Comments Add Comment

क्षयरोगका कारण नेपालमा वर्षेनी ७ हजार मानिसको मृत्यु

टिबी भनेर चिनिने क्षयरोग एक संक्रामक रोग हो । नेपालमा सरुवा रोगको सूचीमा क्षयरोग पहिलो नम्बरमा पर्छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई सबैभन्दा बढी असर पार्छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा करिब एक करोड मानिस क्षयरोगबाट प्रभावित छन् । त्यस्तै, विश्वमा क्षयरोगकै कारण वर्षेनी चार लाख मानिसको मृत्यु हुने गरेको छ भने  नेपालमा करिब ४४ हजार मानिस क्षयरोगबाट प्रभावित रहेकामा त्यसमध्ये करिब ५ देखि ७ हजार मानिसले क्षयरोगकै कारण वर्षेनी ज्यान गुमाइरहेका छन् ।

क्षयरोगका कारण हुने मानवीय क्षतिलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी दिने उद्देश्यले प्रत्येक वर्ष मार्च २४ तारीखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

क्षयरोग माइक्रोव्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुका कारण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सजिलै सर्छ । विशेषगरी, हाछिउँ गरेमा, खोकेमा हावाको माध्यमबाट यसको व्याक्टेरिया मानिसको शरीरमा सजिलै छिर्छ ।  धेरैजसो क्षयरोगले छाती तथा फोक्सोलाई असर पार्छ । त्यसबाहेक यसले हड्डी,  पेट, आन्द्रा तथा छालामा समेत असर पार्ने गर्छ ।

लक्षण

तीन हप्तासम्म पनि खोकी निको नहुनु

लामो समयसम्म ९९-१०० डिग्री ज्वरो आउनु

खान मन नलाग्नु

तौल कम हुनु

खकारमा रगत देखिनु

थकान महसुस हुनु

राती धेरै पसिना आउनु

छाती तथा फोक्सोमा सक्रमण हुनु

सास लिँदा कठिनाइ महसुस हुनु

क्षयरोगको संक्रमण

क्षयरोगबाट संक्रमित व्यक्तिको कफ, खकारबाट, हाछिँउ गर्नाले, खोक्नाले तथा उनीहरूबाट छोडेको सासबाट वायुबाट व्याक्टेरिया फैलन्छ जुन घण्टौंसम्म वायुमा रहने गर्छ । यसको संक्रमणमा परेमा एउटा स्वस्थ मानिस पनि यसकेा चपेटामा आउन सक्छ । जब क्षयरोगकेा व्याक्टेरिया फोक्सोमा पुग्छ, त्यतिबेला यो कयौ गुणा वृद्धि हुन्छ र फोक्सोलाई असर पार्न थाल्छ । फलस्वरूप रोग प्रतिरोधात्मक क्षमतामा र्‍हास आउँछ । जति जति शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ, क्षयरोगले शरीरलाई त्यति नै बढी संक्रमण गर्न थाल्छ ।

उपचार विधि

शरीरमा क्षयरोगको संक्रमण भए/नभएको विभिन्न तरिकाबाट पत्ता लगाउन सकिन्छ । छातीको एक्सरे, खकार तथा छाला जाँच गरेर क्षयरोग भए/नभएको सजिलै पत्ता लगाउन सकिन्छ । क्षयरोगको जाँच सरकारद्वारा सूचीकृत अस्पतालहरूमा निःशुल्क गर्न सकिन्छ ।

जोगिने उपाय

क्षयरोग लाग्नुभन्दा लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले क्षयरोग लाग्न नदिन केही कुरामा ध्यान दिनुपर्छ ।

-दुई हप्ता भन्दा बढी समय खोकी लागेमा तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

-संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्छ ।

-भीडभाडमा जाँदा मास्कको प्रयोग गर्नुपर्छ ।

-धेरै खोकी लागे वा खकारमा रगत देखिए तुरुन्तै जाँच गराउनुपर्छ ।

-रोग प्रतिरोधात्मक क्षमता कम नहोस् भन्नका लागि पर्याप्त मात्रामा पोषिलो तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment