Comments Add Comment

सुदूरबाट क्रिकेटको सुवास छरिरहेका सुवास

चार लाखको एसपीएदेखि ३ करोडको डीपीएलसम्मको यात्रा

१६ चैत, काठमाडौं । सानो छँदा जुन कुरामा लगाव रहृयो त्यसले पछिसम्म पछ्याउँदो रहेछ । कति त्यसबाट भागेर उम्कन्छन् त कति त्यसैलाई आत्मसात गर्छन् ।

सुदूरपश्चिमका युवा सुवास शाहीलाई सानैदेखि क्रिकेटको ज्वरोले समात्यो र, उनी अहिलेसम्म क्रिकेटमै हराएका छन् । अरुलाई पनि यसैमा बाँच्ने कर्मसहितको सपना देखाएका छन्, डीपीएल क्रिकेटमार्फत ।

धनगढी हसनपुर टोलमा जन्मिएर हुर्किएका हुन् उनी । बोर्डर एरिया भएकाले पनि क्रिकेटको प्रभाव राम्रै थियो ।

टोल-टोलमा क्रिकेट खेलिन्थ्यो । उनलाई दाइहरूको पछिपछि टोले कपमा हुटिङ गर्न कुदेको अझै सम्झना छ । त्यही प्रभावले गर्दा उनले ब्याट र बल समाते ।

सुवास अहिलेसम्म पनि क्रिकेटमै जोडिएका छन्, तर खेलाडीका रुपमा होइन । आफ्नो एक्लो बलबुतामा उनले धनगढी प्रिमिएर लिग जन्माए । अहिले दोस्रो संस्करणको तयारी चलिरहेको छ ।

पहिलो संस्करणबाट आर्थिकरुपमा नोक्सानी व्यहोरे पनि उनी उत्तिकै उत्साहका साथ दोस्रो संस्करणमा जुटेका छन् । सुवासकै शब्दमा ‘अहिले उनीहरू बीउ रोप्दै छन् । केही समयमै त्यसको फल लाग्ने छ ।’

सुवासलाई आफ्नो परिवारसँगै क्रिकेट चाहने सबैको साथ छ । खेलमा केही नयाँ प्रयोग गर्नुपर्दा उनी बुबासँग सरसल्लाह गर्छन् । डीपीएल चलिरहँदा मैदानमै हुन्छन् बावुछोरा ।

‘बुवा पनि खेल हेर्न पुग्नुहुन्छ । म यो अभियानमा लाग्नुमा उहाँको ठूलो सहयोग छ’ उनले भने, ‘बुवा मात्रै होइन, पहिले क्रिकेट नबुझ्ने धेरै अहिले डीपीएललाई माया गरेर मैदानसम्म पुग्छन् ।’

५ हजार रुपैयाँ पुरस्कारबाट सुरू भएको ‘एसपीए कप क्रिकेट’ अहिले ५० लाख रुपैयाँ पुरस्कारको धनगढी प्रिमियर लिग (डीपीएल २) सम्म आइपुगेको छ । यो बढेको रकमभन्दा ठूलो छ, यसको सफलता

प्रतियोगिताको तयारीका लागि दौडधुप गर्दा चार वर्षको छोराको भने उनलाई खुब याद आउँछ । एक छोरी र एक छोराका बुबा सुवासलाई सानो छोरासँग धेरै समय बिताउन मन लाग्छ । तर, फुर्सद निकाल्न गाह्रो ।

हजारौं क्रिकेट प्रेमीलाई नै ‘परिवार’ मान्न थालेका उनी भन्छन्, यो सफलतामा सुवास मात्रै होइन, धेरै ‘सुवासहरू’ छन् ।

एसपीएदेखि डीपीएलसम्म

‘संसारमा गर्न नसकिने कुरा केही पनि छैन’, यही सोचले मिलेको सुवासको सफलता लोभलाग्दो छ । सरकारले ३० वर्षभन्दा बढी समयमा जे गर्न सकेको छैन, उनले त्यही झण्डै ८ वर्षमा पछ्याइरहेका छन् ।

५ हजार रुपैयाँ पुरस्कारबाट सुरू भएको ‘एसपीए कप क्रिकेट’ अहिले ५० लाख रुपैयाँ पुरस्कारको धनगढी प्रिमियर लिग (डीपीएल २) सम्म आइपुगेको छ । यो बढेको रकमभन्दा ठूलो छ, यसको सफलता ।

अंकको ग्राफमा देखिनेभन्दा उचो छ, उचाई । ‘ठूलो सोच राख्दा ठूलो सफलता मिल्छ । सोच नै राखिएन भने त कसरी अगाडि बढिन्छ र ! यसैले हामी क्रिकेटमा सक्दो गर्ने सोचमा बढेका हौँ,’ सुवास भन्छन् ।

सन् २०१० मा कलेज लेभलको ‘एसपीए कप’ बाट उनीहरूले सुदूरमा क्रिकेट प्रतियोगिता सुरू गरे । त्यसबेला काठमाडौं र नेपालगञ्जका दुई समेत गरी १२ वटा कलेजका टिम थिए ।

‘त्यो समय गतिलो थिएन क्रिकेटको माहोल । क्रिकेट संघ सक्रिय थिएन । काम कसले गर्ने हो भन्ने केही पत्तो थिएन’, एसपीए कलेजका निर्देशक समेत रहेका सुवास सुरुवातका दिन सम्झन्छन्, ‘अरुलाई पर्खेर बस्नुभन्दा आफैंले सुरू गर्नुपर्छ भन्ने लागेर अघि बढ्यौं । त्यही प्रतियोगिताको प्रत्येक संस्करणमा केही ठूलो र नयाँ गर्ने चाहना राख्यौं । त्यसैले अहिले ‘डीपीएल’सम्म आइपुगिएको हो ।’

त्यो बेला पहिलो हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १० हजार पुरस्कार थियो । त्यो पनि क्रिकेट पुरस्कारमा खर्च भएको ठूलो रकम मानिएको थियो ।

१० हजार रुपैयाँको प्रायोजक पाउन पनि कठिन थियो ।

खेलाडीले अवसर पाए, दर्शकले नौलो स्वाद पाए, प्रायोजकहरूले आफ्नो लगानी सुरक्षित पाए यसैले धनगढीमा क्रिकेट सफल भयो

धनगढीको फेरिएको परिचय

खेलाडीले अवसर पाए, दर्शकले नौलो स्वाद पाए, प्रायोजकहरूले आफ्नो लगानी सुरक्षित पाए यसैले धनगढीमा क्रिकेट सफल भयो । समाजमा विश्वास बढ्यो, सुदूरले खेलमार्फत सबैलाई आफूतिर तान्यो । तर, सुवास अहिले गरिरहेको काम एक प्रतिशत मात्रै भएको बताउँछन् । ‘हामीले यसबाट सिक्दै गएका छौँ । अझै धेरै गर्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने ।

धनगढीले क्रिकेटकै माध्यमबाट परिचय पाएको छ । प्रतियोगिताको स्वरुप जति ठूलो हुँदै गयो, सहयोगी हातहरू उति जुट्दै गए । ‘एसपिए कप’ २०१५ सम्म आइपुग्दा नेपालकै एउटा चिनिने क्रिकेट प्रतियोगिता बन्यो । त्यसपछि सुरू भयो धनगढी क्रिकेट एकेडेमी ।

‘प्रतियोगिताले मात्रै हुँदैन, खेलाडीले बिहान-बेलुका अभ्यास गर्न पाउने वातावरण हुनुपर्छ भनेर हामी लागेका हौं । उमेर समूहका खेलहरू हुनुपर्छ, महिलाका खेलहरू हुनुपर्छ, उनीहरूले अर्को स्थानमा गएर खेल देखाउने मौका पाउनुपर्छ भनेर धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका हौं’ सुवासले सुनाए ।

एकेडेमीपछि धनगढी क्रिकेट लिग सुरू भयो । लिगको दोस्रो सिजनमा नेपालमै पहिलोपटक अक्सनबाट खेलाडी लिने अभ्यास भयो । व्यवसायिक क्रिकेटको लागि एउटा सुरुवात थियो त्यो । त्यसबेला क्षेत्रीयस्तरमा विभिन्न पाँचवटा टिमको नामबाट अक्सन भएको थियो ।

हसनपुर, टिम चौराह, क्याम्पस रोड, सन्तोषी टोल र अत्तरीया गरेर टोलको नामबाट पहिलो पटक अक्सन भएको थियो । राजु रिजाल सर्वाधिक महंगो रकम ४० हजार रुपैयाँमा बिक्री भएका थिए । ४० हजारबाट सुरु भएको अक्सन अहिले बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुनको १ लाख ५० हजारसम्म पुगेको छ । त्यो समय नेपालमा अक्सन, टोलको नामबाट टिम नौलो कुरा थियो ।

त्यसैले ठूलो प्रतियोगिताको सुरुवात गर्ने उद्देश्यले धनगढी क्रिकेट लिग र एसपिए कपलाई मर्ज गरेर धनगढी पि्रमियर लिग सुरुभयो । त्यसले खेलाडीलाई नयाँ किसिमको व्यवसायिक बाटोमा लैजान ठूलो भूमिका खेल्यो ।

धनगढीमा एउटा एकेडेमीको ब्यानरमा जति काम भएको छ, खेलको विकासमा सरकारले त्यसबाट सिक्न मिल्ने निकै छ । उनीहरूले सफल क्रिकेट प्रतियोगिता आयोजना गरेर ‘चाहेमा सकिन्छ’ भन्ने पाठ पढाइरहेका छन्

रंगशालाको सपना

प्रत्येक वर्षजसो मैदान निर्माणमा केही रकम खर्च हुने गरेको छ । त्यसलाई स्थायी रुप दिने पनि सोच बढेको शाहीले सुनाए । यसकै लागि ‘ड्रिम फाप्ला’ को नाममा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियान चलेको छ । धनगढी क्रिकेट लिगको पहिलो संस्करण फाप्ला मैदानमा नै भएको थियो ।

चार वर्षअघि सरकारको सहयोगमा साढे दुई करोड रुपैयाँ खर्च गरेर मैदान मिलाउने काम सुरु भएको थियो । एसपीए कपको चौथो संस्करणमा प्रतिटिकट पाँच रुपैयाँ छुट्याएर ‘ड्रिम फाप्ला’को खातामा राख्न सुरु भयो । सरकारले फाप्ला मैदान निर्माणमा देखाएको चासोमा आफूहरुलाई उति भर नलागेको सुवास बताउँछन् ।

‘मुलपानीको क्रिकेट मैदानमा पनि सरकारले गरेको काम हामीले हेरिरहेका थियौं । त्यसैले पनि हामीले यसलाई जनस्तरसँग जोडेर निजी क्षेत्रबाट अगाडि बढाउन सकिन्छ कि भन्ने सोच्यौं । त्यही किसिमको लविङमा हामी छौं । अहिले हामीले पटक-पटक काठमाडौं आएर फाइल खोजिरहनुपर्ने भएको छ’ उनले भने ।

केही नीति बनेर अगाडि जान सकियो भने प्रत्येक नागरिकले सक्दो लगानी गर्ने उनी बताउँछन् । ‘३ करोड नेपालीबाट सय रुपैयाँका दरले उठायौं भने पनि ३ सय करोड रुपैयाँ उठ्छ र सोचेको जस्तै स्टेडियम बनाउन सकिन्छ । त्यसका लागि सरकारले सजिलो कानुनी बाटो भने बनाइदिनुपर्छ,’ उनले थपे ।

अहिले डीपीएलमा अस्थायी प्याराफिटमा ठाउँ नपुगेर दर्शकले रुखमा चढेर खेल हेरिरहेका हुन्छन् । यो फाप्ला निर्माणका लागि दबाब पनि हो । यस्तोमा राम्रो स्टेडियम बने त्यसले क्रिकेटकै विकासमा ठूलो सहयोग पुग्ने छ ।

भर्खर अन्तर्राष्ट्रियस्तरका ब्राण्डहरू क्रिकेटको माध्यमबाट सुदूरपश्चिमसँग जोडिएका छन् । उनीहरूलाई पनि अहिले ठूलो क्षमतामा दर्शक अट्ने स्थानमा खेल होस् भन्ने आशा छ ।

धनगढीमा एउटा एकेडेमीको ब्यानरमा जति काम भएको छ, खेलको विकासमा सरकारले त्यसबाट सिक्न मिल्ने निकै छ । उनीहरूले सफल क्रिकेट प्रतियोगिता आयोजना गरेर ‘चाहेमा सकिन्छ’ भन्ने पाठ पढाइरहेका छन् ।

एउटा व्यक्ति तथा एकेडेमीको प्रयासमा यत्रो प्रतियोगिता सम्भव हुन्छ भने सरकारले चाहृयो भने के असम्भव होला ?

सुवास ४ लाख लागतको एसपीएदेखि झण्डै ३ करोड रुपैयाँको डीपीएलसम्म आइपुगेका छन्

देखिने घाटा, नदेखिने नाफा

गएको वर्ष डीपीएल आर्थिक हिसाबले नाफामा गएन । तर, सुवास अहिले नै नाफा-घाटाको हिसाब गर्न चाहँदैनन् । उनी यसलाई ‘क्रेज’ मान्छन्, जसको कुनै हिसाब हुँदैन ।

‘हामीले धेरै नदेखिने र फाइदा हुने कुरा कमाएका छौं । धनगढीमा प्रतियोगिता हुँदा रिक्सावाला, होटलदेखि अन्य धेरैले फाइदा पाएका हुन्छन् । यी सबैलाई कमाईकै रुपमा लिनुपर्छ’ उनी भन्छन्, ‘अहिले अघि बढ्न, लगानी गर्ने समय छ । त्यसले परिआए जे पनि गर्न सक्छौं भन्ने हौसला लिएर बढेका छौँ ।’

डीपीएल मैदानमा हुने खेल मात्र होइन, सुदूरपश्चिमको ‘स्वाद’ पनि हो । डीपीएलका लागि बाहिरबाट आउने हरेक व्यक्तिले त्यो अनुभव गर्न पाउँछन् ।

रिक्सा, होटलदेखि लिएर घुम्न गएको ठाउँमा हुने मीठो अनुभव डीपीएलको सौगात हो । सुवास पनि यसैमा विशेष जोड दिन्छन् । ‘यहाँ आउने हरेकले राम्रो आतिथ्य पाओस् । फर्किँदा सुदूरपश्चिमको दूत बनेर जाओस् भन्ने हामी चाहन्छौँ’, उनले भने ।

सानो बेला मस्तिष्कमा बसेको क्रिकेटलाई अघि बढाएका सुवास अहिले बिस्तारै सफल हुँदैछन् । यसको श्रेय उनी हरेकलाई दिन्छन् जसले डिपिएलमा देखिने/नदेखिने सहयोग गरिरहेका छन् ।

यसैले सुवास ४ लाख लागतको एसपीएदेखि झण्डै ३ करोड रुपैयाँको डीपीएलसम्म आइपुगेका छन् ।

क्यानमा जान पाए १०० गुणा बढी काम गर्छुः सुवास शाही

कसरी मिल्दो रहेछ सोचमा सफलता ?

हामीले गरको भनेको हिम्मत मात्र हो । हाम्रो हिम्मतलाई अगाडि बढाउन धेरेको साथ मिलेको छ । व्यवसायिक क्रिकेटको जग बसाउने, क्रिकेट प्रतियोगिता गर्ने दायित्व धनगढी क्रिकेट एकेडेमीको हो भनेर कसैले जिम्मेवारी दिएको होइन । यसैले हामीले जे गरेका छौँ क्रिकेटको मायाले आफैलाई दिएको चुनौती हो । यसमा सबैको साथले सफलता मिल्दै गएको छ ।

कतिपयको मुखबाट सुनिन्छ कि सुवासले एकेडेमीबाटै धेरै गरेको छ, नेपाल क्रिकेट संघ (क्यान) मा जान पायो भने क्रिकेटलाई राम्रो गर्छ । क्यानमा जाने सोच हो ?

क्यानमा जाने भन्ने सोचले कहिले पनि काम गरिएन । देशका लागि, आफू जन्मेको ठाउँका लागि केही गर्नुपर्छ भनेर काम गरेका हौं । धनगढी क्रिकेट एकेडेमीले यति गर्न सक्छ भने क्यानले त झन् धेरै गर्न सक्छ । क्यानमा जानका लागि काम गरेको होइन तर, त्यो अवसर आएमा आफूले गरेको कामलाई नयाँ उचाइमा लग्न सक्छु । त्यसबाट भाग्नु हुँदैन सदुपयोग गर्नुपर्छ । र, त्यो ठाउँमा बसेर काम गर्ने हो भने अहिले गरेको भन्दा सयौँ गुणा बढी काम गर्न सकिन्छ ।

डीपीएल धनगढी प्रिमियर लिग मात्र नभएर डिजिटल प्रिमियर लिग जस्तो पनि लागोस् भन्ने सोचेका छौँ

यसपटक सन्दिप र शरद कति ‘मिस’ गर्नुहुन्छ ?

सन्दिपलाई प्रतियोगिताबाट गुमाउनु परेकाले हामी त खुसी छौं । हामी मात्र होइन, एक हिसाबले सबैजना खुसी हुनुपर्छ । उनी डीपीएलमै भएको भए हामी दुःखी हुने थियौं । किनकि उनी डीपीएलमा हुनु भनेको आइपिएलमा छनोट नहुनु थियो । त्यसैले उनलाई नपाउँदा खुसी छौँ । उनको खेलले नेपाललाई नयाँ उचाइमा देखाएको छ । नेपाली खेलाडी बाहिर खेल्न सक्षम छन् भन्ने उदाहरण दिएको छ ।

शरद पनि पारिवारिक कारणले यसपटक टिममा रहन सकेनन् । हामी उनलाई सम्झने छौँ ।

यसपटक अक्सनमा कोही बिक्नैपर्ने खेलाडी बिकेनन् जस्तो लाग्यो ?

धेरै खेलाडी राम्रा छन् । धेरैले मौका नपाएर बस्नु परिरहेको छ । यही खेलाडी चाहन्थें भन्ने त होइन, तर केही मिस हुनेछन् । यस्ता प्रतियोगिता अरु पनि हुन सक्यो भने धेरै खेलाडीले मौका पाउनेछन् र प्रतिभा झनै खारिने छ भन्ने लाग्छ ।

आउँदो सिजनमा ‘होम एण्ड अवे’ मा जान सम्भव होला त ?

एसपीए कपदेखि आजसम्म प्रतियोगितामा नयाँ-नयाँ प्रयोग गरिरहेका छौँ । प्रतियोगिता सफल बनाउँदै लग्दा केही वर्षमा ‘होम एण्ड अवे’ गराएर खेलाउन सकिन्छ कि भन्ने सोचेका छौँ । त्यो हुन सक्यो भने क्रिकेट विकासमा निकै फाइदा पुग्ने छ । यसले दर्शक पनि बढाउन सकिन्छ र व्यवसायिक रुप पनि बढ्ने छ ।

गएको वर्षभन्दा यसपटक के भिन्न छ ?

यसपटक मैदानको सेटअपमा टेक्नोलोजिको प्रयोग पनि बढाउने सोचेका छौँ । डीपीएल धनगढी प्रिमियर लिग मात्र नभएर डिजिटल प्रिमियर लिग जस्तो पनि लागोस् भन्ने सोचेका छौँ । यसपटक कस्तो सुधार गर्न सकिन्छ त्यसले आगामी लक्ष्य तय गर्ने छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment