Comments Add Comment

माझीगाउँ एकीकृत बस्ती निर्माणः सहयोग जुटेन, ऋणका लागि बैंक धाउँदै श्वेता


९ चैत, सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा एकीकृत बस्ती निर्माणको क्रम सुरु भयो । मेलम्चीको गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले छोटो समयमै एकीकृत बस्ती निर्माण गरि स्थानीयलाई हस्तान्तरण गरेपछि जिल्लाकी बुहारी (नायक स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी) श्वेता खड्काले चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित झ्याँडी किनारको माझीबस्तीमा एकीकृत बस्ती निर्माणको अगुवाइ र सुरुवात गरिन् ।

तर यतिबेला बस्ती निर्माण सम्पन्न गरेर स्थानीयलाई हस्तान्तरण गर्न श्वेतालाई सकस परिरहेको छ । श्वेताले बस्ती निर्माणका लागि आर्थिक संकलन गर्न सकिरहेकी छैनन्, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ‘ऋण’ का लागि धाइरहेकी छन् उनी ।

दश महिनाअघि श्वेता श्री फाउण्डेसनले एकीकृत बस्ती निर्माणको काम सुरु गरेको चौतारा साँगाचोकगढी –१४ स्थित माझीगाउँमा यतिबेला धमाधम घर संरचना ठडिँदै छन् । पुनर्निर्माणको सरकारी अनुदानकै भरमा एकीकृत बस्तीको काम अगाडि बढिरहेको छ ।

आइतबार झ्याँडीबस्तीमा पुग्दा भारतीय कामदारहरु धमाधम घरका गाह्रो लगाइरहेका थिए, स्थानीयहरु पालोपर्म गरेर डीपीसीमा जुटिरहेका थिए । ‘यही रफ्तारमा जाँदा जेठसम्म निर्माण सम्पन्न हुन्छ’, स्थानीय अगुवा एवं शिक्षक लालबहादुर श्रेष्ठ भन्दै थिए ।

निर्माण सुरु भएको एक वर्ष बित्नै लाग्दा १३ घरको मात्र गाह्रोको काम सम्पन्न भएको छ, छानो छाउन बाँकी नै छ । हालसम्म ३४ वटा घर डीपीसी गरिएका छन् ।

एकीकृत बस्ती निर्माणको जिम्मा पाएको सिन्धु क्रियटिभ मेलम्चीले आर्थिक अभावपछि काम नगर्दा नसक्दा बस्ती निर्माणले गति लिन नसकेको निर्माण पक्षकाे भनाइ छ ।

बस्ती बनाउने ठेक्का लिएको सिन्धु क्रियटिभ मेलम्चीले ‘मोविलाइजेसन’ खर्च नै छैन भनेर काममा ढिलाइ गरेपछि माझी समुदाय आफैं बस्ती निर्माणमा जुटेको शिक्षक श्रेष्ठले जानकारी दिए ।


झण्डै ६० घर निर्माण हुने यस बस्तीमा प्रति घर ७ लाख भन्दा बढीको लागत अनुमान छ । तर श्वेता श्री फाउण्डेसनले रकम जुटाउन सकेको छैन । ठेकेदारले काम नगरेपछि अहिले स्थानीय झ्याडी टोल सुधार समिति निर्माण गरेर बस्ती निर्माणको काम भइरहेको फाउण्डेशनका परियोजनाका व्यवस्थापक यज्ञराज कार्की बताउँछन् ।

जिल्लाका भूकम्पपीडितलाई सरकारले ९० प्रतिशत छुटमा सहुलियत काठ दिने भनिए पनि माझीगाउँलाई उपेक्षा गरेको स्थानीयको गुनासो छ । मिलेमतोमा एक जना ब्यक्तिलाई नै सयौं क्युफिट काठ दिइँदा एकीकृत बस्ती निर्माणका लागि सहुलियतको काठ नपाइएको उनीहरु बताउँछन् । काठ अभावमा एकीकृत बस्तीका घरहरुमा फलामकै झ्यालढोका हालिएका छन् । ‘काठ नभएपछि ‘भारतीय कामदारले फलामकै झयालढोका राखिदिएका छन्, काठको लागि सरकारी निकायले कुनै चासो दिएन’, टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले थपे ।

एकीकृत बस्तीः घरभित्र बस्नै सास्ती

एकीकृत बस्तीमा गारोको काम सम्पन्न भइसकेका १३ वटा घरमा अब छानोको काम सुरु हुँदैछ । तर ती घरहरु वातावरण र मौसममैत्री नभएको आवाज उठ्न थालेको छ । ९ फिटका गारोमाथि जस्तापाताका छानो हाल्दा गर्मीयाममा घरभित्र बस्नै नसकिने स्थानीय बताउँछन् । झट्ट हेर्दा चिटिक्क देखिने भए पनि गर्मीमा घरभित्र बस्न नसकिने उनीहरु बताउँछन् । जस्तापाताको छानोमुनि बस्नै नसकिने भन्दै स्थानीयले छानोमुनि सिलिङ हालिदन श्वेता श्री फाउण्डेसनलाई आग्रह गरेका छन् । ‘आवाज उठेपछि सिलिङ हाल्ने कुरा भएको छ’, टोल सुधार समितिका अध्यक्ष माझीले भने ।

सरकारी अनुदानले नै समस्या

एकीकृत बस्ती निर्माणका क्रममा स्थानीय र स्वेता श्री फाउण्डेशनबीच सम्झौता भयो–जग्गा खार्ने, निर्माण सामग्री ढुवानी, प्राविधिक सहयोगलगायत सहयोग फाउण्डेशनले गर्ने र अनुदानको रकमको पैसा भने लाभग्राहीले खर्च गर्ने । यही सहमति अनुसार काम सुरु भए पनि अनुदान प्रक्रिया ढिला हुँदा समस्या भएको फाउण्डेशनका परियोजना व्यवस्थापक यज्ञराज कार्कीले बताए । सबै प्रक्रिया पूरा गरेर अनुदानका लागि गए पनि झमेला भएको कार्कीको भनाइ छ । एकीकृत बस्तीमा बाल बगैंचा, बायो ग्याँस, बिजुली बत्तीलगायतका कामहरु फाउण्डेशनले गरिदिने कार्कीले बताए । ‘जस्तो सुकै समस्या आए पनि असारभित्रै पीडितहरुलाई घर भित्र राख्ने योजनामा छौं’, व्यवस्थापक कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment