Comments Add Comment

जग्गा हेर्न धुर्मुसको टोली भैरहवा जाँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा अवलोकन गर्न धुर्मुससहितको टोली भैरहवा प्रस्थान गरेको छ । त्यहाँका विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने धुर्मुसले बताए ।

टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गाको पनि अवलोकन गर्ने योजना छ । महानगरपालिकाको प्रस्तावले आफूहरुलाई खुशी तुल्याएको तर स्थलगत अवलोकनपछि मात्रै केही भन्न सकिने धुर्मुसको भनाई छ ।

प्राविधिकहरु समेत रहेको धुर्मुसको टोलीमा कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, गायक प्रमोद खरेल पनि छन् ।

सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको बताएका थिए । टोली त्यहाँ पनि पुग्ने छ ।

यसअघि आज बिहान कीर्तिपुर र मुलपानीको मैदानको पनि धुर्मुसले अध्ययन-अवलोकन गरेका थिए । उनीसँग राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट पनि थिए ।

किर्तिपुरको मैदान भने रंगशाला निर्माणका निम्ति पर्याप्त देखिएन । बरु मुलपानीको मैदान धेरै हिसाबले उपयुक्त देखिएको धुर्मुसको भनाइ छ ।

‘हामीले चाहेको जस्तो ४० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न मुलपानीमा सम्भव देखिन्छ र सुरक्षा, निर्माण सहजता लगायतका हिसाबले पनि यो उपयुक्त स्थान हो,’ उनले भने ।

तर, अन्यत्र पनि जग्गा हेरेर सबैको सल्लाहमा निर्णय लिने उनी बताउँछन् । यसैबीच, रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ । यसको नेपाली नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment