै सुनाएनन्, विभिन्न बाजाको अर्केस्टामा छमछमी नाचे पनि । १५ जना समूहको पाठशालाले सांगीतिक माहोल बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment