Comments Add Comment

शिवम सिमेन्टले सेयर जारी गर्ने, लगानीकर्ताले प्रिमियम मूल्य तिर्नुपर्ने

१४ चैत, काठमाडौं । शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनी निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । उत्पादनमुलक समूहमा सिमेन्ट उद्योग क्षेत्रबाट पहिलो कम्पनीले सेयर जारी गर्ने भएको हो ।

कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख रुपैयाँ (आठ लाख ८० हजार कित्ता) सेयर जारी गर्ने भएको हो । उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका बासिन्दाले सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँभन्दा केही बढि हुने भएको हो ।  स्थानीयलाई अन्य सर्वसाधारणलाई भन्दा २५ प्रतिशत कम प्रिमियम लाग्ने कम्पनी स्रोतले बताए ।

बाँकी ४४ लाख अर्थात ४४ करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी हुने भएको छ । कम्पनी सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ । कम्पनीले जारी गर्ने सेयर सहित चुक्ता पुँजी करिब ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको अध्यक्षमा सुरेन्द्र गोयल रहेका छन् । कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले हाल क्षमता बिस्तारपछि दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम सिमेन्टमा ८८ प्रतिशत सेयर लगानी रहेको शिवम होल्डिङको होङ्सी सिमेन्टमा ३० प्रतिशत लगानी रहेको छ ।  करिब २५ अर्ब रुपैयाँ लागतमा होङ्सी सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको हो । चीनियाँ कम्पनी होङ्सी समूहको होङ्सी सिमेन्ट उद्योगमा ७० प्रतिशत लगानी छ । हाल होङ्सी सिमेन्ट निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले उल्लेख गरेको छ । यो उद्योगबाट प्रतिदिन ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुनेछ ।

हाल सेयर बजारमा युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु), हिमालयन डिष्टिलरी लगायतका उत्पादनमुलक कम्पनीको मात्रै सेयर कारोबार हुने गरेको छ ।

लामो अवधिसम्म कारोबार नभएको र लगानीकर्तासँग सम्पर्कमा नदेखिएको यसै समूहको श्रीराम सुगर मिल्स पनि एक वर्षअघि बजारमा नविकरण गरेर फर्किएको थियो । कम्पनीले हकप्रद जारी गर्ने तयारी गरेको छ ।

यस समूहका बिराट शु, गोरखकाली रबर उद्योग, नेपाल लुब आयल लगायतका १३ कम्पनीहरु बर्षौदेखि कारोबार विहनि अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment