Comments Add Comment

धुर्मुसलाई भेटेर भावनाले भनिन्ः बहुउपयोगी रंगशाला बनाऔं

१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुसको अभियानमा नेपाल क्रिकेट संघकी पूर्व सीइओ भावना घिमिरे पनि जोडिएकी छिन् ।

उनले आफू मन, वचन र कर्मले यो अभियानमा सामेल हुने अनलाइनखबरलाई बताइन् ।

धुर्मुसले रंगशाला बनाउने घोषणा गरेपछि उत्साहित बनेकी भावना आज समय लिएर धुर्मुसलाई भेट्न पुगेकी थिइन् ।

उनीहरुबीच करिब एक घन्टा छलफल भएको थियो । छलफलमा रंगशाला निर्माण अभियानमा प्रत्यक्ष संलग्न रहेर काम गर्न आफू इच्छुक रहेको भावनाले बताएका छन् । यसबाट धुर्मुस पनि निकै खुशी छन् । ‘उहाँजस्तो क्रिकेटमा विज्ञता भएको युवा र उर्जाशील व्यक्ति हाम्रो अभियानमा समेटिनुभएकोमा उत्साहित छु,’ उनले भने ।

आजको भेटमा भावनाले घोषित रंगशाला बहुउपयोगी प्रकृतिको बनाउन सुझाव दिइन् । भावना भन्छिन्, ‘नेपालमा क्रिकेटलाई त अत्यावश्यक छ नै, अरु खेलका लागि पनि अन्तर्राष्ट्रिय रंगशालाको दुख छ । ठूलो लगानी गरेर बनाइसकेपछि भोली अरु खेलकुदलाई पनि काम लाग्ने गरी बनाऔं भन्ने मेरो प्रस्ताव हो ।’

उनले बहुउपयोगी रंगशाला भए क्रिकेट, फुटबल, लन टेनिस, बेसबल लगायत धेरै खेलहरुमा प्रयोग गर्न सकिने उनले बताइन् । ‘नेपालमा दिनहुँ क्रिकेट म्याचहरु हुने अवस्था छैन, त्यसैले बहुउपयोगी भए विभिन्न खेलहरु खेलाएर यसलाई व्यस्त राख्न सकिन्छ,’ भावना भन्छिन् ।

धुर्मुसले मल्टिप्रपोज बनाउने विषयमा आफूहरुले थप छलफल गर्ने बताए । ‘यस्तो सुझाव अरुले पनि दिनुभएको छ, हामी छलफलकै क्रममा छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment