Comments Add Comment

पुस्तक समीक्षाः नथिया नाकमा कि नाइटोमा ?

मेरो हातमा आइपुगेको थिएन ‘नथिया’ । तर पढ्नुको उत्सुकताले मनमा डेरा जमाएर बसेको थियो । ०७४ फागुनमा काठमाडौंमा विमोचन भएको ‘नथिया’ पोखरामा भने फागुन २७ मा विमोचन भयो–गृह विमोचन । संयोग यो पनि थियो कि दुवै विमोचनमा म उपस्थित थिएँ ।

विमोचन हुनुभन्दाअघि नै चर्चाको बाटो समाइसकेको थियो नथियाले । जसले पाठकलाई एकपटक भए पनि पढ्नुपर्छ भन्ने हुटहुटी जगायो । त्यसमध्ये म पनि एक थिएँ–‘पाठक’ ।

प्रोमो तथा सामाजिक सञ्जालमा चर्चा चुलिँदो थियो । प्रकाशन नहुँदै ‘वरिष्ठ’ एवं ‘राष्ट्रिय’ लेखकहरुको वालमा ‘नयाँ पाठक’लाई पढ्नका लागि एक हिसाबले सिफारिसप्राप्त कृतिजस्तो भइसकेको थियो । खास कस्तो छ त ‘नथिया’को भित्री गुत्थी ? पाण्डुलिपि पढ्नेलाई मात्र थाहा थियो ।

पश्चिम नेपालको दाङ जिल्ला । तत्कालीन राप्ती अञ्चलको एक मुख्य व्यापारिक, आर्थिक, भौगोलिक केन्द्र । तराई(भित्री मधेस) को एक जिल्ला हो दाङ । जहाँ मौसमले सताउँछ, कहिले रापिलो घाम भएर त कहिले धमिलो हुस्सु बनेर ठिहिर्‍याइदिन्छ–दैनिकीहरु ।

त्यही दाङ –‘पक्रैया’ (हालको घोराही शान्तिनगर टोल) ठाउँको वादी समुदायका बारेमा लेखिएको एउटा उपन्यास हो – ‘नथिया’ । ‘सामली’लाई मुख्य पात्र बनाएर लेखिएको यो उपन्यासकी लेखक कवि सरस्वती प्रतीक्षा चिनाइरहनुपर्ने नाम होइन ।

यस उपन्याससँगै उनको नामका पछाडि ‘कवि’ सँगै ‘उपन्यासकार’ पनि जोडियो । वाहवाही सँगै आलोचकहरुबाट आलोचनासमेत पायो–कृतिले/लेखकले ।

०००

मैले ‘नथिया’ पढी सकाएँ । बाहिर खोलमा लेखिएको थियो उपन्यासको मुख्य ‘कोटेसन’,‘वदिनीको छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ ! आफ्नो कारनले अरु सप्पै खुसी हुनु रह्याछ !–सामली’ ।

यसअघि पनि कुनै स्थान र भूगोललाई मानक बनाएर नेपाली उपन्यास नलेखिएका भने होइनन् । विभिन्न समयान्तरमा विविध भूगोल एवं संस्कृतिमाथि कृति लेख्ने काम हुँदै आएको छ ।

नयनराज पाण्डे, बुद्धिसागर, यज्ञश, विवेक ओझा, राज सरगम, अमर न्यौपाने लगायत हुन् मैले पढेका नामहरु कुनै भूगोलको भाषा, संस्कृति, रहनसहनलाई ‘इस्यु’ बनाएर लेखेका लेखकहरु ।

नथियाभन्दा केही समयअघि पश्चिम कैलालीका लेखक विवेक ओझाले वादी समुदायमाथि नै ‘ऐलानी’ उपन्यास बजारमा ल्याए । तर, त्योभन्दा पछि बजारको आएको ऐलानीले ‘नथिया’ले जस्तो चर्चा पाएन वा गरिएन ?

हुन त, पुस्तक लेख्नु र चर्चा पाउनु पनि फरक कुरा होला । चर्चा पाउनकै लागि पनि थुप्रै कुराहरुले काम गर्लान् । अहिले त्यता नजाऔं ।

नथिया पढिसकेपछि वादी समुदायमाथि लेखिएको एउटा प्रतिवेदन जस्तो लाग्यो ‘नथिया’ । पश्चिम नेपालको दाङ त्यस वरिपरिका जिल्लाहरुमा बसोबास गर्ने वादी समुदायको चित्रण छ, कृतिमा । ०३६ देखि ०४५ को मितिलाई प्रमुख समय मानेर लेखिएको यो उपन्यासले इतिहासको एउटा उत्खनन् गरेको भनिएको छ । पुरातन, रुढिवाढी र पुरुषवाढी सोचमाथि धावा बोल्ने काम गरेको छ उपन्यासले । वादी समुदाय र त्यसबेला उनीहरुले गर्ने देहव्यापार तथा समाजको दृष्टिकोणको अभिलेख पनि हो ‘नथिया ।’

अन्तिम पेजमा जब सामली विद्रोहका साथ नथिया लगाएर राजधानीतर्फ लाग्छे, सायद त्यो नै कृतिको खास सुन्दर पक्ष हो । नारीहरु कहिल्यै पुरुषको खेलौना मात्र बनी बस्दैनन् भन्ने ‘सेन्स’ उपन्यासको अन्तिम पेजले दिन्छ ।

‘सामली ओ ! सामली !’

मुखबाट भने अनायसै अर्कै शब्द फुस्कियो–

‘बघिनी ओ ! बघिनी’ (पेज नं. २७८)

सामलीको अनुहारमा बघिनी देख्नु र बघिनीको अनुहारमा सामली देख्नु साँच्चै एउटा विद्रोहको अनुहार देखिनु हो । सामली घाइते थिई–यो समाजबाट, यो कानुनबाट अनि यो पुरुषवादी सोचको कुण्ठा पालेर बसेका मान्छेहरुबाट । सबैले सुन्दै आएको कथन नै छ कि घाइते बाघको झम्टाइ मात्र नभएर गर्जन पनि डरलाग्दो हुन्छ ।

पुस्तकको पेज नं ८९ देखि पेज नं ९४ सम्म समावेश वादी समुदायमाथिको ‘मिथक’ र ‘प्रतीक’ले पुस्तकले इतिहासको भूमिका निर्वाह गरिदिने छ । आउँदो पुस्ताले समेत पुस्तक पढेर नजिकबाट चिन्नेछन्–वादीहरुलाई । त्यो समयलाई । त्यो परिवेशलाई ।

तर

उपन्यासकारले कृति विमोचन समारोहबाहेक पनि धेरै स्थानमा प्रयोगमा ल्याएको शब्द र बोलेको कुरा हो, ‘९५ प्रतिशत तथ्यमा आधारित ।’ अलिअलि बाहिर आएको कुरा हो कि खोज र अनुसन्धानका लागि लेखक १८/१९ दिन पश्चिम नेपालको विभिन्न ठाउँमा गएकी हुन् । सत्य उनैलाई थाहा होला ।

भाषा मान्छेको चिनारी हो । ‘नथिया’को पनि आफ्नै भाषा छ–कविताको काव्यिक भाषा । यहाँ भन्न खोजेको भाषा पात्रहरुको हो, त्यस ठाउँको हो, त्यस पक्रैयाको हो, दाङको हो, राप्तीको हो, मध्यपश्चिमाञ्चलको हो । तर, नथियाका पात्रको लवज त्यो भूगोलको होइन, जहाँको सेटिङमा उपन्यास लेखिएको छ ।

दाङकै र त्यहाँ पुगेका कसैले नथियामा दाङको भनेर भनिएको लवज र भाषा भेट्न सक्दैन । ‘वदिनीकी छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ ! आफ्नो कारन्ले अरु सप्पै खुसी हुनु रह्याछ,’ भनेर जसरी सामलीलाई बोलाइएको छ । त्यसरी दाङका कुनै समुदाय बोल्दैनन् ।

दाङका वादी समुदायले बोल्ने लवज भनेको सल्यानी लवज हो । ‘बदिनी’ भाषा सायद प्रयोगमा नआउने भाषा हो ।

दाङतिर बोलिने लवजमा हेक्का नराख्दा पाठक भ्रमित हुन्छन् । गलत लवजको प्रयोग एउटा मुख्य समस्याको रुपमा देखा परेको छ । यसले पााठकलाई गलत सूचना पनि प्रदान गरेको छ । दाङको लवज भनेर अन्तैको लवज राख्दा कसरी यथार्थपरक मान्न सकिएला ? लेखकका कमजोरी भाषा सम्पादकले सच्याइदिएको भए पनि हुने !

लेखकले संवादहरुको सन्दर्भमा स्थानीय वादीकै ‘भ्वाइस रेकर्ड’ छ भनिन्, के यो सम्भव हुन सक्ला ?

नथिया पढ्दै गर्दा वादी समुदायको नकारात्मक कुरा मात्र ल्याइयो, रुन्चे साहित्य लेखेर वादी समुदायलाई ‘विचरा’को सूचीमा राख्न खोजिएको हो कि जस्तो पनि लाग्छ ।

बाटो स्पष्ट देखाइएको छैन । अझ मुख्य कुरा त एक जीवनको एक अध्याय नै लुकेको छ–उपन्यासमा । लाग्छ– यो कुनै धारावाहिक सिरियल हो र यसको अर्को शृंखलामा खास जवाफ आउने छ । चर्चित हिन्दी फिल्म बाहुबली जस्तै यो उपन्यासले पनि एउटा रहस्य छोडेको छ ।

अन्तिम अध्यायमा सामलीलाई समाजको मूल्य र मान्यतासँग विद्रोह गरेर राजधानी गएको देखाइएको छ र सुरुमा विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि लिने प्रथम वादी महिलामा सुजाता वादी । सुजाता सामलीकै छोरी भएको पनि छ । त्यसबीचको भाग भने लुकाइएको छ ।

सामलीले राजधानी या अन्त कतै गएर पनि पक्कै दुःखहरु गरिन् होला । संघर्ष गरिन् होला । फेरि जुधिन् होला समस्याहरुसँग । त्यो स्पष्ट देखाइएको छैन, के विद्रोह गरेर अप्ठेरो समयमा गृहत्याग गर्नु मात्रै सामलीको सफलताको कथा हो ? नथिया भाग–२ को तयारी हुँदैछ ?

आम महिलाले जस्तै सामलीले अरु दुख गरिन् होला पनि भन्न सकिँदैन । किनभने उपन्यासमा नै यौन पेशाबाट मुक्ति अरु उपाय नभेटाएपछि फेरि उही धन्दामा लाग्नुपर्ने ‘सिन’ पनि छ । लेखकले धेरै ठाउँमा भनेकी छिन्, सामलीले बिद्रोह गरेकी छ । तर, यहाँनेर प्रश्न उठ्छ, फेरि धन्दामै फर्कनु कस्तो खालको बिद्रोह हो ?

००००

‘अक्सर पे्रमका नाममा र कहिलेकाहीं विवाहको नाममा झुक्काइको खेल बडो रोचक ढंगले चल्थ्यो ।’ (पेज नं २१) झुक्काइको खेल कहिलेदेखि रोचक खेल हुन थाल्यो ? झुक्काउने खेल आफैंमा डरलाग्दो खेल हो, घातको कुरा हो । झुक्काइ र रोचकबीच कुनै सम्बन्ध छैन ।

पेज नं ६४ मा नाइसँग कपाल काट्ने प्रसंग आएको छ, जुन गलत हो । त्यतिबेला नाउको नाममा १/२ बाहेक धेरै पसलहरु थिएनन् । त्यस्तो चेतनाको विकास नभई सकेका बेला वादीहरु नाइ कहाँ कपाल खौरिन जान्थे भन्ने कुरा मिथ्या लाग्छ ।

पेज नं. ५६ मा युवा भिक्षुको प्रसंग आएको छ । लेखकले प्रष्ट पारेकी छैनन् ती भिक्षु आखिर कुन समुदायका माहिलो सन्तान हुन्, थकाली, तामाङ, गुरुङ या मगरका ? कसरी दाङ पुगे ? यसले पाठकलाई दुविधामा पार्ने काम गरेको छ ।

नयाँ प्रयोगका नाममा कतिपय कुराहरुलाई बढी नै महत्व दिइएको छ–उपन्यासमा । जबर्जस्ती दर्शनका कुरा राखेर शब्द मात्र पेल्नु लेखकको कमजोरी भइदिएको छ । यो आरोप लाग्ने नेपाली लेखकहरुमा प्रतीक्षा मात्र पनि होइनन् ।

अहिले नेपाली साहित्यमा देखिएको सबैभन्दा ठूलो समस्या नै कथा भन्न हतार गर्नु र पात्रहरु चुन्न नसक्नु रहेको छ, यसबाट उठेर कहिले आउँलान मौलिक अनुहारमा नयाँ लेखकहरु ? अब यस्तो लाग्दैछ । उपन्यासमा अर्को झर्को लाग्ने डाइलग पनि बारबार दोहोरिरहन्छ त्यो हो–‘आदेश र आग्रह’ सायद यो शब्द लेखकको प्रिय शब्द होला । बारम्बार आइरहने शब्द प्रायः प्रियभित्रै पर्ने गर्दछ ।

पेज नं.१२६ मा सामली र रेञ्जर १५/१५ दिनको अन्तरालमा वादीबस्ती जाने प्रसंग छ । फेरि पेज ३१ मै सामलीलाई आमा भाइ कस्तो होलान्, हुरी खोला कस्तो होला भन्ने प्रश्नले गाँजेको छ । यतिबेला कथा आफैंमा मा दोहोरो भूमिकामा आइदिन्छ । कसको कुरा सही हो भन्ने दुविधामा पार्छ ।

सामली हुन् उपन्यास की मुख्य पात्र । तर, ऊसँगै जोडिएर आउने अन्य पात्रहरु पनि कम महत्वका थिएनन् । तर, लेखकद्वारा सामली मुख्य हुन् भन्ने देखाउनका लागि नै भए पनि बलजफ्ती गायब पारिएका छन् कतिपय पात्रहरुलाई ।

प्रेम आफैंमा सुन्दर कुरा हो । जय नेपालसँगको प्रेमलाई सामलीले किन नकारी ? दिवाकरसँगको प्रेमले आजीवन एक्लै रहन सक्छे भने जय नेपाललाई नअंगाल्नुको कारणचाहिँ धन हो कि अर्थोक केही ? उपन्यासमा वादी समुदायका पुरुषलाई ‘काम नलाग्ने हात’को रुपमा चित्रण गरिएको छ । त्यति धेरै पनि अपहेलित थिएनन् उनीहरु । समाजमा उनीहरुको आफ्नै किसिमको सम्मानजनक स्थान थियो ।

लेखक सरस्वती प्रतीक्षाकृत नथियाले समग्रमा वादी समुदायको बारेमा नकारात्मक कुरा र दुःखलाई मात्र अगाडि ल्याएको छ । स्पष्ट धारणाको अभावमा अलपत्र छ कथा । कही अत्यधिक शब्दहरु राखिएको छ त कहीँ वर्णन गर्नुपर्ने ठाउँमा पनि कञ्जुस्याईं ।

सामली मुख्य पात्र हुन् उपन्यासको । उपन्यासमा उपस्थिति धेरै ठाउँमा छ उनको । प्रमुख पात्र भएपछि आउनु पनि जरुरी नै छ । तर कतिपय ठाउँमा लेखकले अस्वभनीय रुपमा जबरजस्ती ल्याएको जस्तो देखिन्छ । बुधे, रेञ्जर र जयनेपाल जस्ता उपन्यासबाट नै हराई जाने पात्रहरु वास्तवमा खास मुख्य पात्र जस्ता लाग्छन् । विद्रोही भनेर चित्रण गरिएकी सामलीको बिद्रोही चाल देखिँदैन । बरु आत्मसमर्पण देखिन्छ ।

आधुनिक सोचको देखाउन खोज्दाखोज्दै पनि उही पुरानै सीता, गीताजस्तो भक्ति भएकी छे । पढ्दै गर्दा पाठक दुविधाको झ्याङमा फस्छ आखिर उपन्यास । यसले वादीहरुको विगतलाई चित्रण गर्न खाजेको कि भद्दा मजाक ?

नथियालाई वादी समुदायको गीता भनेर उपमा दिइयो । तर, यसलाई दाङका वादी स्वयंले भने स्वीकार्न सकिरहेका छैनन् । कृतिले वादी समुदायको वकालत होइन, अपमान गरेको भन्दै वादी अधिकारकर्मी चिच्याएकै छन् । लेखक र प्रकाशक बोल्नुपथ्र्यो यो विषयमा तर मौन छन् ।

एक झुन्डले उत्कृष्ट पुस्तकको बिल्ला भिराइरहेका छन् भने त्यही समयमा कथा पृष्ठभूमिकै पात्रहरु विरोधमा उत्रिएका छन् ।

घोराहीको पक्रैयामा बस्थे पहिला वादीहरु । बहुदल आइसकेपछि रोल्पाबाट पहिलोपटक लालबहादुर रोकाले सो वस्तीमा जग्गा किने । यही क्रम बढ्दै गएपछि क्रमशः विस्थापित भएका हुन् उनीहरु । त्यो ठाउँ पछि गएर लोहासुर/शान्तिनगर भयो । अचेल धेरैजसो खोला नजिकैको ऐलानी जग्गामा बस्छन् ।

यसरी हेर्दै, पढ्दै र बुझ्दै जाँदा नथिया के लाग्छ भने नथिया नाकमा लगाइयो भने त्यो स्त्री सुन्दर देखिन्छे, सुन्दरी हुन्छे । तर, त्यही नथिया नाइटोमा लगायो भने ‘भल्गर’ भन्छ, यो समाजले । आफ्नै आदिम सौन्दर्यमाथिको उपहास पनि मान्लान् ।

म अझै स्पष्ट हुन सकिरहेको छैन, खास नथिया उपन्यासले लगाएको नथिया नाकमा कि नाइटोमा ?

समग्रमा अहिलेको बजारशास्त्रको उचाइमै होला, नथिया । वादी समुदायको इतिहासको पर्दा खोलिदिएको छ पनि । अबुझ र जानकार नभएकालाई एउटा राम्रो सूचना भएको छ । कम्तिमा पुस्तक पढ्नेले वादीहरुको संघर्ष पढ्नेछन् । दाङ चिन्नेछन् । युद्धभन्दा गुप्त इतिहास बुझ्नेछन् ।

आशा छ, आउने दिनमा प्रिय कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षाको अर्को कृति थप उत्कृष्ट र परिस्कृतरुपमा आउने छ । कविहरुले आख्यान लेख्नु आफैंले आफैंलाई चुनौती थप्नु हो । पहिलो आख्यान एउटा पहाड हो भने त्यसलाई जितेर अर्को राम्रो कृति लेख्न सक्नु अर्को उचाइको पहाड । उक्लन नसकेर ओरालो झर्नेहरुको भीडमा सफलताको शुभकामना छ सरस्वती प्रतीक्षालाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment