Comments Add Comment

‘जात्रा’ निर्देशकको कसरी जोडियो महसँग साइनाे ?


प्रदीप भट्टराई, जसलाई चिनाउन एउटै विशेषण काफी छ- निर्देशक । अहिलेका चल्तापूर्जा यी निर्देशकसँग आफ्नो फिल्मको सूची लामो छैन । तर, एउटै फिल्मबाट उनी सर्वत्र चिनिए । फिल्म थियो- जात्रा ।

‘जात्रा’ कुरा थाती राखौं, अहिले उनको दोस्रो फिल्म हलमा चढ्दैछ । फिल्म हो, शत्रु गते । यो फिल्मको नाम कताकता मह जोडीको सुपरहिट फिल्म ‘१५ गते’सँग मिल्छ । कतिले भन्छन्, ‘शत्रु गते’ पनि ‘१५ गते’कै सिक्वेल पो हो कि ?

यो प्रश्नको जवाफ निर्देशक भट्टराईले पटक-पटक दिइसकेका छन् । उनले भनेका छन्, ‘१५ गतेसँग यो फिल्मको कुनै साइनाे छैन ।’

फिल्मको टिजरमा देखिने केही दृश्य र पात्रहरूले भने अलमल्याउन सक्छन् । ‘१५ गते’मा जस्तै ‘शत्रु गते’मा पनि लमीलाई खाल्डोमा पुरेको दृश्य छ । कलाकारहरू पनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाजाम पौडेल, किरण केसी आदि छन्, जो ‘१५ गते’का टिम हुन् ।

निर्देशक भट्टराईले भनेजस्तै यी दुई फिल्मबीच साइनाे नभए पनि प्रदीप भट्टराई र मह जोडीबीच भने खास सम्बन्ध छ । कलाकारिताको नाता । प्रदीप मह जोडीका साख्खै सदस्य हुन् । मह संचारका अधिकांश श्रव्यदृश्य सामग्रीमा उनी ‘मुख्य-साहयक निर्देशक’ को रूपमा देखिने गर्छन् । यसो भन्दा फरक नपर्ला- प्रदीप भट्टराई मह क्याम्पकै गुलियो उत्पादन हुन् ।

उनै निर्देशक भट्टराईलाई अनलाइनखबरले कुपण्डोलस्थित ब्रिक्स क्याफेमा भेटेको थियो । कलाकर्मीको जमघट भइरहने उक्त क्याफे हरिवंश पुत्र मोहितवंशले चलाएका छन् । क्याफेको एउटा कुनामा कफी अर्डर गरिसकेपछि भट्टराई हामीसँग गफिन आइपुगेका थिए ।

औसत कदका, हँसमुख, मृदुभाषी निर्देशक भट्टराईले करिब एक घण्टाको बसाइमा सरस्वती क्याम्पसमा पढ्ने वातावरण विथोलिएपछि कसरी रसरंगको संसारमा छिरियो भनेर वेलिविस्तार लगाए । पछिल्लो फिल्मबारे पनि उनले दुई/चार शब्द बोले । बढीचाहिँ मह संचारसम्मको यात्रा वर्णन गर्नमै व्यस्त भए ।

शत्रु गतेको कुरा

फिल्म ‘शत्रु गते’ प्रदर्शनअघि नै व्यापक चर्चा पाउने फिल्ममा पर्छ । किन चर्चा पायो ? यसको एउटा मात्र जवाफ छैन । एक त निर्देशक भट्टराईले ‘जात्रा’बाटै दर्शकमा कुतूहल पैदा गराएका थिए । उनको दोस्रो फिल्म यसै पनि प्रतीक्षित थियो । जसै उनले फिल्मको घोषणा गरे, सानोतिनो हल्लीखल्ली मच्चियो ।

दोस्रो, यो फिल्मको स्टार कास्ट । फिल्ममा ती सबै कलाकर्मीको जमघट देखिए, जो वर्तमान समयका चल्तापूर्जा मानिन्छन् । करियरको उत्तरार्द्धमा खासै सक्रिय नदेखिएका हरिवंश-मदनकृष्ण यही फिल्मबाट पुनरागमन भयो । यसबीचमा उनीहरूले लामो समय फिल्म खेलेका/बनाएका थिएनन् । मह आफैमा प्रतीक्षित जोडी हुन् । उनीहरूसँगै किरण केसी र राजाराम पौडेल पनि फ्रेमभित्र छन् ।

त्यस्तै, दीपकराज गिरी र दीपाश्री निरौला पनि अहिले ‘हटकेक’ भएका छन् । उनीहरूको जोडी ‘शत्रु गते’भित्र समेटिएका छन् । हास्य जनराको फिल्मले बजार पेलिरहेको बेला होनहार हास्य कलाकर्मीहरू सम्मिलित हुनुले पनि ‘शत्रु गते’ले व्यापकता पायो । तर, फिल्म हास्य जनराको नभएको प्रदीपले वताएका छन् ।

‘यो कमेडी फिल्म होइन’ उनले अनलाइनखबरसँग भने, ‘फेमेली ड्रामा हो ।’ फिल्ममा मधेसी र पहाडे परिवारको बिहेवारीलाई लिएर कथा बुनिएको छ । यद्यपि फिल्मले न मधेसको गुनासो सुनाउँछ, न पहाडको दुःख कहन्छ । फिल्मको मियो मात्र मधेसी-पहाडेबीचको बिहे हो ।

फिल्म चल्छ, चल्नैपर्छ भन्ने लाग्छ निर्देशक भट्टराईलाई । अघिल्लो फिल्मजस्तै आफूले निकै माझेर यो फिल्म बनाएको उनले बताए ।

थोत्रो रिल, टर्च लाइट र पर्दामा फिल्म

‘शत्रु गते’को प्रसंगलाई बिट मारेपछि हामीले सोधेका थियौं, ‘फिल्मतिर कसरी रस पस्यो ?’

जवाफका लागि फ्ल्यासब्याकतर्फ मोडिए उनी ।

सर्लाही हरिवनस्थित घर छेवैमा हल थियो, दुर्गा चलचित्र मन्दिर । हल भन्नु मात्र, खरले छाएको । बाहिरको प्वालबाट पनि फिल्म हेर्न सकिने । कति पटक यसरी नै उनले फिल्मको धित मारे । खल्तीमा थोरै पैसा हुँदाको कुरै अर्को । चार रुपैयाँमा हलभित्र छिर्न पाइने । पर्दाकै अगाडि उभिएर फिल्म हेर्थे ।

त्यसताका उनी राजेश हमालका डाइहार्ट फ्यान । उनी राजेश हमालको फिल्म हेर्थे र उनकै शैलीमा डाइलग मार्थे, ‘साथीको लागि यो हात सलाम, दुस्मनको लागि फलाम ।’

फिल्म हलको आसपासमा घुमिरहन्थे । त्यहाँ फिल्मको टुक्रिएको रिल फेला पथ्र्यो । त्यसैलाई जोडेर सेतो पर्दामा टर्चको छाया पार्ने । यसरी सेतो पर्दामा टर्चको प्रकाश पार्दा उनलाई हलमै फिल्म हेरेंको भान हुन्थ्यो । साथीभाइ दंग पर्थे ।

जानीनजानी स्क्रिप्ट लेख्दा

फिल्मको नक्कल गर्दै मनमा अनेक परिकल्पना गर्थे । कथा बुन्थे । दृश्यहरू समायोजन गर्थे । संवाद कल्पन्थे । सोच्थे, फिल्म यसरी बनाइन्छ होला । भावनाको त्यही टेकोमा उभिएर उनले स्क्रिप्ट लेखे । नाम थियो, अन्तिम इच्छा । हिरो राजेश हमाल, हिरोइनचाहिँ सारंगा श्रेष्ठ ।

स्क्रिप्ट, स्क्रिप्ट जस्तै थियो/थिएन ? स्क्रिप्टको फम्र्याटमा थियो/थिएन ? उनलाई मतलब भएन । तर, उनले जुन परिकल्पना गरेर कथा, दृश्य र संवादको समायोजन गरेका थिए, त्यो पक्का पनि फिल्मजस्तै हुनेछ भन्नेमा ढुक्क थिए । ढुक्क नभइदिएको भए, स्क्रिप्ट च्यापेर उनी ‘मानसरोवर फिल्म्स’को कार्यलयसम्म पुग्दैनथे ।

स्क्रिप्ट उनले गाउँमै लेखेका थिए । काठमाडौं आउँदा त्यसलाई किन छुटाउने ?

कलेजतिर बरालिँदा

भट्टराई फिल्मतिर यसरी मोडिदैन थिए होला, क्याम्पसमा राजनीति नघुसेको भए । पुल्चोकमा डेरा थियो । सोर्‍हखुट्टेमा क्याम्पस । पैदल हिँड्दै पढ्न आउँथे । कलेज आइपुग्दा हुलदंगा, तोडफोड । होहल्ला हुने, नाराबाजी हुने । पढ्ने माहौल भए पो !

उनी बरालिन थाले । समय कटाउन पत्रिका हेर्थे ।

पत्रिका पल्टाउने क्रममा उनको आँखा पर्‍यो, एउटा रंगीन विज्ञापनमा । शुभकामना विज्ञपान थियो । गुण चलचित्र मन्दिरले तेस्रो वर्ष पार गरेको उपलक्ष्यमा दिइएको । विज्ञापनदाता, मानसरोवर फिल्म्स । विज्ञापनमा ल्यान्डलाइन नम्बर थियो ।

प्रदीपले आफैसँग भने, ‘चल भाइ, अब कलेज होइन, त्यता धाउनु ठिक हुन्छ ।’

स्क्रिप्ट बोकर निर्देशकको ढोकामा

केही दिन नबित्दै भट्टराई मानसरोवर फिल्मस्को कार्यकक्षमा प्रवेश गर्दै थिए । यतिबेला उनको हातमा ‘अन्तिम इच्छा’को स्क्रिप्ट थियो ।

तर, उनले सोचेजस्तो सजिलै निर्देशकहरू भेटिएनन् । उनी धाइरहे । कोठाबाट नजिकै थियो, फिल्मको कार्यालय । त्यहाँका कर्मचारीसँग भेट्थे । उनीहरूले नै चिया खाजा ख्वाउँथे । यही उपक्रममा एक दिन उनले लक्ष्मीनाथ शर्मा भेटे ।

भेट्नासाथ उनले आफ्नो स्क्रिप्ट तेस्र्याइदिए । लक्ष्मीनाथ शर्मा त्यसबेलाका जल्दोबल्दो निर्देशक । त्यस्ता निर्देशकको हातमा स्क्रिप्ट थमाउनु पाउँदा प्रदीप कम्ता उत्साहित थिएनन् । उनलाई लाग्दो हो, ‘अब मेरो स्क्रिप्टमा पनि फिल्म बन्छ ।’

तर, त्यसो भएन । करिब दुई सातापछि लक्ष्मीनाथ शर्माले स्क्रिप्ट उनैलाई फिर्ता गराए । यसो भन्दै, ‘भाइको लेखाइ राम्रै छ, प्रयास जारी राख्नू ।’

अब उनी मोडिए तैयव शाहतर्फ । निर्माता तथा कलाकार तैयवले त्यसबेला राम्रा फिल्म बनाएका थिए । उनी तैयव शाहको कार्यकक्षमा पुगे । दिनदिनै पुगे । आउजाउ बाक्लो भएपछि त्यहाँका टिममाझ प्रदीपको अनुहार परिचित हुँदै गयो ।

तैयवले ‘बेइमानी’ नामको फिल्म बनाउँदै थिए । कथा मोहन निरौलाको । निर्देशक विजय चालिसे । तैयवले प्रदीपलाई खटाइहाले- ‘तिमीले यो फिल्ममा सहायक निर्देशक भएर काम गर्नू ।’

फिल्म टिमसँग घुलमिल

सहायक निर्देशक अर्थात् निर्देशकको सहयोगी । कहिले क्ल्याप बोर्ड पड्काउनुपर्ने, कहिले लाइट मिलाउनुपर्ने । कहिले के, कहिले के । तर, यस्तै कामले उनलाई फिल्मसँग नजिक ल्यायो । उनले फिल्मको भाषा बुझ्न थाले । प्रविधि बुझ्न थाले । एक हिसावले उनको लागि राम्रो पाठशाला भयो ।

त्यही फिल्ममा घुलमिल भएपछि उनको संगत बढ्यो विजय थापासँग । उनी थिए प्रख्यात निर्देशक प्रकाश थापाको छोरो । विजय थापासँग जोडिएर भट्टराईले केही फिल्म र कान्तिपुर टिभीबाट प्रसारण हुने ‘मनको चाहना’मा काम गर्ने मौका पाए ।

यसका लागि कथा लेख्थे, नयनराज पाण्डेले । उनी जस्तोसुकै भीडमा पनि गजबले लेख्न सक्ने । सुटिङ स्पटमै आएर लेख्थे । सुटुक्कै पछाडि उभिएर नयनराज पाण्डेले अक्षरहरू खेलाएको हेरिरहन्थे, प्रदीप । लेखनको कौतुहल पनि जाग्दै गयो ।

पछि उनी सिनेम्याटोग्राफर गौरीशंकर धुजुको ‘नारी’मा जोडिए । संयोगले त्यसका अन्तिम भागहरू निर्देशन गर्ने जिम्मा उनकै काँधमा आइपर्‍यो । धुजु मह संचारसँग आबद्ध । प्रदीप भनिरहन्थे, ‘मलाई पनि मह जोडीसँग काम गर्ने मेलोमेसो मिलाइदिनुपर्‍यो ।’

एकदिन,

गोदावरीको घर भाडामा लिएर ‘नारी’को सुटिङ हुन्थ्यो । त्यो अन्तिम रातको सुटिङ थियो । अर्कोदिन महले ‘टीकेको तीन मन्त्र’ सुटिङ गर्ने सिनेम्याटोग्राफर गौरीशंकर धुजूसँग समय थिएन । उनकै समयसीमाको कारण ‘नारी’को काम जसरी पनि सक्नैपर्ने दबाब थियो । रातभर काम गरेर सुटिङ सिध्याए ।

भोलिपल्ट,

महारजगञ्जको बटम प्यालेसमा महले आफ्नो टेलिचलचित्रको सुटिङ सुरु गरे । त्यसमा पनि ‘नारी’कै अधिकांश टिम सामेल थिए । सबै उतैतिर लागे । प्रदीप एक्लो भए ।

उनी त्यही घरमा सुतेर बिहानीपख आफ्नो कोठामा आए, चावहिलतिर । मन एकदम खिन्न थियो । उदास थियो । उनलाई नलागेको होइन, ‘मलाई पनि महले बोलाएको भए हुन्थ्यो ।’ तर, मुख खोलेर कसरी भन्ने ? के भन्ने ?

तर, उनको मनको भाषा सायद गौरीशंकर धुजुले बुझे । उनले प्रदीपलाई मह जोडीले छायांकन गरिरहेको स्थानमा बोलाए । प्रदीप कत्ति पनि ढिला नगरी त्यतै बत्तिए ।

उनी पुग्नसाथ कामको जिम्मा लगाइयो, असिस्टेन्टकै । उनी क्ल्याप बोर्ड बोकेर जे-जे अर्‍हाउँछन्, त्यसै गर्न थाले । मह संचारभित्र प्रवेश गर्नका लागि उनको लागि यो एउटा कदम थियो ।

करिब आधा महिना उक्त टेलिचलचित्रको काममा महसँग घुलमिल भए, प्रदीप ।

‘टीकेको तीन मन्त्र’ तयार भयो । धुमधाम चल्यो । औधी रुचाइयो । एक पटकमा सातवटा टेलिभिजनमा प्रसारण भयो । मह जोडी दंग थिए । त्यसको जस प्रदीपले नपाउने कुरै भएन ।

तर, मह जोडीले उनलाई पत्याउन समय लाग्यो । सुरुमा गौरीशंकरले नै प्रदीपको विषयमा भनसुन गरे । महले सहजै अस्वीकार गर्दै भने, ‘हेर्दै फुच्चे छ, कसरी काम गर्छ ? जसलाई पायो, त्यसलाई सिफारिस नगर्नु न ।’

फेरि एकदिन,

प्रदीपलाई हरिवंशले अनपेक्षित प्रस्ताव राखे । दुवै गाडीमा थिए । गाडीको स्टेरिङ बटार्दै हरिवंशले भने, ‘प्रदीप भाइ एउटा स्क्रिप्ट लेख्ने हो, टेलिफिल्मको लागि ?’

प्रदीप यही अवसरको पर्खाइमा थिए । उनी आफ्नो हातमा परेको माछो उम्काउने मूर्खता किन गर्थे । सहजै स्वीकारे, ‘हुन्छ दाइ ।’

हरिवंशले टेलिचलचित्रको अवधारणा दिए । प्रदीपले त्यसलाई स्क्रिप्टमा ढाले । बन्यो, लेफ्ट राइट लेफ्ट । एचआइभी एड्सको सन्दर्भमा बनाइएको टेलिफिल्म थियो । ‘लेफ्ट राइट लेफ्ट’को सफलतापछि उनी महसँग यसरी टाँसिए, जहाँ उप्किने ठाउँ थिएन । त्यसपछिका थुप्रै वर्ष उनले मह संचारबाट निर्मित श्रव्यदृश्य सामग्रीमा आफ्नो कौशल मिसाए ।

र, आज

हामी बसेको बि्रक्स क्याफेको टेबुल नजिक हरिवंश आचार्य ओहोर-दोहोर गर्दैछन् । केही क्षणमा मदनकृष्ण थपिएका छन् । केही समयपछि किरण केसी । यसरी एकपछि अर्को जमघट बाक्लँदै छ । प्रदीप सबैसामु आदरपूर्वक शिर झुकाइरहेका छन् ।

भट्टराई भन्छन्, ‘आज पनि म हरिवंश, मदनकृष्ण दाइहरूलाई ठाडो नजरले हेर्न सक्दिन । उहाँहरूको अगाडि मेरो शिर त्यसै झुक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment