Comments Add Comment

कथाः सत्यवतीको कौमार्य

‘ओहो, आज त धेरै विलम्ब भैसकेछ, नदी पार गर्न चाहने यात्रुहरु यमुना तटमा प्रतिक्षा गरेर बसिरहेका होलान् ।’

सत्यवती हतार–हतार शयनबाट उत्रेर नित्यकर्मबाट निवृत्त हुनतिर लागिन् । यसमा खासै समय लागेन । स्नानादि कार्य गरिसकेपछि स्त्रीजन्य स्वभावले प्रेरित भएर सौंन्दर्य बढाउन यमुना किनारमा अवस्थित आफ्नो सानो घरको शयनकक्षको बाँसले बारेको भित्तामा झुण्ड्याइएको सानो पुरानो ऐना सामु उभिएर आफ्नै सौंन्दर्यले मोहित भई मुस्कुराइन् ।

“यमुना किनारको यो गाउँमा मजतिको सुन्दर स्त्री कोही छैन । सबै सखीहरु मेरो रुप देखेर ईश्र्याले जलेका छन् । गाउँका नवयुवकहरु मेरो पछाडि चाहनाको निश्वास छोड्छन् । मलाई अंगाल्न चाहन्छन् ।” मनमनमा यसरी कल्पिन् ।

आफ्नो सुन्दरताको मोहनी रुपको कल्पनामा डुबेर उनी प्रफुल्लित हुन्छिन् । उनलाई थाह छ, उनी एक यौवनले मस्त युवती हुन् । विधाताले उनलाई समयको परवाह नगरी धेरै मिहेनतले सृष्टि गरेका हुन किजस्तो लाग्थ्यो । उनी अद्वीतिय सुन्दरी थिइन् । उनको शारीरिक अवयवको सटिकता हेर्दा पुरुषहरु भुतुक्कै हुन्थे । यमुना तटको उक्त स्थान मात्रै हैन, वरिपरिको कैयौं गाउँका पुरुषहरुको उनी आकांक्षा थिइन् । कैयौं युवकहरुले उनको कारण भोक, तीर्खा र निन्द्रा त्याग गरेका थिए ।

आफ्नो सुन्दरतामा दुनियाँ भुलेको अनुभूति भएर पनि उनमा किञ्चित अहम थिएन । उनको उमेरका अन्य युवतीहरुमा झैं उनमा पनि बैंशालु चञ्चलता भरिपूर्ण थियो । उनमा पनि प्रकृतिले यो उमेरमा प्रदान गर्ने सबै प्रकारका स्त्रीजन्य चाहना, भावना अनि कल्पनाहरु एकरति कमी थिएन ।

बाँसको काँइयोले कपाल कोरिसकेपछि उनले त्यसको चुल्ठोमा सेतो गोदावरीको सुगन्धित फुल सिउरेर आफूलाई ऐनामा हेरिन् । चमेलीको बासना आउने तेल लगाएर कोरिएको लामा र कालो केशराशीमा घुसाइएको त्यो सेतो फूलले राति गगनमा देखिने चन्द्रमाको झल्को प्रदान गरेको थियो । त्यसपछि उनले विभिन्न जडीबुटी मिसाएर घ्युमा तयार गरिएको गाजलले नयनको श्रृंगार गरिन् । आँखाहरु ठूला ठूला देखिए । उनको सुन्दरता दुई गुणाले बढेको देखियो । त्यसपछि क्रमशः गालामा गुलाबको लाली पोतिन् , ओठमा काँचो सिम्रिकको रङ दलिन् । यसरी उनले आफूलाई पूर्णरुपले तयार गरिसकेपछि आफूलाई सबभन्दा मनपर्ने बस्त्र झिकेर लगाइन् । ऐना सामु घुमेर अगाडि पछाडि हेरेर सन्तुष्ट भएपछि आफूलाई इन्द्रकमल फूलको वासना आउने अत्तरले सुगन्धित बनाइन् ।

उनलाई आफूमा भएको एउटा मात्र कुरा मन पर्दैन थियो । उनको त्यो सुन्दर शरीरबाट माछाको जस्तो गन्ध आउँथ्यो । उनी त्यसैलाई छोप्न नियमित अत्तर प्रयोग गर्थिन् । माछाको जस्तो गन्ध आउने युवती भएकी हुनाले उनलाई सबैले “मत्स्य गन्धा” भनेर जिस्काउने गर्थे ।

उनलाई आफ्नो यही एउटा दुर्वल पक्षले पीडा दिन्थ्यो । यदि उनको शरीरबाट त्यो गन्ध हट्ने हो भने उनी जस्तो कर्म पनि गर्न पछि पर्दिन थिइन् । जस्तोसुकै परिणाम भोग्न पनि तयार थिइन् ।

००००

सत्यवतीलाई उनको शरीरबाट किन माछाको जस्तो गन्ध आउँछ भन्ने कुराको सतही ज्ञान थियो । बाबाले उनलाई भन्ने गर्दथे कि उनी कुनै माछाको कोखबाट जन्मिएकी हुन् । माछाको गर्भमा गर्भाधान भएर जन्मेकी हुनाले उनको शरीरबाट माछाको जस्तो गन्ध आएको हो ।

नियती पनि कति कठोर हुँदोरहेछ । उनका पिताजी राजा थिए रे । उपरिचर उनको नाम थियो । कहिले हिँड्नु नपर्ने, गुड्नु नपर्ने उनी एक स्थानबाट अर्काे स्थान जानलाई बिमानको प्रयोग गर्थे रे । सधैं उड्ने हुनाले उनको नाम नै उपरीचर भएको रे । पिताजीको यस्तो कथा उनले सधैं सुन्दै आएकी थिइन् । यस्तो धनवान राजाकी छोरी किन यमुना नदीमा यात्रुहरुलाई डुंगामा ओहोर दोहोर गराएर जिविकोपार्जन गरिरहेकी छ । सम्झँदैमा उनलाई दैबको लीला अनौठो लाग्छ ।

उनकी आमा पनि पूर्वजन्ममा अद्रिका नामकी स्वर्गकी अप्सरा थिइन् रे । भूलवश गरेको कुनै गल्तीको सजायँस्वरूप ब्रह्माजीको श्रापका कारण यमुना नदीमा माछाको जीवन जिउन वाध्य भएकी थिइन् ।

सत्यवतीलाई आफ्नो गर्भाधान कसरी भयो भन्ने थाह थिएन । तर विधाताले उनको गर्भाधान अस्वभाविक गराएको थियो ।

एक दिन राजा उपरिचर कामान्ध भएर यमुना माथि उडिरहेका थिए । काम वसानाले आक्रान्त उनले वीर्यको वेगलाई नियन्त्रण गर्न सकेनन् । स्खलित भएको विज पतन भएर नदीमा झर्‍यो । उता भोकले व्याकुल माछारुपी अद्रिकाले हत्पत त्यसलाई निल्न पुगिछन् । तत्क्षण गर्भ रहन गई दशौं महिना पश्चात एक कन्याको जन्म भयो । जसको नाम माझीहरुले सत्यवती राखी दिएछन् । हो, यही कन्या आज नाविक सत्यवतीको रुपमा यमुना नदीमा डुंगा चलाइरहेकी थिइन् ।

००००

तयार भएर अन्तिमपल्ट ऐना हेरिसकेपछि सत्यवती यमुना तटतर्फ प्रस्थान गर्न घरबाहिर निस्किइन् । बैंशले उन्मत्त उनको शरीरले चपलता प्रदर्शन गरिरहेको थियो । उनको चाल अत्यन्त आकर्षक थियो । तेजिलो मुहार सुन्दरताको साथसाथै व्यवहारिक गम्भीरताले दिप्त थियो । उनी हिंड्ने बाटोमा प्रतिक्षारत पुरुष नयनहरुले उनलाई यमुना तटसम्म पछ्याइरहे । उनले युवकहरुले गरेको यो दृष्यपानबाट मीठो अनुभूति गरिन् । उनलाई लाग्यो, आजको श्रृंगार सम्पूर्ण परीक्षाहरुमा सफल भयो ।

यमुना तटको आफ्नो डुंगालाई सरसफाइ गरेर उनले त्यसलाई पानीभित्र अलि परसम्म घँचेटेर राखिन् । किनारमा डुंगालाई बाँधेको डोरी एकपटक राम्ररी जाँचेर उनी यमुना पारि जाने यात्रीको पर्खाइमा एक छेउ लागेर बसिन् ।

नदी एकोहोरो भएर आफ्नो प्रवाहमा बगिरहेकी थिइन् । स्वाँको निरन्तर आवाजको गहिराइमा सत्यवती कतै हराइरहेकी थिइन् । वरपरको कोलाहलले उनको अलिकति पनि ध्यान भंग गर्न सफल भएको थिएन ।

परबाट पराशर ऋषिको नेतृत्वमा २०/२५ जना अन्य ऋषिहरु नदी तट नजिक आउँदै गरेको देखियो । तटमा रहेका सबैजनाको कानमा वेदका ऋचाहरु छन्दवद्द वाचन गरिएको आवाज गुञ्जिन थाल्यो । सबैजनाका आँखा ऋषिहरुको हुलतिर मोडियो । वातावरण वेद मन्त्रले तरंगित भयो ।

“ॐ सहना भवतु सहनौ भूनात्तु सह विर्यम् करवा वाही

तेजस्विना बधीतमस्तु महाविद्वशावाही

ॐ शान्ति: शान्तिः शान्तिः”

ऋषिहरु नदीतटको बालुवामा पाइलाको डोब छोड्दै नदी किनारसम्म आइपुगे । तत्पश्चात समुहको नेतृत्वकर्ता पराशरले तीक्ष्ण दृष्टिले त्यहाँको अवलोकन गरे । उनको नजरबाट केही पर चुपचाप बसेकी सत्यवती छिप्न सकिनन् । उनी अन्य ऋषिहरुलाई त्यही रोकिन निर्देशित गरेर सत्यवती छेउ पुगे । उता वेद मन्त्र आफ्नै छन्दमा जारी थियो ।

सारा संसारलाई भुलेर कल्पनामा डुबेकी सत्यवतीको ध्यान ऋषिको पाउको आहाटले भंग भयो । नयन उठाएर हेर्दा उनले आफ्नो अगाडि अत्यन्त तेजस्वी योगी देखिन् । उनले बडो आदरका साथ तिनलाई प्रणाम गरिन्:

“प्रणाम योगिवर । ”

“आयुश्मती हुनु , सौभाग्यवती हुनु । ”

ऋषिले आशिर्वाद प्रादान गरे । यस्ती सुन्दरी एवं यौवनले मस्त भएकी नवयौवना कन्या देखेर उनको मन बिचलित भयो । भोग इच्छा बढेर आयो । कामूक आँखाले सत्यवतीलाई हेर्दै उनले धोद्रे स्वरमा सोधे:

“ हे सुन्दरी , तिमी को हौ ? के गर्छौ ?”

“ म माझीपुत्री सत्यवती हुँ । म यही यमुनामा डुंगा चलाउने काम गर्छु । ”

सत्यवतीले किञ्चित लजाएर उत्तर दिइन् । उनको नजरबाट योगीको मनोकांक्षा लुक्न सकेन । उनलाई अलिकति भय लाग्यो । मनमनै सोचिन्

“हेर्दा त उच्चकोटिको योगीजस्तो छ । तर, मलाई यसरी खाँउला जस्तो गरेर किन हेरेको होला । यसको नियत असल छैन, मैले जोगिनुपर्छ ।”

उनले यति सोच्नु के थियो धोद्रे स्वरमा पुनः ऋषि बोले:

“ हे कन्या , मलाई तिमी अत्यन्त मन पर्यौ । मलाई तिमीसँग समागमको इच्छा भयो, तिमी आफ्नो शरीर मलाई सुम्पिदेउ । म तिमीबाट आफ्नो कामवासना शान्त गर्न चाहन्छु । ”

यसरी सिधै यौन प्रस्ताव राखेको सुनेर सत्यवती क्रोधित भइन् । उनलाई क्रोध सँगै लाज पनि लाग्यो । उनले प्रतिवाद गरिन्:

“ हे योगिवर , हजुर उच्चकोटिको ऋषिजस्तो देखिनुहुन्छ । हजुरलाई आफ्नी छोरी समान मसँग यस्तो कुरा गर्न अप्ठ्यारो लाग्दैन ? शरम लाग्दैन ? यसरी कहिल्यै नभेटेको र नचिनेको युवतीलाई सम्भोग प्रस्ताव राख्ने हजुर को हो ?”

“ म ऋषि पराशर हुँ ।”

योगीले परिचय नलुकाई बताए ।

पराशर ऋषिको नाम सत्यवतीले सुनेकी थिइन् । यी ठूला ऋषि हुन् भन्ने उनलाई जानकारी थियो । उनलाई परिस्थिति असहज लाग्यो । बैंशले भरीभराउ भएकी उनलाई कताकता काउकुती समेत लाग्न थाल्यो । एकातिर ऋषिको इच्छा पूरा गरिदिए धर्म हुने, अर्काेतिर आफ्नो कौमार्य भंग हुने । उनी दोधारमा परिन् । अन्त्यमा आफ्नो कौमार्यलाई प्राथमिकता दिँदै उनले ऋषिइच्छाको प्रतिवाद गरिन्:

‘हे ऋषिवर, म कुमारी युवती, हजुरसँग समागम भएपछि मेरो कौमार्य नष्ट हुने हुनाले हजुरको इच्छा पूरा गर्न असमर्थ छु, मलाई माफ गर्नुहोला ।’

युवतीको यस्तो कुरा सुनेपछि ऋषि बोले–

“हे सुन्दरी , म तिम्रो रुप देखी मोहित भएको छु , तिमी मलाई तिम्रो यौवन दिदैनौ भने म तिमीलाई श्राप दिन्छु । ”

श्रापको डरले सत्यवतीको शरीर थरर काँप्यो । उनको अनुहार भयले सेतो भयो । उनले ब्रम्हाण्ड डुब्दै गरेको देखिन् । मान्छेलाई आखिर सहज र श्राप मुक्त जीवन जिउने रहर हुने रहेछ । श्रापित जिन्दगी भन्दा त बरु यिनलाई एकपटक शरीर सुम्पदा के होला र ? उनको यो दुविधा देखेर ऋषिले पनि उनलाई फकाउन थाले:

“हे सुन्दरी , तिमीले मेरो चाहना पूरा गरीदियौ भने म तिम्रो शरीरबाट आउने माछाको दुर्गन्ध मेरो मन्त्रको शक्तिले सधैंका लागि हटाइदिन्छु । ”

भय र छटपटीले यमुना किनारको त्यो अत्यन्त गर्मीमा पनि सत्यवतीको पसिना छुटेको थियो । पसिनाले उनले लगाएको अत्तरको सुगन्धलाई समेत पराजित गर्दै परासरको नाकसम्म कतिबेला माछाको गन्ध पु¥याइसकेको रहेछ । प्रकृतिसँग यही कुरामा सधैं असन्तुष्ट रहेकी उनी यदि यो गन्ध साँच्ची हराउने हो भने एकपटकलाई यी योगीसँग समागम गर्दा के होला भनेर बिचार गर्न थालिन् । उनको सतित्व रक्षा गर्ने बललाई उनकै असन्तुष्टिले जित्यो । र, मसिनो स्वरमा भनिन्–

“ऋषिवर , यहाँ यति धेरै मान्छेहरु छन् , हजुरसँग आएका त्यति धेरै ऋषिहरुसमेत यही छन् अनि हाम्रो समागम कसरी हुन्छ ?”

सत्यवतीको स्वीकृति प्राप्त गरेपछि पराशरले सबभन्दा पहिले उनको शरीरबाट आउने माछाको दुर्गन्धलाई आफ्नो तपोवलले हटाइदिए ।

अनि बोले-

“ हे स्त्री , तिम्रो शरीरबाट आउने दुर्गन्ध अब हराएको छ , तिमी माछाको गन्धबाट मुक्त भयौ । परीक्षण गर । ”

सत्यवतीले आफ्ना औंला काखी मुनि लगेर दलिन् । उनको काखीबाट नै धेरै मात्रामा माछाको गन्ध आउँथ्यो । काखीमा दलेको औंलालाई सुँघ्दा सधैंजस्तो माछा गन्हाएन । उनी अल्हादित भएर एक्कासी चिच्याइन्:

“धन्यवाद छ ऋषिवर, हजुरको इच्छा पूरा गर्न म तयार छु ।”

तत्पश्चात पराशरले सत्यवतीलाई डुंगा खोल्न लगाए । उनले फेरि आफ्नो तपोवलले यमुना किनारको त्यो सम्पूर्ण ईलाकामा बाक्लो हुस्सुको सिर्जना गरिदिए । सामुन्ने समेत देखिन छाड्यो । त्यहाँ उपस्थित कसैले पनि के भयो, थाहा नपाउने भए । त्यसपछि ती दुबैजना डुंगा खियाउँदै बाक्लो हुस्सुकै बीचबाट यमुनाको मध्यमा अवस्थित द्वीपमा पुगे ।

कामवासनाले आफू ऋषि हुँ भन्ने समेत बिर्सेंका एक योगी र आफ्नो सुन्दरतामा शरीरबाट निस्कासन हुने दुर्गन्धलाई अवरोध ठान्ने अर्की युवतीको निहित स्वार्थले समाजको नियमलाई कुल्चँदै उक्त द्वीपमा यौनको खेल खेलेको देखेर प्रकृतिले आफ्ना आँखा चिम्लिइन । कामान्ध दुईजनाको त्यहाँ देखिएको दृश्यमाथि नयन खुल्ला रहेका अन्य कसैको दृष्टि नपरोस् भनेर मायाले उत्पन्न गरेको बाक्लो हुस्सुलाई समेत शरमले आकुलब्याकुल बनाउँदै गयो । समय टक्क रोकियो , धर्ती स्थिर भइन् , समस्त ब्रह्माण्ड निमेष भर कम्पित भयो । ठीक त्यही क्षण पराशर र सत्यवतीको सत्यताको बिज, डिम्बसहित तल रसातलमा गल्र्याम गुर्लुम ढल्यो ।

नदी तटमा भने अझै अन्य ऋषिहरु यो घटनाबारे बेखबर बैदिक ऋचाहरु छन्दवद्ध वाचन गरिरहेका थिए । वातावरण बेदका मन्त्रहरुले गुन्जयमान भैरहेको थियो ।

“ ॐ असतोमा सत गमय ,

तमसोमा ज्योतिर्गमय ,

मित्र्योरमा अमृतं गमय ,

ॐ शान्तिः शान्तिः शान्तिः”

(आचार्य धरान निवासी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment