Comments Add Comment

सेयर बजारमा चुक्ता पुँजी वृद्धि कि ब्याजदर प्रभाव ?


१० चैत, काठमाडौं । नेपाली सेयर बजारले अन्य पक्षभन्दा पनि चुक्ता पुँजी वृद्धिको आँडमा नै नयाँ उचाइ बनाउने गरेको देखिँदै आएको छ ।

नेप्सेले २०५७ मंसिरमा पहिलो चक्र सकिँदा पाँच सय ४५ मा उच्च विन्दु बनाएको थियो । त्यो तहबाट घटेर पुन उकालो लागेर दोस्रो उच्च विन्दु बनाउन नेप्सेलाई लगभग सात वर्ष नौं महिना लागेको थियो ।

०६५ साल भदौ १५ मा नेप्सेले दोस्रो चक्रको उच्च विन्दु ११७५ भेटेको थियो । यो विन्दुमा नेप्से आइपुग्नुमा धेरै कारण होलान् । तर सबैभन्दा महत्वपूर्ण कारण थियो, बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा वृद्धि । चुक्ता पुँजी वृद्धि हुनु भनेकै सेयर लगानीकर्ताले बोनस वा हकप्रद सेयर प्राप्त गर्ने अवसर हो ।

‘चुक्ता पुँजी वृद्धिले लाभांशको आशमा मूल्यमा उच्च वृद्धि हुने गरेको छ, हाल बजारमा घट्नुमा पुँजी वृद्धिको कारण आपूर्तिमा भएको वृद्धि हो,’ सेयर विश्लेषक प्रकाश तिवारीको विश्लेषण छ ।

राष्ट्र बैंकले २०६३ सालमा बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी नीति सार्वजनिक गर्‍यो । यो नीतिले कम्तिमा २ अर्ब चुक्ता पुँजी पुर्‍याएर मात्र नयाँ वाणिज्य बैंक खोल्न सक्ने व्यवस्था गरेको थियो । विकास बैंक र वित्त कम्पनीमा पनि पुँजी बढाउने नीति रहेको थियो । यही नीतिले पुराना बैंकहरुलाई पनि पुँजी पुर्‍याउन ०७० असार ३१ गतेसम्मको समय तोक्यो ।

०६४ मा नयाँ पुराना गरेर जम्मा २० वटा वाणिज्य बैंक सञ्चालनमा आएका थिए । अधिकांशको चुक्ता पुँजी एक अर्बकै हाराहारीमा थियो ।

३८ विकास बैंक, ७४ वित्त कम्पनी र १२ लघुवित्त सञ्चालनमा थिए । सञ्चालनमा रहेका संस्थाहरुबाट बोनस र हकप्रदको बाढी नै आयो । अधिंकाश बैंकले पटक पटक हकप्रद सेयर पनि दिदै थिए ।

सुरुको केही समय पुँजी वृद्धिकै कारण बजार बढे पनि हकप्रदको बढ्दो चापले पनि समस्या पार्‍यो । यद्यपि यो मात्र कारण नरहेको पुराना ब्रोकर ईश्वरी रिमाल बताउँछन् ।
‘त्यो समय बजार बढ्नुमा पुँजी वृद्धि पनि प्रमुख कारण हो, तर अन्य कारण पनि थिए बजार बढ्न,’ पुराना सेयर ब्रोकर इश्वरी रिमालले भने । उनका अनुसार सो समय ब्रोकरहरु मार्फत बैंकले लगानीकर्तालाई सेयर किनेको पर्चाकै आधारमा पनि ऋण दिने गरेका थिए ।

खरीद गरेको महिना दिनसम्म सेयर प्रमाणपत्र हात नलाग्ने सो समयमा किनेको पर्चाको आधारमा कर्जा (ब्ल्यांक ट्रान्सफर/बीटी लोन) पाइने व्यवस्था थियो । लगानीकर्ताले ०५८ सालदेखि पाउँदै आएको यो सुविधालाई ०६५ सालमा बन्द गरिएसँगै केही महिनापछि बजार ओरालो लागेको रिमाल स्मरण गर्छन् । सोही समय घर जग्गा कारोबार धराशायी हुन थालेपछि कर्जा प्रदान गरेका बैंकहरुमा समेत समस्या आयो र बजार घट्यो ।

नेप्से परिसूचक ११७५ बाट घट्न थालेको र २९२ मा पुगेपछि विस्तारै वृद्धिको दिशामा अघि बढ्यो । अर्थमन्त्रालय, धितोपत्र बोर्ड सहित लगानीकर्तासँग भएको ११ बुँदे सहमतिसँगै २०६८ मा पुनः बीटी लोन दिने सुविधा सुरु भयो । नेप्सेले २०७३ साउन १२ मा १८८१ मा तेस्रो चक्रको नयाँ रेकर्ड बनायो ।

यो उचाई बन्नुमा पुँजीको सुलभता जस्ता अन्य विभिन्न कारण होलान् । सेयरको विद्युतीय अभिलेखीकरण -सेयर डिम्याट) हुँदा कारोबार समय घट्नुले पनि बजारमा सुधार ल्याउन एक हदसम्म काम गर्‍यो ।

तर, सबैभन्दा महत्वपूर्ण भयो, चुक्ता पुँजीमा गरिएको वृद्धि । राष्ट्र बैंकले २०७२ साउन ७ मा मौदि्रक नीति ल्याएर बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा ८ गुणाले वृद्धि गर्‍यो ।

सेयर लगानीकर्ताहरुमा बैंकहरुले हकप्रद नै दिँदा पनि एक सेयर दुई हुने लोभ पलायो । बैंकहरु पनि मर्जर छाडेर आफै पुँजी जुटाउन लागे । परिणामस्वरुप नेप्से तेस्रो चक्रको उच्च वृद्धि हासिल गर्‍यो । सेयर बजारको चक्र नै चुक्ता पुँजीवृद्धि योजनामा अडिएको यसले देखाउँछ ।

‘सेयर बजारको चक्र संस्थाहरुको पुँजी वृद्धि योजनाकै वरिपरी घुमेको देखिन्छ, नेपालीहरुमा हकप्रद र बोनस सेयरको गहिरो प्रभाव छ,’ अर्का एक विश्लेषकको बुझाइ छ ।
उनको भनाइलाई ब्रोकर रिमाल पनि स्वीकार गर्दछन् । ‘नेपालीहरुमा हकप्रद र बोनसको अजीव प्रभाव भने छ, तर बजार घटबढमा अन्य कारणहरु पनि हुने गरेका छन्,’ रिमालको तर्क छ ।

बैंकहरुमा पुँजीयोग्य लगानी अभाव कम हुनु, सेयर आपूर्ति बढ्नु र बुलिश वा वियरिश चक्रको प्रभाव रहेको कारण पनि बजार घटेको उनको भनाइ छ । तत्काल पुँजी अभाव समस्या समाधान भए पनि बजार केही महिना बढ्न भने समस्या हुने उनको बुझाइ छ । पुँजी अभावकै कारण सेयर बजारमा भन्दा निक्षेपमा बढी प्रतिफल पाउने अवस्था बनेको छ भने कर्जा लिएर सेयरमा लगानी गर्नेलाई बढी ब्याज परिरहेको छ ।

‘अहिले बजार निकै घटेकाले पुँजी उपलब्धता हुनेवित्तिकै तत्काल बजारमा ठूलो उछाल आउने सम्भावना भने हुँदैन्,’ रिमाल बताउँछन् ।

विशेषतः बैंक तथा वित्तीय संस्थाहरुबाट उल्लेख्य संख्यामा हकप्रद जारी भएकाले यसको प्रभाव मत्थर हुन केही समय लाग्नेमा सबैजसो सहमत भने छन् । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ८० प्रतिशत बराबर रहेकाले पनि यो क्षेत्रमा हुने नीतिगत परिर्वतन लगायतको प्रभाव बजारमा देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment