Comments Add Comment

वडासम्मै दुई अध्यक्ष राख्ने माओवादी प्रस्ताव एमालेद्वारा अस्वीकार

संगठन, बरिष्ठता र जनमतका आधारमा जिल्ला नेतृत्व बाँडफाँट हुने

१८ चैत, काठमाडौं । पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।

सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने भन्दै एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव गरेको हो ।

केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँट नमिलेका कारण अन्य कमिटीहरु कसरी समायोजन गर्ने प्रस्ताव तयार पार्न नसकेको कार्यदल सदस्य एवम् एमाले नेता बेदुराम भुसालले बताए । ‘उहाँहरुले केन्द्रीय कमिटीको संख्या तोक्ने बाहेक अरु छलफल गर्न चाहनु भएन,’ उनले भने ।

माओवादी नेता जनार्दन शर्माले भने केन्द्रदेखि तल्लो तहसम्म समानताको सिद्धान्तअनुसार एकीकरण गर्नुपर्ने भएकाले पार्टी एकता संयोजन समितिमा छलफल आवश्यक रहेको बताए । केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन हुन नसक्ने उनको तर्क छ ।

एमाले नेता भुसालले भने संख्यामा समानताको सिद्धान्त लागु नहुने दावी गरे । ‘समानता भनेको बिचार, सिद्धान्त, दृष्टिकोण र नीतिमा हुने हो । संख्यामा समानता हुँदैन,’ उनले भने, ‘यसबारेमा संयोजन समितिले टुंगो लगाउने भएकाले अहिले तल्ला कमिटीको एकीकरणबारे निर्णय हुन नसकेको हो ।

केन्द्रीय कमिटीको संख्या २९९ राख्ने सहमति भए पनि त्यसमा एमालेका र माओवादीका कति-कति सदस्य रहने भन्ने विषय अहिले सबैभन्दा पेचिलो बनेको छ । एमाले नेताहरुले आफ्ना २ सय केन्द्रीय सदस्य र माओवादीका ९९ जना समायोजन गरेर २९९ सदस्यीय बनाउन सकिने प्रस्ताव राखेको छ । तर माओवादी पक्ष त्यसमा सहमत छैन ।

त्यस्तै ७ प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तहहरुको नेतृत्व समायोजनबारे पनि छलफल हुन बाँकी छ ।

माओवादी नेता जनार्दन शर्माले जिल्ला कमिटी पनि संख्या तोकेर बाँड्न नहुने बताए । शर्माले भने, ‘व्यवहारिकता, सांगठनिक आधार, जनमत, बरिष्ठता हेरेर एउटा प्रमुख, अर्को उपप्रमुख हुने गरी कमिटीहरु समायोजन हुने विधी बन्छ ।’

भातृ संगठनहरुको एकीकरण तत्काल नहुने

स्रोतका अनुसार पार्टी एकीकरणपछि केन्द्रीय संगठन विभागले तल्ला कमिटीहरुको एकीकरणको कार्यविधी बनाउनेछ । केन्द्रीय कमिटी जुन सिद्धान्तबाट बन्छ, सोहीअनुसार तल्ला कमिटीहरु एकीकरण गर्न सजिलो हुने नेताहरुको ठम्याइ छ ।

‘जुन अनुपातमा केन्द्रीय कमिटी गठन हुन्छ, तल्ला कमिटीहरुमा त्यहि लागू हुन्छ,’ ती नेताले भने ।

एमाले र माओवादीका भातृ संगठनहरुको एकीकरण भने तत्काल नहुने भएको छ । अहिले नै भातृ संगठनहरुको एकीकरण गर्नेतिर फस्दा पार्टी एकता नै भाँडिने खतरा रहेको नेताहरुले बताए ।

‘एकतापछि बन्ने संगठन बिभागले दुवै पार्टीका सम्बन्धित जनसंगठनका प्रमुखसहित राखेर कार्यदल बनाउँछ र त्यसपछि एकीकरणकेा प्रक्रिया शुरु हुन्छ,’ शर्माले भने ।

अहिले नै कसले कुन जनसंगठनको नेतृत्व लिने भन्ने छलफल गर्दा एकता नै भाँडिने खतरा रहेको उनले बताए ।

दैनिक पार्टी सन्चालन गर्न सचिवालय बनाइने

सबैभन्दा पहिले केन्द्रीय कमिटीको एकीकरण हुनेछ । त्यसपछि प्रदेश कमिटी बनाइनेछ । प्रदेशले जिल्ला र क्षेत्रीय कमिटी बनाउनेछ । माथिल्ला कमिटीले तल्ला कमिटी गठन गर्दै एकता टुंगो लगाउने र २ वर्षभित्र महाधिवेशन गर्ने तयारी छ ।

प्रदेश कमिटी १५१ सदस्यीय हुने र जिल्ला कमिटी न्युनतम ७५ सदस्यीय हुने सहमति भइसकेको छ । त्यस्तै महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय, नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने निर्णय भइसकेको छ ।

एकीकृत पार्टीको केन्द्रमा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बाहेक अरु पदाधिकारी नहुने भएकाले दैनिक पार्टी सन्चालन गर्न सचिवालय बन्नेछ । स्थायी कमिटी सदस्यको नेतृत्वमा रहने सचिवालयले पार्टीका दैनिक काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment