Comments Add Comment

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस

प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा

११ चैत, काठमाडौं । लामो विवादपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ ।

कृषि सचिवको संयोकजत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समितिले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । स्रोतका अनुसार उक्त समितिले प्रतिक्वीन्टल उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको छ ।

गत मंसिरमै मूल्य तोक्नुपर्ने भए पनि चुनाव, चिनीको भन्सार बढाउनुपर्ने व्यवसायीको माग लगायतका कारण ढिलाइ हुँदै आएको थियो ।

कृषि मन्त्रालयका अनुसार उत्पादन लागत, २० प्रतिशत नाफा, कर लगायतलाई आधार लिएर उक्त न्यूनतम समर्थन मूल्य तोकिएको हो ।

यसका लागि मन्त्रालयले विभिन्न चरणमा किसान र उद्योगीसँग छलफल गरेको थियो । मन्त्रालयले सिफारिस गरेको प्रतिक्वीन्टल न्यूनतम समर्थन अहिलेको भन्दा पाँच रुपैयाँ बढी हो ।

हालसम्म यस्तो समर्थन मूल्य प्रतिक्वीन्टल पाँच सय ३१ रुपैयाँ छ ।

कृषि मन्त्रालयका अनुसार उक्त न्यूनतम समर्थन मूल्यमा किसानको सहमति रहे पनि उद्योगीले भने चिनीको भन्सार महसुल नबढाएसम्म सरकारको निर्णय नमान्ने बताएका छन् ।

कम भन्सार दरका कारण आयातीत चिनी सस्तो हुँदा स्वदेशी उद्योग मारमा परेको भन्दै उद्योगीले चिनीको भन्सार ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् ।

उद्योगीको उक्त मागका सम्बन्धमा अध्ययन गरी भन्सार महसुल बढाउने सम्बन्धमा निर्णय गर्न अर्थ मन्त्रालयले समिति नै गठन गरे पनि हालसम्म उक्त समितिले ठोस निर्णय गरिसकेको छैन ।

कृषि मन्त्रालयले गरेको सिफरिस बमोजिम त्यसको प्रस्ताव मन्त्रिपरिषदमा पठाउने तयारी उद्योग मन्त्रालयले गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो निर्णय लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment