केटोले केटीलाई अंगालोमा बेरिरहेको थियो । केटी पनि केटोको अंगालोमा बेरिइरहेकी थिई । होटलभित्रको त्यो दृश्य मैले होटलबाहिरको सीसाबाट देखेको थिएँ ।
त्यसपछि मात्र भेटेको हुँ मैले उनीहरुलाई । त्यसपछि गल्लीको होटल छोडेर मुख्य सडकमा हामीले कार कुर्यौं। जोडीमध्ये केटोले मेरो नाम सोध्यो र आफ्नो नाम पनि भन्यो तर उसले आफ्नो नाम मात्र भनेन, ‘माई नेम इज रोब एन्ड हर नेम इज जेन ।’
हामीले त्यसबाहेक अरु पनि कुरा गर्यौं । मैले अन्तिममा भनें, ‘मेरा दुईटा किताब पनि छन् ।’
‘ओहो ! तिमी त लेखक रहेछौ । तर, हामी पनि लेखकै हौं । हाम्रो पनि किताब छ’, रोबले भन्यो ।
ऊ त्यतिमै रोकिएन, ‘हो, हामीले पनि किताब लेखेका छौं र हाम्रो किताबको नाम हो, ब्युटी एन्ड विस्ट ।’
म खुशीले अचम्भित भएँ । तर, उसले डिस्नीको सन्दर्भ उल्लेख गर्दै भन्यो, ‘आइ एम जोकिङ । बिकज जेन इज ब्युटीफुल एन्ड आई एम लाइक विस्ट ।’
विषयान्तरलाई सहजै स्वीकार्दै मैले उसको सेन्स अफ ह्युमरलाई सम्मान गरें ।
भनें, ‘नो यु आर नट् विस्ट । यु आर गुड इन सेन्स अफ ह्युमर एन्ड यु आर गुड ।’
म पनि त्यतिमा रोकिइनँ, ‘यदि जेन र मलाई तुलना गर्ने हो भने उसलाई व्युटी र बरु मलाई चाहिँ विस्ट भन्न सुहाउला ।’
मैले त्यति भनेपछि रोबले मलाई विस्टसँग तुलना नगर्न भन्दै मेरो आवरणको प्रशंसा गर्याे । त्यसपछि जेनलाई साक्षी राखेर रोब र म दुवैले हामीलाई असल घोषणा गर्यौं । मैले आफैले आफैलाई असल घोषणा गरेको त्यो पहिलो अवसर थियो ।
मैले नेपालबारे बताएँ । काठमान्डु उपत्यकाबारे पनि बताएँ । पशुपतिनाथ र बौद्धनाथबारे पनि बताएँ । त्यसपछि मैले उनीहरुबारे जान्न चाहें । तर, त्यसअघि रोबले नेपाली ड्राइभरबारे जान्न चाह्यो, ‘नेपाली ड्राइभरहरु बिना लाइसेन्स ड्राइभ गर्छन् ?’
उसले त्यो प्रश्न किन गरेको थियो भने उसले केही मिनेटअघि मात्र ड्राइभरहरुले सडक अनुशासन उल्लंघन गरेको देखेको थियो । गलत साइडबाट जथाभावी ओभरटेक गरेको, सडक लेनलाई क्रस गरेर अगाडि बढेको र हर्न निषेधित क्षेत्रमा हर्न बजाएकोजस्ता अनेक नियम उल्लंघन केही मिनेटकै अवधिमा मसँगै उसले पनि देखेको थियो ।
पशुपतिनाथको दक्षिण ढोकाभित्र प्रवेश गर्दागर्दै फेरि मैले उही प्रश्न दोहोराएँ, ‘तिमीहरुबारे पनि भननँ ।’
‘म मेकानिकल इन्जिनियर हुँ’, रोबले भन्यो ।
‘मैले धेरै बर्ष फोरसेनिकमा काम गरें’, जेनले भनी ।
‘कति बर्ष ?’, मैले सोधें ।
‘दश बर्ष’, उसले भनी ।
‘त्यसपछि ?’, मैले फेरि सोधें ।
‘अहिले म त्यस्ता बालबालिकाहरुका लागि काम गर्छु, जसलाई राम्रो व्यवहार गरिएको छैन’, उसले आफ्नो पछिल्लो कामबारे बताई ।
‘जस्तो ?’, म थप स्पस्ट हुन चाहें ।
‘जस्तो कि बाबु जेलमा छ । र, आमाबाट ती सन्तानले राम्रो व्यवहार पाएका छैनन् । अथवा डिभोस्र्ड् अभिभावकका बालबालिका । वा अरु थुप्रै कारणले आफ्नो अधिकारबाट बञ्चित बालबालिकाहरुका हितका लागि लागि म काम गर्छु’, उसले बुझ्न सजिलो हुने गरी प्रस्ट्याई ।
‘के तिमीहरु त्यो पहिलो क्षण सम्झन सक्छौ जब …?’, विषयान्तर गर्दै मैले त्यति भनिरहँदा बागमतीको पश्चिम किनारमा तीनओटा शवहरु जलिरहेका थिए । शव जलिरहेको दृश्य देखेपछि मैले वाक्य पुरा गर्न सकिन । म त्यतातिर हेर्दै टोलाएँ । तर, रोब र जेनले एकैसाथ भने एउटै शब्दको एउटै उत्तर दिए, ‘यस् ।’
तर, जेन त्यतिमै रोकिइन ।
‘लेट’, स्वरलाई तिखारेर उसले भनी ।
‘लेट ?’ मैले सोधें ।
मैले सोचें, म जे सोध्दै थिएँ, त्यो उसले बुझिन । त्यसैले उसले ताल न सुरको उत्तर दिंदैछे ।
‘लेट !’, त्यसैले मैले फेरि पनि आश्चर्य मिसाएर अनविज्ञता प्रकट गरें ।
‘फाइभ मिनेट लेट । रोब हामीले तोकेको समयभन्दा पाँच मिनेट ढिला आएका थियो’, उसले भनी ।
त्यसपछि बल्ल मैले कुरा बुझें ।
‘तिमीले उसलाई कहाँ कुरेकी थियौ ?’, मैले उनीहरुको पहिलो भेटको स्थानबारे प्रश्न गरें ।
‘रेस्टुरेन्टमा’, उसले भनी ।
‘त्यसो भए प्रतीक्षाको त्यो समय तिमी कफीसँग आनन्द लिएर बिताउँदै थियौं । होइन त ?’, मैले हाँस्दै भनें ।
‘द्याट् ह्वाज भेरी हार्ड्’, उसले भनी ।
‘कफी कि प्रतीक्षाको घडी ?’, मैले सोधें ।
‘प्रत्येक एक सेकेन्ड मलाई एक घन्टा लागिरहेको थियो । त्यस्तो किन भइरहेको थियो भने म उसलाई भेट्न निकै एक्साइटेड थिएँ’, उसले भनी ।
‘म पनि …’, मेरो र जेनको निकै बेरको सम्वाद सुनिसकेपछि रोबले भन्यो ।
पारिपट्टि शवहरु जलिराखेका थिए । हामी धुवाँले ढाकेको आकाशमुन्तिर थियौं ।
‘त्यो भेट नै तिमीहरुको पहिलो भेट थियो ? अथवा त्यसअघि तिमीहरु भर्चियुअल्ली भेटिइसकेका थियौ ?’, मैले दुवैलाई एउटै प्रश्न गरें ।
‘हो, हामी सुरुमा इन्टरनेटमा भेटिएका हौं’, दुवैले एकसाथ एउटै उत्तर दिए ।
‘रोब भनेको समयभन्दा पाँच मिनेट ढिला आइपुग्यो’, जेनले फेरि उही कुरा दोहोराई ।
‘त्यसपछि हामीले तीन घन्टा कुरा गर्यौं’, रोबले सम्झियो ।
‘त्यसपछि …’, म थप जिज्ञाशु भएँ ।
‘त्यसपछि म अस्टेलिया गएँ । त्यहाँ मेरो दुई साता लामो काम थियो’, मेकानिकल इन्जिनियर रोबले भन्यो । उसलाई दुई साता पनि लामो लागेको सुनेर म छक्क परें । तर, प्रेममा परेपछि दुई साताको के कुुरा कहिलेकाहीँ दुई मिनेट पनि कति लामो हुन्छ, त्यो जेनले अघि नै बताइसकी ।
‘त्यसपछि ?’, म अझै जिज्ञाशु भइरहें ।
‘त्यसपछि फर्के । जेनलाई भेटें’, उसले भन्यो ।
‘त्यसपछि ?’
‘विस्तारै बिस्तारै हामी झन झन् नजिकियौं ।’
‘त्यसपछि ?’
‘हामी संगै बस्न थाल्यौं । झन्डै डेढ बर्ष’, केटाले भन्यो ।
‘होइन, झन्डै दुई बर्ष’, केटीले सच्याई ।
‘त्यसपछि ?’
‘दुई महिनाअघि हामीले बिहे गर्यौं । झन्डै चार बर्षको यात्रापछि अहिले हामी तिमीसँग छौं’, जेनले भनी ।
‘फेसबुक कि वाट्स अपबाट तिमीहरु भेटियौ ?’, मैले सोधें ।
‘ती दुवैबाट होइन । हामी म्याचडटकमबाट भेटिएका हौं’, रोबले भन्यो ।
बौद्धबाट फर्केर कारलाई कुर्दै गर्दा मैले सोधें, ‘के यो कमन हो ?’
‘हो, तर अरु पनि थुप्रै वेभसाइट छन्, जसका माध्यमबाट केटाकेटीले नयाँ जीवन सुरु गरेका छन्’, पकनाजोल फर्कदै गर्दा रोबले भन्यो ।
त्यसपछि उनीहरुमात्र होइन, म पनि एकछिन चुप लागें ।
शुन्यतालाई चिर्दै एक्कासी जेनले भनी, ‘हेलो राइटर गाइड ! म तिमीलाई हाम्रो कथाको अन्त्य भनिदिऊँ ?’
‘भनन्’, मैले भनें ।
‘कथाको अन्त्य यसरी हुन्छ । सुरुमा विस्ट मान्छे थियो । बीचमा ऊ राक्षसमा रुपान्तरण भयो । त्यसपछि ऊ फेरि मान्छे बन्यो’, उसले कथाको क्लाइमेक्स भनिदिई ।
त्यसअघि म साच्दै थिएँ, यो कथाको अन्त्य कसरी गरुँ ? तर, जेनले मलाई कथाको समापन सुत्र दिई ।
त्यसपछि मैले उनीहरुतिर फर्केर रोबलाई औलाले ताकेर भनें, ‘रोब जेनलाई भेट्नुअघि तिमी मान्छे थियौ । जब जेनलाई भेट्यौ तिमी जेनप्रति राक्षस (विस्ट) जसरी आशक्त भयौ । तर, जब तिमीले जेनलाई आफ्नो जीवनमा पायौ, तिमी फेरि मान्छे भयौ’, त्यति भन्दै म जेनतिर मोडिएँ, ‘जेन ! तर, हामी प्रत्येकसँग भित्र कता हो कता राक्षस छ । तिमीसँग पनि । हो, हामी सबैसँग विस्ट (राक्षस) छ तर हामी त्यसलाई व्युटी (मानव)मा रुपान्तरण गर्न सक्छौं ।’
त्यति भनिसकेर मैले कारको अघिल्लो सीटबाट पछिल्लो सीटमा बसेका इङ्ल्यान्डका वेल्सनिवासी उनीहरुको संयुक्त फोटो खिचें । उनीहरुले अनुहारलाई अनेक आकृतिमा कुच्याए । मैले उनीहरुको व्युटी र विस्ट दुवै अवतारका अनेक फोटो खिच्ने मौका पाएँ ।
सुकिलो मुस्कानसहित जेनले भनी, ‘आशा गर्छु, तिमीले हामीसँगको समयलाई पक्कै एउटा सुन्दर कथा बनाउने छौं ।’