Comments Add Comment

लगानीकर्तालाई मुख्यमन्त्रीले भने-ढुक्क हुनुस्, रक्षा र नाफाको ग्यारेण्टी सरकारले लिन्छ

१८ चैत,सुर्खेत । कर्णाली  प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने बताएका छन् ।
लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने उनको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले लगानी कर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरे ।

‘लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले दिन्छ,’ मुख्यमन्त्री शाहीले भने,’तपाईहरुले ढुक्कले लगानी गर्नुहोस ।’

ठूलो स्तरको लगानीविना बिकास असम्भव भएको भन्दै उनले लगानीमैत्री वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेश जलविद्युत विकासको हिसाबले सबै भन्दा राम्रो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा सामुहिक ढंगले ठूलो स्तरको लगानी आवश्यक रहेकोमा जोड दिए ।

लगानीका लागि प्रदेश सरकारले राष्ट्रिय लगानीकर्ताहरुलाई प्राथमिकता दिने बताउँदै मुख्यमन्त्री शाहीले विदेशी लगानीलाई राष्ट्रिय लगानीकर्तासंगको सहकार्यमा स्वीकार गर्ने नीति बनाइने स्पष्ट पारे ।

माथिबाट आउँछ भनेर पर्खने प्रवृतिले विकास नहुने भन्दै उनले अब त्यसको लागि आफै जुट्नुपर्नेमा जोड दिए । अरुको मुख ताक्ने प्रवृतिले गरीब हुनुपरेको भन्दै अब त्यस्तो बानीलाई त्याग्नु पर्ने उनले बताए ।

संविधानले अहिले दिएको अधिकारले कर्णालीको विकास नहुने भन्दै उनले कर्णालीलाई स्वायत्त प्रदेश हुनुपर्ने माग गरे ।

कर्णालीको समस्या विशिष्ट प्रकृतिको रहेको भन्दै मुख्यमन्त्री शाहीले अहिलेको अधिकार विकासका लागि अप्रयाप्त छ, कर्णाली प्रदेश विशेष अधिकार दिईनुपर्ने बताए ।

अब बन्ने संघीय कानूनमा कर्णाली प्रदेशको लागि छुट्टै व्यवस्था हुनुपर्ने भन्दै उनले कर्णाली प्रदेशको लागि आवश्यक पुँजी जुटाउन प्रदेशलाई नै अधिकार दिनुपर्ने बताए ।

आवश्यक प्रारम्भीक पूँजी जुटाउन अधिकार मात्रै पाउने हो भने पनि ५ वर्षभित्र केन्द्रलाई पैंसा फिर्ता गर्ने सामथ्र्य राख्ने दावी गरे ।

अहिले लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक नभएको भन्दै मुख्यमन्त्री शाहीले नेपालमा उत्पादित सामानलाई प्राथमिकता दिएर खपत गर्नुपर्ने बताए ।

नेपाली उत्पादनलाई नेपाल सरकारले नै हतोत्साहित गरेको भन्दै यसमा हुने चलखेललाई अन्त गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई लगानी गर्न सहज हुनेमा आफू विश्वस्त रहेको बताए ।

नाम र राजधानी तोक्न पहिलो हुनुले पनि कर्णाली प्रदेशमा लगानीका लागि राजनैतिक वातावरण अनुकुल रहेको पुष्टि हुने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका निवर्तमान अध्यक्ष खडगबहादुर बिष्ट लगायतले बोलेेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment