Comments Add Comment

उदाउँदो सूर्यलाई अर्घ दिई चैते छठको समापन


१० चैत, धनुषा । चैते छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजार्चना गरी पर्व समापन गर्ने परम्परा छ । वर्तालुले यहाँका इतिहासवर्णित गंगासागर र अरगजालगायत पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिएर आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

अघ्र्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसुवा, माटाको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो राखिन्छ । सूर्यलाई दिइने अघ्र्यमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ । अस्ताउने र उदाउने दुई वटै सूर्यलाई अभिनन्दन गर्नाको अर्थ जीवनमा सुख–दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटाका रूपमा लिइनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment