Comments Add Comment

कर्मचारीका नेताहरुको एउटै स्वर : लालबाबुको अभिव्यक्ति हुकुमी छन्, फिर्ता लिनुपर्छ

९ चैत, काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी संगठनका नेताले स्वेच्छिक अवकाश कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति हुकुमी भएको आरोप लगाए ।

‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीमाथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाइएको स्थानमा गइसकेका छन्’ उनले भने ।

केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर रअन्य समस्यामा परेर नगएको भए पनि अधिकांश कर्मचारी खटाएको स्थानमा गएर काम गरिहरेको उनको जिकिर थियो ।

उनले थपे,’खटाइएको स्थानमा पुगेर कर्मचारीहरुले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैन यीलगायत यावत समस्याहरु हामीले सुन्नुपरेको छ’ ढकालले भने ।

नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिइएको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

‘जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहरुलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकारी हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ’ उनले भने ।

नेपाल निजामती कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निराशा आएको गुनासो गरे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन् । उनले भने, ‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’

मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment