Comments Add Comment

चुक्ता पुँजी देखाएरै बैंकहरुको २ खर्ब लगानी

३९ अर्ब पुँजी वृद्धि

 


१३ चैत, काठमाडौं । केही वर्षअघिसम्म संकलन गरेको निक्षेपको ८० प्रतिशत पनि कर्जा लगानी गर्न नसकिरहेका बैंकहरु अहिले निक्षेपको ९२ प्रतिशतसम्म कर्जा लगानी गर्न थालेका छन् ।

चुक्ता पुँजीमा भएको वृद्धिको कारण बैंकहरु कर्जा वृद्धिमा आक्रामक हुन थालेका हुन् । २०७२ मा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी चार गुणाले बढाउने निर्देशन दियो । त्यसयता बैंकहरुलाई कर्जा लगानी बढाएर नाफा वृद्धि गर्न पनि दबाब पर्‍यो ।

‘चुक्ता पुँजी वृद्धिपछि बैंकहरुमा कर्जा लगानी विस्तार गर्न आत्मविश्वास बढेको देखिन्छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

हाल चुक्ता पुँजी देखाएरै बैंकहरुले दुई खर्ब लगानी गरेका छन् । चैत दुई गतेको तथ्यांकअनुसार बैंकहरुसँग २२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप छ । बैंकहरुले १९ खर्ब ६४ अर्ब कर्जा लगानी गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी ८७.९ प्रतिशत छ ।

बैंकहरुले निक्षेप र प्राथमिक पुँजी जोडेर हुने रकमको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था छ । यो सीमालाई निक्षेप कर्जा अनुपात अर्थात सीसीडी रेसियो भनिन्छ ।

प्राथमिक पुँजीमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी, सेयर पि्रमियम तथा लगानीकर्तालाई बाड्न योग्य रकम, दोहोरिने अग्राधिकार सेयर रहन्छन् ।

बैंकहरुले निक्षेपको ८० प्रतिशतभन्दा बढी लगानी गरेको रकमलाई आधार लिने हो भने एक खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी प्राथमिक पुँजी देखाएर भएको छ । हुनतः यसरी गरेको कर्जा लगानीको वास्तविक रकम योभन्दा धेरै नै हुन्छ । निक्षेपको ८० प्रतिशत बराबर कर्जा लगानी भने मात्रै १७ खर्ब ८७ अर्ब रुपैयाँ हुन्छ ।

बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी प्रवृत्ति विश्लेषण गर्ने हो भने २०७१ पुसअघि एकाध पटक बाहेक बैंकहरुको कर्जा लगानी निक्षेपकै तुलनामा भने ८० प्रतिशत बिरलै कट्ने देखिन्थ्यो ।

तर, २०७१ पुसयता भने निक्षेपकै तुलनामा कर्जा लगानी ८० प्रतिशत माथि हुने गरेको छ । २०७३ कात्तिकयताबाट भने यो ८१ प्रतिशतभन्दा तल आएको छैन ।

समग्रमा कर्जा लगानी पनि नौं खर्बबाट बढेर १९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको हो । कर्जा लगानीमा करिब दोब्बरले वृद्धि भएको हो । निक्षेपमा भने सो अवधिमा मात्रै ७४ प्रतिशतको वृद्धि छ ।

राष्ट्र बैंकले बैंकहरुको लगानी विस्तारमा आत्मविश्वास बढेको बताइरहेको भएपनि आक्रामक कर्जा लगानीले बैंकिङ प्रणालीमा दुई वर्षयतादेखि कर्जा योग्य पुँजी अभाव तड्कारो बन्दै गएको छ ।

‘स्वभाविक रुपमा कर्जाको माग पनि बढेको छ भने चुक्ता पुँजीमा सेयरको रुपमा लगानी भएको रकमको प्रतिफलको दबाब पनि बैंकरहरुलाई छ,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने । यसलाई दुवैको संयोजनको रुपमा लिनु पर्ने दाहालको तर्क छ ।

हाल निक्षेपको तुलनामा कर्जा वृद्धिदर उच्च भएकोले पुँजी अभावको समस्या देखिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment