Comments Add Comment

प्रेस रिभ्यू: चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

सिंहदरबारका कर्मचारीको ‘ब्लडप्रेसर हाई’, १६ दिनमा २१ जना इमर्जेन्सी भर्ना !

९ फागुन, काठमाडौं । आज शुक्रबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयहरुलाई महत्त्व दिएर छापेका छन् । केही पत्रिकाले विकासका मुद्दालाई प्राथमिकतामा राखेका छन् भने कुनैले राजनीति, अनियमितताका विषयमा जाेड दिएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले आज घरेलु सुरक्षाकर्मी फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई दिएको निर्देशनलाई मुख पृष्ठमा छापेको छ ।  त्यसैगरी ‘ईयू प्रतिवेदन निर्वाचन आयोगले अस्वीकार गरेको’, ‘ओलीको भारत भ्रमण चैतमै’लगायत समाचार पनि अन्नपूर्णको पहिलो पृष्ठमै समेटिएका छन् ।

काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएकोलाई नागरिकले मुख्य समाचार बनाएर छापेको छ । नागरिकमै ‘सरकारी सुविधा दुरुपयोग गर्नेमाथि कारवाही’, ‘पिजीमा चर्को शुल्क असुल्न छुट’, ‘चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर’ लगायत शीर्षकका समाचार छन् ।

एपेक्स डेभलपमेन्ट बैंकमा भएको अनियमितताको फाइल गभर्नरकै संरक्षणमा १४ महिनादेखि लुकाइएको र अख्तियारको दबावपछि मात्रै प्रहरीलाई उपलब्ध गराइएको नयाँ पत्रिकाले लेखेको छ ।

वाम एकता वैशाख १० मा

कान्तिपुर दैनिकका अनुसार एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।

स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।

२००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । ०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीको दुइटा मूलधारका रुपमा एमाले र माओवादी छन् । अब दुवै दल मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन एकीकृत हुने उनीहरुको तर्क छ । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै दलका कार्यदलले काम गरिरहेको समाचारमा उल्लेख छ ।

‘एकताको खाकासम्बन्धी काम सकिए दिवस नै कुनुपर्छ भन्ने छैन, अघि पनि गर्न सकिन्छ’, एमाले उपमहासचिव विष्णु पौडेलले कान्तिपुरसँग भनेका छन्, ‘काम गर्दागर्दै ढिलो भए एकता दिवससम्म पुग्न सक्छ भन्ने हो ।’

चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

नागरिक दैनिकले काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको समाचार लेखेको छ ।

मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेको समाचारमा उल्लेख छ ।

मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सल्ट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन् ।

नागरिकका अनुसार सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गराइसकेको छ । चक्रपथमा साढे २८ किलोमिट लामो डबल ट्याकको मोनोरेल निर्माण गर्ने योजनामा प्रधानमन्त्री सकारात्मक देखिएको बताइउको छ । यसको लागत ८० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

सिंहदरबारका अधिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’, १६ दिनमा २१ जना इमर्जेन्सी भर्ना

सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रै रहेको हेल्थ डेस्कमा जाँच गराउँदा अधिकांश कर्मचारीमा पाइमरी हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको जोखिम देखिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

समाचार अनुसार हेल्थ डेस्कमा आउने अधिकांश कर्मचारीमा उच्च रक्तचापको समस्या देखिने गरेको छ । कामको चाप र तनावले समस्या भएको हुनसक्ने समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका लेख्छ– सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्तो समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्टिक, प्रेसर र तनावको समस्या बढी देखिएको अहेव दीपक मुडबरीले बताए ।

गभर्नरकै संरक्षणमा १४ महिनादेखि फाइल गायव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबावपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिना अगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत रहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाका अनुसार तीनवटा संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो । एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो । तर गम्भीर प्रकृतिको अनियमितता लुकाएर राष्ट्र बैंकले प्रत्यक्ष नेतृत्वमा एपेक्सलाई एनसीसीमा मिसाएको थियो ।

यो अनियमिताको विषयमा तत्काल छानबिन गरेर जानकारी दिन अख्तियारले राष्ट्र बैंकलाई पत्र काटेको थियो । राष्ट्र बैंकको आन्तरिक छानबिनले २८ पुस ०७३ मा तयार पारेको प्रतिवेदनमा एपेक्समा भएको अनियमितता पुष्टि गरिसकेको थियो । प्रतिवेदनले दोषीउपर कारबाही गर्न स्पष्ट रुपमा गभर्नर समक्ष सिफारिस गरेको थियो । तर प्रतिवेदन आउनु ११ दिनअघि मात्र योजनाबद्ध रुपमा एपेक्सलाई एनसीसीमा मिसाइएको नयाँ पत्रिकामा खबर छ ।

दुई लाख ऋण चाहिएका गरिबका नाममा २० लाखको कागज

एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र जग्गा दलाल मिलेर मोरङ, सुनसरी र झापामा ठूलो परिमाणमा खराब कर्जा प्रवाह गरेको पाइएको छ । नयाँ पत्रिकाका अनुसार अप्ठ्यारोमा परेका सर्वसाधारणलाई २–३ लाख दिएर उनीहरुको धितोबाट २० लाखभन्दा बढी ऋण निकालेर अनियमितता गरेको पाइएको छ ।

धितो मूल्यांकनमा संलग्न इन्जिनियरको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकाले काठमाडौंबाटै बैंकका कर्मचारी र जग्गा दलालहरुको टोली नै त्यहाँ पुगेको लेखेको छ ।

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा


कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको जनाएको छ । भाषा परीक्षाका लागि आवेदन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बेंकमा पैसा जम्मा गरेका छन् ।

‘शाखाले अनलाइन आवेदन खुला गरेको पहिलो दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ’, अन्नपूर्ण लेख्छ– नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ । तर पहिलो दिनमै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर भुक्तानी गरिसकेका छन् ।

 

४ हजार वडा कार्यालयविहीन

चुनाव भएर जनप्रतिनिधिले काम थालेको एक वर्ष हुन लागिसके पनि अधिकांश स्थानीय तह कार्यालयविहीन छन् ।

कान्तिपुरका अनुसार ७७ जिल्लाका स्थानीह तहमा ६ हजार ७ सय ४३ वडा छन् । तीमध्ये झण्डै ४ हजार वडा कार्यालयको भवन छैन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अधिकांश वडा कार्यालयका आफ्नै भौतिक संरचना छैनन् । तिनीहरु भाडाका घरमा सञ्चालित छन् ।

चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर

नेपाल वायु सेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन । आएदेखि घाममा सेकाएर राखिएका ती जहाजमाथि थप विपत्ति आइलागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ह्यांगर छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको ‘बी ७६७’ सिरिजको ठूलो (वाइड बडी) आकारको जहाजले ठक्कर दिएको नागरिकमा समाचार छ ।

निगमसँग रहेको वाई१२–ई सिरिजको कलसाइन ‘९एन–एकेभी’ भएको जहाजको पुच्छरमा संयुक्त राष्ट्रसंघको साढे २ सयभन्दा बढी सिट क्षमताको बी७६७ जहाजले ठक्कर दिएको थियो । यो एक साताअघिको घटना हो । नागरिकका अनुसार, यही सिरिजको कलसाइन ‘९एन–एकेयू’ भएको अर्को जहाज ह्यांगरमा बडी घुमाउँदा नाकपट्टिको भाग चर्किएपछि थन्किएको छ । निगम व्यवस्थापनले दुवै घटना गुपचुप राखेको छ ।

र, यो पनि– पाकेट मारेरै घर–गाडी !


चोरी गरेको धनले कति दिन पुग्ला ? दुई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ–केही दिन, केही महिना वा केही वर्ष । तर अचम्म, कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्रै होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि ।

तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् ।

राजधानी दैनिकका अनुसार, काभ्रे स्थायी घर भएका विवेक लामाको पैसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ । पाकेट मारेकै भरमा उनले करोडौं सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नो गाडी छ, घर छ । तर पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment