Comments Add Comment

सर्वसाधारणको मन जित्दै प्रहरी अस्पताल

१२ चैत्र, डोटी । दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय नारायण पाण्डे प्रहरी अस्पताल दिपायलमा गए ।

कम्मरको नसा सम्वन्धी समस्या भएका कारण उनी जचाउन अस्पताल पुगेका थिए । स्वास्थ्यकर्मीहरुले उनको चेकजाँच पश्चात आवश्यक औषधी दिएपछि उनी घर फर्किए ।

यस्तै दिपायल सिलगढीकै ३२ वर्षीया नन्दा बोहरा पेट दुख्ने समस्या लिएर प्रहरी अस्पताल पुगिन् । स्वास्थ्यकर्मीहरुले उनको उपचार गरे । उनी उपचार सेवाप्रति सन्तुष्ट हुँदै फर्किन् ।

नारायण र नन्दा जस्तै दिनहुँ २२/२५ जना सर्वसाधारणहरु सुदूरपश्चिम प्रहरी अस्पताल दिपायलयको बहिरङ्ग सेवामा उपचारका लागि आउने गरेका छन् । अस्पतालको रेकर्ड हेर्दा दिनहुँ ३/४ जना आकास्मिक बिरामीहरु पनि आउने गरेका देखिन्छन् ।

साविकको क्षेत्रीय प्रहरी कार्यालयको हाताभित्र २०५१ सालमा स्थापना भएको सुदूरपश्चिम प्रहरी अस्पतालप्रति स्थानीयको विश्वास बढ्दै गइरहेको छ । जिल्ला अस्पताल डोटीमा नियमित रुपमा चिकित्सक नहुने समस्या छ । आर्थिक अभावले नीजि स्वास्थ्य संस्थामा उपचार गराउन नसक्ने सर्वसाधारणका लागि प्रहरी अस्पतालनै आशाको केन्द्र बनेको छ ।

सुरुमा प्रहरी कर्मचारीहरु र तिनका परिवारको उपचारका लागि मात्रै खोलिएको प्रहरी अस्पतालमा अचेल सर्वसाधारणहरुले पनि सेवा पाउन थालेका छन । ‘बिकल्प छैन, बिरामी भएपछि सर्वसाधारणहरुले कहाँ जाने त ?’ क्षेत्रीय प्रहरी अस्पतालका प्रमुख डा. रोसनप्रसाद निरौला भन्छन् ‘ब्यबहारिक रुपमा सर्वसाधारणहरुको पनि उपचार गर्दै आएका छौं ।’

प्रहरी अस्पतालमा उपचार गराउन जाने महिला र पुरुषका छुट्टाछुट्टै प्रकारका स्वास्थ्य समस्या रहेका डा.निरौलाको अनुभव छ । ‘महिलाहरुमा पिसाबमा समस्या, पाठेघरको समस्या, तल्लो पेट दुख्ने जस्ता स्वास्थ्य समस्याहरु बढी देखिन्छन्’ डा. निरौला भन्छन् ‘पुरुषहरुमा रक्तचाप, दम, ग्यास्ट्राइटिस जस्ता समस्याहरु बढी देखिन्छन् ।’ उनी थप्छन् ‘पुरुषहरु मदिरा र धुम्रपान बढी सेवन गर्ने भएका कारण यस्ता समस्या देखिएको हुन सक्छ ।’ निरौलाले आएका बिरामीहरु सेवाप्रति सन्तुष्ट भएर जाने गरेकोमा आफू खुशी हुने गरेको बताए ।

बिगतमा आकास्मिक सेवा, बहिरङ्ग सेवा, एक्स-रे, ल्याब, माईनर ओटी र फार्मेसी सेवा सञ्चालन गर्दै आएको यस अस्पतालमा गत सातादेखि फिजियोथेरापी सेवा सञ्चालन भएको छ ।

फिजियोथेरापी सेवा अन्तरगत युस थेरापी, टेन्स, आईएलटी, आईसिटी, एंकल पम्प अभ्यास, फिंगर गि्रप अभ्यास हुने डा निरौला बताउँछन् । गएको मंगलबार प्रदेश ७ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपालद्वारा उद्घाटन गरिएको फिजियोथेरापी सेवा डोटी जिल्लामै पहिलो सेवा हो । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा फिजियोथेरापी सेवा छैन ।

१५ शैय्याको स्वीकृत वार्ड समेत रहेको अस्पतालमा हाल १५ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेको प्रहरी निरीक्षक समेत रहेका डा. निरौला बताउँछन । उनले भने ‘महिलाहरुका लागि तीन बेडको छुट्टै वार्ड बनाएका छौं ।’

अन्य सरकारी अस्पतालको भन्दा प्रहरी अस्पतालमा राम्रो सेवा पाइने गरेको पत्रकार गणेश मौनी बताउँछन् । श्रीमतीको उपचारका क्रममा दुई/तीन दिन क्षेत्रीय प्रहरी अस्पतालमा बिताएका मौनी भन्छन् ‘अस्पतालमा सरसर्फा छ र स्वास्थ्यकर्मीहरुको ब्यबहार पनि राम्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment