९ चैत, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालय र मन्त्रालयमा कार्यालय समयमा फेसबुक चलाउन नपाइने भन्ने आफ्नो भनाइलाई बंग्याइएको गुनासो गरेको छन् ।
समयको बर्बादीलाई रोक्नका लागि कार्यालय समयमा सरकारी कार्यालयभित्र र मन्त्रालयभित्र फेसबुक चलाउन रोक लगाउने तयारी गरिएको भन्दै मुख्यमन्त्री शाहीले फेसबुक नै बन्द गर्ने कुरा भ्रमपूर्ण रहेको बताए ।
‘फेसबुक चलाउनै नपाइने होइन, सरकारी कार्यालय र मन्त्रालयमा कार्यालय समयमा चलाउन नदिने तयारी गरिएको छ,’ मुख्यमन्त्री शाहीले भने,’ कार्यालय समयमै फेसबुक चलाउँदा समयको बर्बादी भएको छ यसलाई रोक्न यस्तो तयारी गरिएको हो ।’
सरकारी कार्यालयहरुसँगै विद्यालयहरुमा पनि पढाइ हुने समयमा फेसबुक चलाउन नपाइने मुख्यमन्त्री शाहीले बताए ।
साथै सामाजिक सञ्जालका माध्यमबाट हुने बिकृतिहरु रोक्नलाई पनि प्रदेश सरकार लागि परेको मुख्यमन्त्री शाहीले बताए । तर, इन्टरनेट सेवालाई भने विस्तार गर्दै व्यवस्थित गरिने उनको भनाइ छ ।
यस्तै कर्णाली प्रदेशमा मनोमानी रुपमा संचालन भएका गैरसरकारी संस्थाहरुलाई पनि नियमन गर्ने बताए ।
एनजीओहरुले चाहेको ठाउँमा मनोमानी रुपमा नभइ सरकारले आवश्यकता अनुसार एनजीओलाई काममा लगाउने उनको भनाइ छ । ‘एनजीओको मनोमानी चल्दैन,’ उनले भने,’एनजिओले उनीहरुले चाहेको ठाउँमा होइन सरकारले आवश्यकता ठानेको ठाउँमा उनीहरुलाई पठाउने हो ।’