Comments Add Comment

लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोहका २० जना पक्राउ

९ चैत, वीरगञ्ज । पर्सा प्रहरीले लट्री पर्‍यो भन्दै ठगी गर्ने अर्को गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालबाट ५० लाखको लट्री पर्‍यो भन्दै ठगी गर्ने पाँचौ गिरोहलाई शुक्रबार सार्वजनिक गरेको हो ।

यसअघि चार पटक पर्सा प्रहरीले यसरी नै लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा ८ जना भारतीय र १२ जना नेपाली नागरिक रहेका छन् । जस मध्ये ९ जना ठगी तथा संगठित मुद्धामा पूर्पक्षका लागि कारागार चलान भइसकेको पर्साका प्रहरी उपरीक्षक एसपी डा. गणेश रेग्मीले जानकारी दिए ।

पछिल्लो पटक पर्सा प्रहरीले दुई भारतीयसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रामगढवा ग्राम पञ्चायत अधकपकरिया-१० बस्ने २२ वर्षीय नौसाद आलम, सोही ठाउँ घर भइ हाल बाराको परवानीपुर गाउँपालिका-२ रामपुर टोकनी बस्ने २५ वर्षे अशोक यादव र पर्साको बहुदरमाई नगरपालिका-२ सिसयाडी बस्ने २१ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो ।

आलम जुनियर मेकानिकल ईन्जिनियर हुन् भने बाँकी दुवै जनाले आफ्नो एटीएम दिएर सहयोग गरेको पर्सा प्रहरीले जनाएको छ ।

आलमले दुवैजना सहयोगीसँग मिलेर प्रभावमा परेकाहरुको रकम जम्मा गर्ने गरेको र उनीहरुकै सहयोगमा भारत पठाउने गरेको पाइएको छ । सो रकम उनीहरुले दिल्लीमा बस्ने नेहाल अन्सारीलाई दिने गरेको प्रहरीसँगको बयानमा खुलाएका छन् ।

उनीहरुको साथबाट १ लाख ४७ हजार ८२२ रुपैयाँ नगद, नेपाली र भारतीय सिमसहितको मोबाईल ३ थान, फोटो, नागरिकताको प्रतिलिपी, विभिन्न बैंकको एटिएम कार्ड ७ थान, चेक बुक लगायतका समान प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई पर्सा प्रहरीले चैत ७ गते वीरगञ्ज महानगरपालिका वडा नं ३ स्थित सडकबाट पक्राउ गरेको थियो । उनीहरुले हृवाट्य एप, ईमो भाईबर र फेसबुक जस्ता सामाजिक सञ्चाल र मोबाईल फोनको एसएमएस मार्फत मानिसहरुलाई तपाईलाई ५० लाखको लट्र परेको छ भन्ने त्यसपछि सोही म्यासेज मार्फत प्रभावमा पारेर बैंक खाता नं र परिचय खुल्ने कागजात माग्ने गर्दै आएको पाईएको छ ।

उनीहरुले पुरस्कारका प्राप्त गर्नका लागि नेपाल सरकारलाई तिर्नुपर्ने राजश्व रकम जम्मा गर्नुपर्ने शर्त रहेको बताउने र बैंक खाता वा आईएमई मार्फत रकम पठाउन लगाउने गरेको पर्साका प्रहरी उपरीक्षक डा. रेग्मीले बताए ।

पैसा माग्नको लागि अझै प्रभावमा पार्न फसाईएका व्यक्तिहरुको बैंक खाता समेत उनीहरुले पैसा दिएको पाइएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

ठगीको ट्रेन्ड परिवर्तन

यसअघि राजश्व वापत भनिएको रकम आईएमईबाट पठाउन लगाउने गरेको गिरोहले अहिले नयाँ तरिका अपनाएको पाइएको छ ।

यस्ता ठगीको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार यसपटक थोरै परिवर्तन गरिएको छ ।

पछिल्लो पटक यसरी ठगी गर्नेहरुले आईएमी वा अन्य मनी ट्रान्सफर मार्फत रकम संकलन नगरी विभिन्न व्यक्तिहरुलाई फकाएर खाता खोल्न लगाएर सोही खाताको चेक वा एटीएमबाट निकाल्ने गरेको पाईएको पर्साका प्रहरी उपरीक्षक डा. रेग्मीले बताए ।

‘पहिला पहिला आईएमी र अन्य मनी ट्रान्सफरहरुबाट रकम मगाउने गरिएको थियो । ‘ उनले भने ‘ पछिल्लो घटनामा त्यस्ता देखिन्न उनीहरुले व्यक्तिलाई खाता खोल्न लगाएर वा भएकै खाता प्रयोगमा ल्याएको देखिन्छ ।’

उनीहरुले एउटा एटीएम एक पटक प्रयोग गरे वापत ५ सय देखि १ हजार रुपैयाँसम्म दिने गरेको तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment